कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्देश्वरको झाडापखाला नियन्त्रणमा

पाल्पा — जिल्लाको रैनादेवी छहरा–१, सिद्देश्वरको विभिन्न स्थानमा फैलिएको झाडापखाला शनिबार नियन्त्रणमा आएको छ  । गाउँमै चिकित्सकको टोलीले अस्थायी क्याम्प बनाएर उपचार सुरु गरेपछि झाडापखाला नियन्त्रणमा आएको हो  ।

झाडापखालाबाट गाउँका ६० बढी बिरामी परेका थिए । सिद्देश्वरको मगरानमा २९, अर्चलेमा २७ जना बढी बिरामी परेको वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । उनका अनुसार ४ जनाको मिसन अस्पताल, १ जनाको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचार भएको छ ।


३ दिनदेखि गाउँमा झाडापखाला फैलिएको थियो । केही बिरामी गुल्मीको अगाहा र रिडीमा पनि उपचारका लागि गएका थिए । वडाध्यक्ष दर्लामीका अनुसार बुधबार अर्चलेमा केही व्यक्तिलाई झाडापखाला देखिएको थियो । रैनादेवी छहरा स्वास्थ्य शाखामा बुधबार बेलुकी नै झाडापखालाका विषयमा जानकारी गराएको उनले बताए । सामान्य उपचार गर्दा नभएपछि कतिपय बिरामी तानसेनको मिसन अस्पतालका साथै गुल्मीको रिडी र अगाहामा उपचार गर्न जानुपरेको हो ।


गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले धेरै जना बिरामी भएको थाहा पाएपछि जिल्ला अस्पतालका डा. गगन अधिकारीसहितको टोलीले अस्थायी क्याम्प बनाएर गाउँमै उपचार गरेको बताए । उनका अनुसार गम्भीर भएका बिरामीलाई तानसेन पठाएको उनले बताए ।

३ दिनदेखि परेको झरी र दूषित पानी टयांकीमा मिसिएको हुन सक्ने स्थानीयले बताए । डा. अधिकारीले पनि पानीकै कारण यस्तो अवस्था आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । मगरान र अर्चलेका प्रायः सबै बिरामी परेको प्रभावित क्षेत्रमा पुगेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।

गाउँमै उपचार गरेकी २० वर्षीया गीता कुमालको अवस्था गम्भीर छ । स्वास्थ्य शाखा प्रमुख रानाका अनुसार ९ जनाको टोलीले वेद वेदाङग संस्कृति माविमा अस्थायी क्याम्प राखी रातभर बिरामीको उपचार गरेको थियो ।

प्रकाशित : असार २९, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?