१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

तरकारी ढुवानीमा अनुदान

माधव अर्याल

पाल्पा — तरकारीमा आत्मनिर्भर बनाउन र व्यावसायिक उत्पादनलाई जोड दिन बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान दिन सुरु गरेको छ । अघिल्लो आर्थिक वर्षमा गाउँसभाले गरेको निर्णय अनुसार किसानलाई व्यावसायिक उत्पादन गर्न प्रोत्साहनस्वरूप ढुवानीमा अनुदान दिन थालिएको हो ।

उत्पादनमा आधारित अनुदान वितरणका लागि गाउँपालिकाले कार्यविधिसमेत निर्माण गरेको छ । गाउँपालिकाको यो कार्यक्रमबाट अघिल्लो आर्थिक वर्षमा ५० भन्दा बढी किसानले फाइदा लिएका छन् ।


अनुदान लिन वार्षिक कम्तीमा ५ सय केजी उत्पादन गरेको हुनुपर्छ । त्यस्ता किसानले प्रतिकेजी २ रुपैयाँका दरले अनुदान पाउँछन् । आगामी वर्षमा पनि यसले निरन्तरता पाउने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । ‘यसबाट किसानले केही भए पनि राहत पाएका छन्,’ उनले भने, ‘यसबाट किसानमा उत्साह पनि मिलेको छ ।’


बस्यालका अनुसार गाउँसभाबाट नै पारित गराएर व्यावसायिक कृषिमा लाग्न सहयोग पुगोस् भनेर अनुदान दिन थालेको हो । कम्तीमा ५ सय किलो तरकारी उत्पादन गर्नैपर्ने उनले बताए । त्यसभन्दा बढी उत्पादन गर्नेका लागि बजार व्यवस्थापनमा सहयोग पुगोस् भनेर ढुवानीमा अनुदान दिन थालिएको हो । स्थानीय बजारमा मात्र तरकारी खपत हुँदैन ।


त्यसैले तानसेन, बुटवल, भैरहवासम्म ढुवानी गर्नेलाई यसले राहत मिलेको बगनासकाली–७, खानीगाउँका किसान गिरीप्रसाद गैरेले बताए । ‘गाउँपालिकाले कृषिमा आत्मनिर्भर मात्र नभई व्यावसायिक उत्पादन होस् भन्ने चाहना राखेकामा हामीलाई पनि फाइदा भएको छ,’ उनले भने, ‘सोही अनुसारै अनुदानको पनि कार्यविधि बनाएर दिएकामा हामीलाई खुसी नै लागेको छ ।’


गाउँपालिकाले गत वर्ष ९९ हजार ६ सय ४० रुपैयाँ ढुवानीबापत किसानलाई भुक्तानी दिएको छ । यसबाट धेरै किसान व्यावसायिक बनेका छन् । गोलभेडा, बन्दा, काँक्रो, काउली, सिमी, खुर्सानीलगायतमा अनुदान दिएको गाउँपालिका कृषि शाखाले जनायो । अघिल्लो वर्ष गाउँपालिकाले कृषिमा ८० लाख बढी लगानी गरेको छ । यस वर्ष पनि ८० लाख बढी नै कृषिका लागि विनियोजन भएको छ । वडा कार्यालयले बनाउने योजनामा कृषिका लागि पनि छुटयाएर काम गर्ने गरेको बगनासकाली–१ का वडाध्यक्ष सोमबहादुर झेडी मगरले बताए ।


‘व्यावसायिक तरकारी खेती गर्नेलाई पालिकाका साथै वडाबाट पनि अनुदान दिने गरेका छौं,’ उनले भने, ‘यसबाट व्यावसायिक उत्पादनमा पनि वृद्धि भएको छ ।’ वडाबाट विनियोजन भएको रकमबाट पनि कृषिमा सहयोग पुगेको उनले बताए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीका अनुसार सबै वडालाई फरक उत्पादनबाट चिनाउने अभियानअनुसार सोही अनुसारको अनुदान दिइएको छ । ‘फरक वडामा भिन्न बालीको परीक्षण खेती गर्न सफल भएको छ,’ उनले भनिन्, ‘कृषि शाखाले गाँजर, कुरिलो, तरबुजा, सूर्यमुखी, बेमौसमी मकै, तरकारी खेतीलगायतलाई जोड दिएको छ । सोही अनुसार पालिकाले पनि ढुवानी गर्दा अनुदान दिएको छ ।’


गाउँपालिकाले विदेशबाट फर्केका युवा, महिला, व्यावसायिक कृषकलाई नमुना परीक्षण खेतीमा संलग्न गराएको छ । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले प्रत्येक वडालाई भिन्न जातका तरकारीको पकेट क्षेत्र बनाउन परीक्षण गरिएको बताए । कतिपय वडामा परीक्षणका लागि लगाइएको विभिन्न जातका तरकारीले सफलता पाएका छन् ।


त्यसलाई व्यावसायिक उत्पादन गर्ने र वार्षिक ५ सय किलो बढी उत्पादन गर्नेलाई ढुवानीमा अनुदान दिन थालेको उनले बताए । बराङदीमा सुरु गरेको कुरिलो खेती फस्टाएको छ । चिर्तुङधारामा लगाएको सूर्यमुखी, तरकारी, तरबुजा पनि सफल भएको उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?