१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

जीर्ण कारागारमा कोचाकोच

रोल्पा — जीर्ण अवस्थाको रोल्पा कारागारमा कैदीबन्दीलाई कोचाकोच अवस्थामा राखिएको छ । पुरानो र भौतिक अवस्थाले निकै कमजोर लिबाङस्थित जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी छन् । महिला र पुरुष गरी ५० जना राख्न मिल्ने कारागारमा १ सय २३ जनालाई राखिएको छ । 

जीर्ण कारागारमा कोचाकोच

जिल्ला कारागारका निमित्त प्रमुख यामबहादुर वलीका अनुसार नयाँ आउने र सरुवा भई आएका कैदीबन्दीलाई यही राख्नुपर्दा कोचेरै राख्नुपर्ने अवस्था छ । ‘कारागारको क्षमता त ५० जना राख्न मिल्ने हो, तर हाल १ सय २३ जनालाई राखिएको छ,’ उनले भने ।

उनका अनुसार कारागारमा ३५ जना पुरुष र १५ जना महिला राख्न मिल्ने क्षमता भएपनि १ सय १४ जना पुरुष र ९ जना महिला छन् । स्थान अभावमा थुनुवा र कैदीलाई कोचेरै राख्नुपरेको उनले बताए ।

रोल्पा कारागारमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा व्यहारेकाहरुको संख्या बढी छ । त्यसपछि जवरजस्ती करणीका पनि ठूलै संख्यामा छन् । कर्तव्य ज्यान सम्बन्धी मुद्दाका ३६ जना छन् भने जवरजस्ती करणीका २४ जना छन् । लागु औषधका ९ जना र हाडनाता जवरजस्ती करणीका ५ जना रहेका छन् ।

कैदी र थुनुवामध्ये ६५ वर्ष उमेर पुगेका दुईवटा मुद्दाका ३ जना ज्येष्ठ नागरिक पनि कारागारमा छन् । कर्तव्य ज्यानका दुई जना र जवरजस्ती करणी सम्बन्धी कसुरका एक जना गरी तीन जना कैदीलाई कारागारमा राखिएको छ ।

यसरी क्षमताभन्दा बढी कैदीबन्दीलाई कोचेरै राख्नुपर्दा रोगव्याधीको प्रकोप फैलन सक्ने खतरा हुने निमित्त कारागार प्रमुख वलीको धारणा छ । ‘गर्मीको मौसममा सरुवा रोग फैलने खतरा हुन्छ । कोचिएर र टाँसिएर राख्नुपर्दा छाला, श्वासप्रश्वास र सरुवा प्रकारको रोगको प्रकोप बढ्ने संभावना रहन्छ ।’

कारागारका कैदीबन्दीको उपचार गर्दै आएका रोल्पा अस्पतालका स्वास्थ्यकर्मी कृष्ण डाँगीले बताए । कम क्षमताको कारागारमा बढी कैदीबन्दी कोचेर राख्दा सरसफाईमा पनि ध्यान नपुग्ने अवस्था रहेको उनले बताए ।

कारागार प्रशासनका अनुसार कोठा थोरै र साना भएकाले सबै प्रकृतिका मुद्दाका अभियुक्तहरुलाई एकै स्थानमा राख्नुपर्दा कतिपयमा नकारात्मक असर पर्ने अवस्था समेत छ । मानसिक रुपमा प्रभाव पर्ने भएकाले कैदीबन्दी समेत प्रभावित हुने खतरा भएको स्वास्थ्यकर्मीहरुको धारणा छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले कारागारमा बढी कैदीबन्दी राख्नपर्दा धेरै समस्या आइपर्ने बताए ।

‘नयाँ कारागार भवन बन्न ढिलो भएको रहेछ, पुरानोमा धेरैलाई कोचेरै राखिएको रहेछ,’ भर्खरै सरुवा भएर रोल्पामा आएका प्रजिअ रायमाझीले भने ।

यस्तो छ कारागारको अवस्था

रोल्पा कारागार करिब ४२ वर्ष पुरानो हो । हालको कारागार भवनमा क्षमताभन्दा ७३ जना बढी कैदीबन्दी छन् । विभिन्न मुद्दामा सजाय भोगिरहेका र कतिपय पुर्पक्षमा लिइएकालाई राखिएको हो । कारागारभित्रका कैदीबन्दीले पाउनु पर्ने आधारभूत आवश्यकता उपलब्ध गराउन समस्या पनि देखिएको छ । कारागार प्रशासनले चाहेर पनि कतिपय सुविधा उपलब्ध गराउन नसकिएको जनाएको छ ।

२०३९ मा बनेको जिल्ला कारागारमा जहिल्यै कैदी कोचाकोच राख्ने गरिएको छ । ‘घ’ वर्गको उक्त कारागारमा साना खालका ८ वटा कोठा छन् । तीमध्ये ५ कोठा पुरुष र ३ कोठा महिला कैदीबन्दीका लागि छुट्याइएको छ । कारागारको क्षमता ५० जना (३५ पुरुष र १५ महिला) को हो ।

भिन्नाभिन्नै अपराध भोगिरहेका कैदीबन्दीलाई एकैसाथ राख्नु परेको कठिन अवस्था पनि छ । विभिन्न समस्या आइपरे पनि समाधान नगरीकनै कैदीबन्दीलाई राख्नुपरेको कारागार प्रशासनले जनाएको छ । भवन निकै दयनीय, जीर्ण र साँघुरा कोठामा कैदीबन्दी कोचाकोच छन् । शौचालय सजिला र ठूला छैनन् । एउटै कोठामा १६/१७ जनालाई राख्नुपर्छ ।

नयाँ कारागार भवन नबन्दासम्म कैदीबन्दी च्यापिएरै बस्नुको विकल्प नभएको निमित्त जेलर वली बताउँछन् । ‘अहिले नै कैदीलाई अन्यत्र सार्ने अवस्था छैन । जिल्ला बाहिरबाट ल्याइएका र यहींका कैदीबन्दीलाई त्यसैमा मिलाएर बसाल्नुको विकल्प छैन ।’ उनले भने ।

प्रदेश सरकारको बजेटमा रोल्पा नगरपालिका–२ रेउघामा नयाँ कारागार भवन निर्माण थालेपनि अझै अलपत्र छ । चार वर्षदेखि करोडौको लगानीमा भवन निर्माण गर्ने योजना अलपत्र छ । रोल्पाबाट निर्वाचित कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्य मन्त्री भएका बेला नयाँ कारागार भवन बनाउने अभियान थालिएको थियो । तर पूरा भएन ।

भवन दयनीय भएकै कारण यसअघि दुई पटक कैदीबन्दी सुरुङ खनेर भागेका घटना छन् । भागेका मध्ये केहीलाई प्रहरीले अझैपनि नियन्त्रणमा ल्याउन सकेको छैन । अहिले पनि उक्त भवनमै कारागार प्रशासनले क्षमता भन्दा बढी कैदीबन्दीलाई कोचेरै राखेको छ ।

कारागारभित्रै आत्महत्या गरेको घटना पनि छ । बाँके कारागारबाट ल्याइएका कैदीबन्दीमध्ये नाम साटफेर गरेका दुई जनामध्ये एकले दुई वर्षअघि यही झुन्डिएर आत्महत्या गरेका थिए । उक्त घटनाले ठूलो रुप लिएपछि केन्द्रीय तहबाटै अनुसन्धान थालिएको थियो । तत्कालीन घटनाबारे अनुगमन गरेको राष्ट्रिय मानवअधिकार आयोगको नेपालगञ्ज कार्यालयको टोलीले मानवअधिकारको दृष्टिकोणले कैदीबन्दीको अवस्थाप्रति राज्यले ध्यान नदिएको निष्कर्ष निकालेको थियो ।

कैदीबन्दीलाई मानवीय सेवा र व्यवहार गरिनुपर्नेमा वेवास्ता गरिएको आयोगको निष्कर्ष थियो । कारागारमा जथाभावी कैदीबन्दी कोचेर राख्नुले न्यायप्रति सर्वसाधारणको पहुँच स्थापना गर्न नसकिएको अवस्था छ । कारागारको अनुगमन गर्दै आएका मानवअधिकार अधिवक्ता वसन्त गौतमले कारागारलाई सुरक्षित राख्न नसकेकै कारण कैदीले आत्महत्या गरेको बताए । रोल्पा कारागार भित्र दुई वर्षअघि बाँकेका सुन्दर हरिजनले आत्महत्या गरेका थिए । गौतमले राज्य चनाखो र जिम्मेवार हुन नसक्दा सुन्दर हरिजनको मृत्यु र अन्य यस्तै घटना दोहोरिन सक्नेमा सचेत हुन आग्रह गर्छन् ।

प्रकाशित : वैशाख ७, २०८१ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?