कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकल र्‍यालीमा बालकदेखि मन्त्रीसम्म

रुपन्देही — साइकिलिङ मार्फत पर्यटन प्रवर्द्धन र गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रोपटक यहाँ आयोजित बुटवल कोरा (साइकल र्‍याली) मा ७ वर्षीय बालकदेखि मन्त्रीसम्म सहभागी भएका छन् । बुटवललाई साइकल सहर बनाउन यसको आयोजना गरिएको हो । 

साईकिल सिटी संस्थाले आयोजना गरेको कार्यक्रममा बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाका साथै विभिन्न संघसंस्थाले सहयोग रहेको थियो । विहान ट्राफिक चोकबाट प्रदेशका पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले साइकल चलाएर र्‍यालीको सुरुवात गरेका थिए ।


उनीहरू जल बिनायक मन्दिर हुँदै ऐतिहासिक जितगढी किल्ला पुगेका थिए । दुइ सय जना सहभागी र्‍याली जितगढी टोल विकास संस्था, स्वामी मुक्तिनाथ मन्दिर, ब्रहृमकुमारी पिस पार्क तथा रिट्रेट सेन्टर, नरेश्वर धाम मन्दिर समिति, नवबुटवल र तिलोत्तमानगरका धार्मिक, पर्यटकिय, ऐतिहासिक स्थल हुँदै वनवाटिकामा टुंगिएको साइकल सिटीका अध्यक्ष धिरेन तुलाधरले बताए ।


सहभागीले ५० किलोमिटर दूरी तय गरेका थिए । त्यसमा पर्यटकीय स्थलको महत्वबारे जानकारी गराइएको थियो । तामाङ भाषामा कोराको अर्थ पवित्र मनदेखि सहयोग जुटाउन गरिने यात्रा बुझाउने उनले बताए । कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने उनले बताए ।


कार्यक्रममा सहभागी भएका तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले भ्रमण वर्ष साकार पार्न गरिएको कार्यक्रमबाट आन्तरिक पर्यटक भित्र्याउने सन्देश मिल्ने बताए । विकसित मुलुकमा साइकल ट्र्याक बनाएर सकारले प्रोत्साहन गरेको उल्लेख गर्दै आफूले पनि नगरमा साइकल ट्र्याक निर्माण सुरु गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले पर्यटन, स्वास्थ्य र वातावरणका लागि समेत साइकल यात्रा महत्त्वपूर्ण हुने भन्दै स्थानीय सरकारले यसको पूर्वाधारमा ध्यान दिन सुझाव दिए ।


कार्यक्रम संयोजक विनोदजंग कार्की, जिल्ला साइक्लिङ संघका सचिव अशोक राई, कोषाध्यक्ष विमल बस्नेतले सबैको साथ सहयोगमा कार्यक्रम सफल भएको बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?