कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय रोजगारीविहीन

नेपालगन्ज — बाँकेमा ठूला उद्योग सञ्चालन हुने क्रम बढे पनि स्थानीयले रोजगारी पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागका अनुसार ०४६ सालयता जिल्लामा ८८ वटा उद्योग दर्ता भए ।

मुलुकमा १० वर्षसम्म सञ्चालन भएको सशस्त द्वन्द्वले ती उद्योग धराशायी बन्न पुगे । ०६२/६३ सालपछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुन एकपछि अर्का ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ ।


जिल्लामा यसरी उद्योग सञ्चालन हुँदा स्थानीय हर्षित हुनुपर्ने हो । ‘आँगनमा खुलेका उद्योगमा रोजगारी नपाएपछि कसरी हर्षित हुनु,’ जानकी गाउँपालिका–५ का वडाअध्यक्ष सुरेश यादवले भने, ‘हाम्रो वडामा दर्जनौं उद्योग छन् तर स्थानीयले रोजगारी पाएका छैनन् । धूलो, धूवाँ र प्रदूषण मात्र पाएका छौं ।’


उक्त वडाका बासिन्दाको जस्तो पीडा जिल्लाभर छ । जिल्लामा सिमेन्ट उद्योग, छड, प्लास्टिक, फलाम उद्योग सञ्चालनमा छन् । अधिकांशमा भारतीय कामदार छन् । भारतीय कामदार कति छन्, तथ्यांक छैन । श्रम स्वीकृति लिन नपर्ने भएकाले तथ्यांक यकिन हुँदैन । सीमावर्ती भारतीय गाउँका मजदुर बिहान आएर साँझ घर फर्किन्छन् ।


स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौं नेपाली विदेश गइरहेका बेला यहाँ भारतीय कामदार भरिभराउ भएका छन् । उद्योग सञ्चालक बाध्यताका कारण स्थानीयलाई रोजगारी दिन नसकेको बताउँछन् ।


‘सकभर आफनै दाजुभाइलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ,’ लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालक कस्मिरा खातुनले भनिन्, ‘तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकाले बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।’ सिमेन्ट, छडजस्ता उत्पादनमूलक उद्योग नेपालीका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकाले सुरु सुरुमा भारतीय कामदार राख्नुपर्ने बाध्यता रहेको उद्योगीको भनाइ छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?