कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडीले नांगो तार छुने डर

गिरुप्रसाद भण्डारी

प्यूठान — भालुबाङ–प्यूठान सडकअन्तर्गत दाखाक्वाडीदेखि बाग्दुलासम्म गाडिएका बिजुलीका पोलका कारण दुर्घटनाको खतरा बढेको छ । सडक दायाँ/बायाँ बनेका घरमा विद्युतीकरण गर्न गाडिएका पोलमा जडान तारले गाडीमा छोएर दुर्घटनाको जोखिम बढेको हो ।

धेरै स्थानमा सडकबीचमा पर्नेगरी तार टाँगिएका छन् । यसले ठूला गाडी गुड्दा तार छोएर करेन्ट लाग्ने खतरा रहेको बिजुवारका निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताए ।


‘ट्रकको पछाडि ठूला मेसिन राखेर ओसारपसार गर्दा दुःख भोगेका छौ,’ उनले भने, ‘यस विषयमा सरोकारवाला निकायसँग पटक–पटक कुरा उठाए पनि सुनुवाइ भएको छैन् ।’ बस, ट्रक, टिपर गुड्दा पनि तारले छुने गरेको उनले बताए । श्रेष्ठका अनुसार जाडोको समयमा भन्दा गर्मीको समयमा तार धेरै लच्किने गरेका छन् । गर्मीमा समस्या बढी हुन्छ ।


‘सहचालकले हातमा चप्पल छोपेर तार पन्छ्याउँदै गाडी चलाउनुपर्ने अवस्था छ,’ श्रेष्ठले भने, ‘हाम्रो बानी दुर्घटना घटेपछि मात्र सोच्ने छ । बेलैमा सचेत हुने कुरामा ध्यान दिंदैनौं ।’ स्थानीय सरकारसँग समन्वय गरेर प्राधिकरणले तारपोललाई चाँडै व्यवस्थित गर्नुपर्ने श्रेष्ठले बताए ।


सडक क्षेत्रमा रहेका पोलका कारण धेरै समस्या भोग्नुपरेको बस चालक सुशील भण्डारीले बताए । ‘छतमा थोरै सामान राखे पनि तारले छोइहाल्छ,’ उनले भने, ‘दाखाक्वाडीदेखि बाग्दुलासम्मै सधैं त्रासमा गाडी हाँक्नुपर्छ ।’ यस क्षेत्रमा वर्षौंदेखि यस्तै हालत रहेको उनले गुनासो गरे । यहाँ ०४९ सालमा विद्युत् विस्तार गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र बिजुवारले जनाएको छ । सुरुमा कच्ची सडक हुँदा ८ मिटरका पोल गाडिएका हुन् ।


०६४ सालमा सडक कालोपत्रे गर्दा अग्लिएपछि पोल होचा भएको कार्यालयको भनाइ छ । पोलले सवारी गुड्दा समस्या हुने गरेको डिभिजन सडक कार्यालय प्यूठानका प्रमुख ध्रुव श्रेष्ठले बताए । प्राधिकरणसँग कुरा गरेर सडक क्षेत्रमा पर्ने पोलहरू व्यवस्थित गर्ने विषयमा पहल लिने श्रेष्ठले बताए ।


पक्की गर्दा सडक अग्लो भएकाले समस्या बढेको विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका सुपरभाइजर भोजराज आचार्यले बताए । पोलको दूरी टाढा–टाढा भएकाले समस्या भएको आचार्यको भनाइ छ । ‘पहिले मसिनो तार हुँदा समस्या धेरै थिएन,’ उनले भने, ‘अहिले ग्राहकको लोड बढेकाले मोटो तार राखेका छौं । भारले पोल लत्त्रिएका छन् । गाडीले छुने समस्या आएको छ ।’


३०/३५ मिटर दूरीमा रहनुपर्ने पोलहरू ८०/९० मिटर दूरीमा रहेको आचार्यले बताए । पोलहरू टाढा भएकाले समस्या भो भनेर नयाँ पोलहरू थप्ने कोसिस कार्यालयले गरे पनि स्थानीयले ठाउँ नदिएका कारण थप्न नसकिएको आचार्यले बताए । जोखिम धेरै रहेका ठाउँहरूमा ‘सेप्रेटर’ केबुलहरू राख्न थालेको आचार्यले बताए ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?