कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिकाका सबै वडामा ल्याब

कान्तिपुर संवाददाता

पाल्पा — रम्भा गाउँपालिकाका सबै वडामा रोग निदानका लागि प्रयोगशाला (ल्याब) सेवा सुरु गरिएको छ । गाउँपालिकाले दुई वर्षअघि सुरु गरेको यस्तो अभियान पूरा भएपछि स्थानीयले गाउँमै रोग परीक्षण सुविधा पाएका छन् ।

सेवा लिन सदरमुकाम तानसेन र बुटवल जानुपर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार दुई वर्षदेखिको स्वास्थ्यको क्षेत्रमा सुरुवात गरेको अभियानले अहिले सार्थकता पाएको छ ।


‘हामीले ग्रामीण भेगका नागरिकलाई रगत जँचाएर मात्र औषधि खाने व्यवस्था गर्ने सोच पूरा गरेका छौं,’ उनले भने, ‘यसबाट धेरैले फाइदा पाउनेछन् ।’ रम्भाको ताहुँमा पहिलो वर्ष ल्याब सेवा सुरु गरिको थियो । त्यसपछि हुँगी, पिपलडाँडा र फोक्सिङकोट स्वास्थ्यचौकीमा सुरु भयो । यसपालि हुमिनमा सेवा सुरु भएको हो ।


यससँगै सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सुरु भएको अध्यक्ष भण्डारीले बताए । हुमिन स्वास्थ्य चौकीमा ल्याब सेवाको प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले बुधबार शुभारम्भ गरे । रम्भाका मात्र नभई माथागढी र पूर्वखोला गाउँपालिकाका केही वडालाई समेत यहाँबाट सेवा दिन सकिने बताए ।


‘स्वास्थ्यकर्मीहरू हात बाँधेर बिरामी आएनन् भनेर बस्ने होइन,’ उनले भने, ‘हाम्रो स्वास्थ्यचौकीमा यो सुविधा छ उपचारका लागि आउनुहोला भन्दै प्रचार गर्नुपर्ने बेला आएको छ ।’ उनले ७ सय ५३ स्थानीय तहमध्ये यसरी सबै स्वास्थ्य संस्थामा ल्याब सुविधा दिने पहिलो संस्था भएको दाबीसमेत गरे ।


जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्यालले जनतालाई गाउँमै स्वास्थ्य सेवा दिने हो भने घरआँगनमै सिंहदरबार आएको अनुभूति गर्ने बताए ।


‘जनतालाई हरेक कुरा दैलोमा सुविधा चाहिएको छ,’ उनले भने, ‘यस्तो कामका लागि रम्भा गाउँपालिका धन्यवादको पात्र बनेको छ ।’ रम्भा गाउँपालिकाले अघिल्लो वर्ष सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना गरिसकेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठका अनुसार सबै स्वास्थ्य संस्थामा ल्याब सुविधा पाएसँगै शून्य घरमा सुत्केरी गाउँपालिका नै घोषणा गर्नुपर्ने अवस्थामा पुगेको छ ।


‘सबैभन्दा दुर्गम र पछाडि परेको फोक्सिङकोटमा समेत शतप्रतिशत गर्भवती स्वास्थ्यसंस्थामा पुगेर सुत्केरी भएका छन्,’ उनले भनिन्, ‘गरे के हुँदैन भन्ने अवस्था अहिले देखिएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले स्वास्थ्यतर्फ यस वर्ष हुमिनमा ल्याब स्थापनाका लागि ४ लाख बजेट विनियोजन भएको बताए । उनका अनुसार स्वास्थ्यतर्फ ३३ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?