२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

भागबन्डा मिलाउन लुम्बिनीमा १२ मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय थप

देउखुरी — सत्ता गठबन्धन दलबीच भागबन्डा मिलाउन लुम्बिनीमा मुख्यमन्त्री कार्यालयसहित १२ वटा मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले गत बिहीबार ७ जनालाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्दा ११ मन्त्रालय थिए । उनीहरूलाई जिम्मेवारी तोक्ने क्रममा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या १२ पुर्‍याएको हो । 

भागबन्डा मिलाउन लुम्बिनीमा १२ मन्त्रालय

यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा १० मन्त्रालयमा ८ मन्त्री थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय थपेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एकीकृत समाजवादीकी भगवती अधिकारीलाई जिम्मा दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् । स्रोतका अनुसार भागबन्डा अनुसार माओवादीले पाउनुपर्ने थप एक मन्त्रालय बाँकी छ । ऊर्जा मन्त्रालय माओवादीमै रहनेछ । गठबन्धनमा भागबन्डा गर्दा माओवादीलाई मुख्यमन्त्रीसहित ३ मन्त्रालय परेका थिए । माओवादीले अहिले मुख्यमन्त्रीसहित दुई मन्त्रालय पाएको छ ।

चैत २५ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भई गत बिहीबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएका जनता समाजवादी संसदीय दलका नेता भण्डारीलाल अहिरले आइतबार पदभार ग्रहण नगरीकनै मन्त्री पदबाट राजीनामा दिएका थिए । मन्त्रीको लिस्टमा उनको नाम पनि यथावत् छ । मुख्यमन्त्री महराले अहिरको राजीनामा स्वीकृत गरेका छैनन् ।

अहिरले चैत २२ मा गरेको सहमति मुख्यमन्त्री महराले पालना नगरेको भन्दै राजीनामा दिएका थिए । ३ सांसद रहेको जसपालाई २ मन्त्रालय दिने सत्तारूढ दलले लिखित सहमति गरेका थिए । मुख्यमन्त्री महराले बुधबार एमालेबाट गुल्मी २ (२) का सांसद दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, कपिलवस्तु ३ (१) का अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रूपन्देही ५ (१) का सांसद भूमीश्वर ढकाललाई सहरी तथा खानेपानी मन्त्रालय र बाँके ३ (१) का रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट दलका नेता बर्दिया २ (२)का सांसद धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र नवलपरासीका २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता दीपेन्द्रकुमार पुन मगरले बताए ।

चैत २५ मा नियुक्त भएका बिनाविभागीय मन्त्री एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुन मगरलाई सरकारको प्रवक्ता एवं स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी बिहीबार तोकिएको थियो । ‘पार्टीको निर्देशनबमोजिम मैले मन्त्री पदबाट राजीनामा दिएको हुँ,’ अहिरले भने, ‘मन्त्रालय पाए पनि पदभार ग्रहण नगर्दै राजीनामा दिएको हुँ । मुख्यमन्त्री र पार्टीबीच छलफल चलिरहेको छ, केही निष्कर्ष निस्केला भन्ने आशा छ ।’

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले मुख्यमन्त्रीले ७ बुँदे सहमति पालना नगरेसम्म जसपा सरकारमा नजाने दाबी गरे । अहिले एमालेका ५, माओवादीका मुख्यमन्त्रीसहित २, जसपा, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्रले एक/एक मन्त्रालय पाएका छन् । राजीनामा दिएका जसपाका अहिरको नाम पनि मन्त्रीको सूचीबाट हटाइएको छैन ।

प्रकाशित : वैशाख १३, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?