कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिक्का छिराएर प्याड

हरि गौतम

रुकुम पूर्व — विद्यालयमा महिनावारी भए के गर्ने ? धेरै छात्रा चिन्तित हुन्छन् । दुर्गम क्षेत्रमा महिनावारीका बेला गयल हुने समस्या छ । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविका छात्रा यस्तो चिन्ताबाट मुक्त छन् ।

विद्यालय जाँदा एक रुपैयाँको ढ्याक (सिक्का) बोक्छन् । त्यहीँ बेला महिनावरी भएमा ढ्याक मेसिनमा छिराएर सेनेटरी प्याड निकाल्छन् । सिक्का छुटेमा चिन्ता गर्नु पर्दैन । विद्यालयले ५० वटा व्यवस्था गरेको छ ।


कक्षा १० मा अध्ययनरत एलिसा बुढा मगरलाई पहिले प्याड आवश्यक पर्दा प्रशासनमा जानुपर्थ्यो । शिक्षक गुहार्नुपर्थ्यो । अहिले त्यस्तो झन्झटबाट मुक्त छन् । समस्या परेमा भेन्डिङ मेसिनमा ढ्याक छिराएर फुत्त प्याड झार्छिन् । एलिसाकी सहपाठी पुष्पा बुढामगरले पनि एक रुपैयाँको ढ्याक मेसिनको र्‍याकमा खसालिन । उनको हातमा एउटा प्याड झर्‍यो ।


विद्यालयमा एक रुपैयाँमा एउटा प्याड पाउने एलिसा र पुष्पा मात्रै होइनन् । झण्डै ४ सय छात्राले अबदेखि यस्तो सुविधा पाउने छन् । विद्यालयले छात्राको सजिलोका लागि आवश्यक परेका बेला मेसिनबाट प्याड झिक्ने व्यवस्था मिलाएको छ । विद्यालयले ६ वर्ष अघिदेखि छात्रालाई निःशुल्क प्याड वितरण गर्दै आएको छ ।


यसअघि एउटा ठाउँमा राखिएका प्याड छात्रालाई वितरण गरिन्थ्यो । छात्राले आवश्यक परेका बेला लैजान्थे । अहिले प्याड वितरण व्यवस्थित गरेको छ । ४३ हजार रुपैयाँमा भेन्डिङ मेसिन खरिद गरेर ल्याएको हो । अहिले एक रुपैयाँको सिक्का राखेपछि एउटा प्याड खस्छ ।


सिक्का नहुने विद्यार्थीका लागि विद्यालयले ५० वटा एक रुपैयाँका सिक्काको व्यवस्था गरेको छ । ‘विद्यालयले निःशुल्क प्याड वितरण गरिरहेको छ,’ विज्ञान शिक्षक चन्द्रबहादुर मल्लले भने, ‘भेन्डिङ मेशिनमा एक रुपैयाँको सिक्का खसाल्दा एउटा प्याड पाइन्छ ।’ विद्यालय व्यवस्था गरे पनि केहीले आफ्नै सिक्का खसालेर प्याड लैजान्छन् । प्याड सकिएपछि शिक्षकले मेशिनबाट सिक्का निकाल्छन् । छात्राका सिक्का छात्रालाई फिर्ता दिइन्छ ।


मेसिनमा एक पटकमा ५० वटा प्याड राखिन्छ । स्थानीय बजारमा पाइने प्याड किनेर राख्ने गरिएको हो । मेसिनमा राखेका सकिएपछि खोलेर नयाँ प्याड राखिन्छ । यसअघि प्याड वितरण व्यवस्थित हुन सकेको थिएन । खरिद गरी ल्याइएका प्याड हराउने र मनपरी प्रयोग हुने गरेका थिए ।


त्यसको व्यवस्थापनका लागि भेन्डिङ मेसिन जडान गरिएको प्रध्यानाध्यापक कृष्ण गौतमले बताए । छात्रालाई जतिखेर पनि चाहिन सक्ने भन्दै विद्यालयले निःशुल्क प्याड वितरण थालेको थियो । ‘विद्यालयले प्याड पहिल्यैदेखि निःशुल्क रूपमा वितरण गर्ने गर्थ्यो,’ गौतमले भने, ‘त्यो वितरण व्यवस्थित हुन सकेको थिएन, अब भने मेसिनमार्फत त्यसलाई व्यवस्थित गरिएको छ ।’


महिनावारीका बेला छात्रा विद्यालय कम आउन थालेपछि ६ वर्ष अघिदेखि निःशुल्क प्याड वितरण थालेको थियो । अहिले मेसिन जडान गरेर झन सजिलो बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द समालले बताए । ‘निःशुल्क प्याडले छात्रालाई सजिलो बनाएको थियो, मेशिनले झन सजिलो बनाएको छ,’ उनले भने ।


वितरण नियमित बनाउन विद्यालयमै प्याड बनाउने तालिम सञ्चालन गर्ने योजना बनाइएको अध्यक्ष समालले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?