जलेश्वरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

कान्तिपुर संवाददाता

पाल्पा — रिब्दीकोट गाउँपालिका–५, रिब्दीकोट जलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले अग्रसरता देखाएको छ । उसले जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान, धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अगाडि बढाएको हो । ‘पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयार गरेर अघि बढ्नेछौं,’ गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले भने, ‘त्यसअगाडि केही काम सुरुआत गरेका छौं ।’

सदरमुकाम तानसेनबाट २० किलोमिटर पश्चिममा पर्ने जलेश्वर क्षेत्र धार्मिक एवं ऐतिहासिक रूपमा परिचित छ । मौसम मापनका लागि सरकारले रिब्दीकोटमा राडर जडानको काम अघि बढाएको उनले बताए ।

प्रारम्भिक चरणमा यसको महत्त्व नबुझेर ओझेलमा परेको थियो । संघीय सरकारबाट केही वर्षअघि यस क्षेत्रको विकासका लागि १० लाख बजेट विनियोजन गरेर कामको सुरुआत भएको हो । त्यस्तै थप ७ लाख बजेट दिएको छ । साविकको कुसुमखोला गाविसले पनि जलेश्वरमा रहेको भवनमा टिनको छाना लगाएको थियो ।

स्थानीय तहको निर्वाचनपछि यसलाई चिनाउन सरसफाइ, तारबार, विभिन्न बिरुवा लगाउने, वनस्पति उद्यानका रूपमा अगाडि बढाउन नर्सरी राख्ने, मन्दिरलाई थप व्यवस्थित बनाउने काम भएको छ । अध्यक्ष जीसीका अनुसार बिरुवा उत्पादनका लागि हाइटेक टनेल निर्माण भएको छ ।

मन्दिरवरपरको क्षेत्रमा विभिन्न जातका बिरुवा लगाइएको छ । एभोकार्डो, टिमुर, वर, पीपल, तेजपात, लाकुरीलगायत तीन सय बढी बिरुवा यहाँ लगाइएको छ । पछिल्लोपटक गाउँपालिकाले सिद्ध मन्दिर क्षेत्रमा १ सय ८ पीपलका बिरुवा लगाएको छ । ‘हामीले यस क्षेत्रको धार्मिक विकास गर्न खोजेका हौं,’ अध्यक्ष जीसीले भने, ‘यस क्षेत्रको धार्मिक महत्त्व बढाउने काममा अब स्थानीय सरकारले सक्रियता देखाउनुपर्छ ।’ यस क्षेत्रको विकासका लािग स्थानीयका साथै प्रदेशले पनि सहयोग गरेको छ । गएको आर्थिक वर्षमा स्थानीय तहबाट ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश सरकारले १५ लाख प्रदान गरेको छ । गाउँपालिकाको बजेटबाट जलेश्वर क्षेत्रको बाटो, पानी तान्ने पम्पलगायत खानेपानी व्यवस्थापन, मन्दिर वरपरको क्षेत्रको सरसफाइ, विभिन्न जातका बोटविरुवा लगाउने काम भएको छ । प्रदेश सरकारको बजेटबाट मन्दिर, शिवलिंगलगायत मूर्ति स्थापना भएको जलेश्वर विकास समितिका अध्यक्ष वेणिमाधव आचार्यले बताए ।

प्रदेशले हाइटेक टनेलका लागि पाँच लाख र त्यसमा गाउँपालिकाको एक लाख सहयोग गरेको छ । यहाँ यस क्षेत्रका लागि आवश्यक बिरुवा यही उत्पादन गर्ने योजना छ ।जलेश्वर क्षेत्रमा तत्कालीन समयमा भारतबाट मुगलहरूको आक्रमण सहन नसकेर बुटवलको बाटो भएर रिब्दीकोट आएका सेनवंशीय राजाले यस क्षेत्रलाई आफ्नो राजधानी बनाएको इतिहास छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासको६५ रोपनी जग्गा छ ।

यहाँ विभिन्न किसिमका बिरुवा लगाउन सुरुआत गरेको रिब्दीकोट–५ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताए । ‘यस क्षेत्रलाई धार्मिक साथै वनस्पति उद्यानका रूपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘त्यसमा गाउँपालिका साथै प्रदेश सरकारले पनि सहयोग गर्नेमा विश्वस्त छौं ।’

यस क्षेत्रको विक्रम सम्वत् १३६३ सालदेखि १५६३ सम्म मुकुन्दसेन प्रथमले राज्य गरेको थलो भएको उनले बताए । ‘ऐतिहासिक साथै यहाँको वातावरण, वन तथा जैविक विविधतामा समेत परिवर्तन हुनु आवश्यक छ,’ यसका जानकार कुसुमखोलाका माधव आचार्यले भने, ‘यसलाई धार्मिक, पर्यटकीय स्थलका रूपमा विकासगर्न जरुरी छ ।’

रिब्दीकोट गाउँपालिकाले यस क्षेत्रमा विभिन्न जातका लालीगुराँस, एभोकार्डो, कागती, टिमुर, ओखर, कटहर, तेजपात र स्थानीय जातका बिरुवा लगाउने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए । ‘यस क्षेत्रको चौतर्फी विकासका लागि अभियान थालेका छौं,’ उनले भने, ‘यसका लागि अघिल्लो वर्ष पनि सहयोग भएको र यस वर्ष पनि थप काम हुनेछ ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुटिक र पार्लरप्रति आकर्षण

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–२० मा स्थानीय सरिता गुरुङले बुटिक संचालन गरेकी छन् । लामो समय बुटिक डिजाइनसम्बन्धी तालिम लिएकी उनले यसलाई व्यावसायिक रूप दिएकी हुन् ।

परम्परागत पहिरनदेखि बजारमा आएका नयाँ ट्रेन्डअनुसारका पहिरन आफ्नो ‘इडी ओढ्नी’ मा तयार भइरहेको सञ्चालक गुरुङले बताइन् । बुटिकले आधुनिक तथा आकर्षक डिजाइनका कुर्ता, टप्स, लेहंगा, साडी, गाउन,ब्लाउज तयार गर्दै आएको छ ।
‘ग्राहकको रोजाइअनुसार र उनीहरूको शारीरिक बनोटसँग मिल्ने गरी पहिरन डिजाइन गर्छौं,’ गुरुङले भनिन्, ‘तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय सामान बिक्री गरिरहेका छौं ।’ यसमा ७ लाख रुपैयाँ लगानी भएको छ । स्तरीय डिजाइनका पहिरनका लागि अब छिमेकी देश तथा राजधानी धाउनु नपर्ने उनले दाबी गरिन् ।

गुरुङ मात्र होइन, नेपालगन्ज–१२, बेलासपुरकी सानु ओझाले पनि बुटिक संचालन गरेर राम्रो आम्दानी गरिरहेकी छन् । उनले आफ्नै लगानीमा प्लानेट बुटिक सञ्चालन गरेकी छन् । ‘मेरा लागि व्यापार रहरभन्दा पनि प्यासन हो,’ उनले भनिन्, ‘त्यही प्यासनले केही गर्नुपर्छ भन्ने साहस बढायो ।’ सुरुमा ११ लाख रुपैयाँ लगानी गरिन् । अहिले ३० लाख रुपैयाँ पुगेको छ ।

‘६ जना कामदारलाई तलब खुवाएर महिनामा ५० हजारदेखि १ लाख रुपैयाँ बचत हुन्छ,’ उनले भनिन्, ‘तर, सधैं एकनास हुँदैन ।’ आत्मनिर्भर भएकामा उनलाई गर्व छ । ‘बुटिक महिलाका लागि राम्रो व्यवसाय हो,’ उनले भनिन् । मिहिनेत अनुसार राम्रो बजार पाउने सञ्चालक बताउँछन् ।

बुटिकसँगै यहाँ ब्युटिपार्लर सञ्चालन गर्ने महिला बढ्दै छन् । स्थानीय दुर्गा अधिकारीले नेपालगन्जमा बागेश्वरी ब्युटिपार्लर सञ्चालन गरेकी छन् । करिब २५ वर्षअघि सुरु गरिएको उनको पार्लरले उनलाई सफल व्यवसायी बनाएको छ । त्यसका साथै समाजमा घुलमिल हुन सघाएको छ ।

नेपालगन्जको बीपी चोककी सरिता बोहराले लामो समयदेखि पार्लर सञ्चालन गरिरहेकी छन् । १८ वर्षको उमेरबाट व्यवसाय सुरु गरेको उनले बताइन् । अरूको अधीनमा रहेर भन्दा आफैंले काम गर्न चाहेकाले पार्लर सञ्चालन गरेको उनले बताइन् । ‘विवाह तथा चाडपर्वको सिजनमा बढी भीड हुन्छ,’ उनले भनिन् । बैंकबाट आठ लाख रुपैयाँ ऋण लिएर पार्लरलाई अत्याधुनिक बनाएकी उनले अहिले १५ लाखको लगानी पुगेको दाबी गरिन् । अहिले बजार र माग बढिरहेको छ ।

त्यसैले व्यवसाय विस्तार गर्नु परिरहेको उनीहरूले बताए । माग बढेपछि पार्लरले आम्दानी मात्र नभएर आत्मविश्वास पनि बढाएको बोहराले बताइन् । ‘धेरै महिलासँग भेट हुन्छ,’ उनले भनिन्, ‘नयाँ ज्ञान भएका ग्राहक आउँछन्, उनीहरूबाट सिक्ने अवसर पाउँछु ।’ पार्लरबाट सेवा मात्र प्रदान गर्दिनन्, सीप पनि सिकाउँछिन् । पार्लरमा सुर्खेत कालीकोट, रोल्पा सल्यानबाट समेत महिलाहरू ब्युटिपार्लर कोर्स सिक्न आउने गरेको उनले बताइन् ।

‘थोरैलाई भए पनि सीप बाँड्ने अवसर पाएकी छु,’ उनले भनिन् । नयाँ–नयाँ डिजाइन र मेकअपका लागि उनी वार्षिक ५० हजारदेखि १ लाखको खर्च जोहो गरेर तालिम लिन काठमाडौं जान्छिन् । ‘सधैं एउटै डिजाइन रहन्न, नयाँ दिनका लागि नयाँ सीप सिक्नुपर्छ,’ उनले भनिन् । व्यवसायले उनको जीवन धानिरहेको छ । ‘१० वर्षको छोराको भविष्य निर्माण गर्नका लागि पनि कमाउन आवश्यक छ,’ उनले भनिन् । पछिल्लो समय पार्लर र बुटिक सञ्चालनमा यहाँका महिलाको आकर्षण बढेको छ ।

व्यवसाय गर्न चाहने महिलामा आधाभन्दा धेरैको रोजाइ पार्लर र बुटिकमा रहेको छ । अरू व्यवसायमा महिला कम रहेको उद्यमी संघकी जिल्ला महासचिव सावित्रा बस्नेतले बताइन् । ‘बुटिक र पार्लर महिलाका लागि सजिलो र सुरक्षित पेसा बन्दै गएका छन्,’ उनले भनिन् । उनका अनुसार महिलालाई सफल व्यवसायी बन्न परिवारको सहयोग, लगानीको वातावरण र बजार स्थिति सबै अनुकूल हुनुपर्छ । ‘व्यवसाय गर्न महिलालाई धेरै चुनौती छन् । व्यवसायसँगै घरको काममा पनि समय दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा अहिले ३ सय ५० महिला आबद्ध छन् । महिला व्यवसायीलाई अझै पनि घर र समाजले विश्वास कम गर्ने समस्या छ । घरमा पनि समय दिनुपर्ने हुँदा महिलाले व्यवसायमा पर्याप्त समय दिन सक्दैनन्, जसका लागि बुटिक र पार्लर सजिलो व्यवसाय बनेको छ ।

पछिल्लो समय नेपालगन्जमा महिला व्यवसायीको संख्या बढेको छ । त्यसमा पनि पार्लर र बुटिक खोल्नेमा महिलाको होडबाजी नै चलेको छ । ‘पहिले त महिला व्यवसायी खोज्न हैरान हुनुपर्थ्यो । अहिले संख्या बढेको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायले भनिन्, ‘तर महिलाको पहिलो रोजाइ भने पार्लर र बुटिक नै बनेका छन् ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT