कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक अभियानमा समूह

सामाजिक विकृतिसँगै रोगले पनि समाजलाई पछि पार्ने भन्दै गाउँ, टोल सरसफाइको अभियानमा
करिश्मा चौधरी

वीरेन्द्रनगर — ग्रामीण क्षेत्रमा गठित आमा समूह सामाजिक अभियानमा संलग्न हुन थालेका छन् । आमा समूहमा आबद्ध भएपछि यहाँका महिलाले सामाजिक विकृतिविरुद्ध छलफल गर्ने, बचत गर्ने तथा विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने गरेका छन् । 

केही आमा समूह आयआर्जनको काममा समेत सक्रिय भइरहेका छन् । सामाजिक विकृतिविरुद्ध आमा समूहमा छलफल गर्दै न्यूनीकरणमा सक्रिय भएको महिलाको भनाइ छ ।


बराहताल गाउँपालिका–८, बेलचौरमा गठन गरिएको स्वावलम्बन बेलचौर आमा समूहले नियमित सामाजिक अभियानमा सक्रियता जनाउँदै आएको अध्यक्ष निर्मला दर्लामीले बताइन् । उनका अनुसार आमा समूहमा आबद्ध भएपछि महिलाको नेतृत्व विकासमा समेत सहयोग पुगेको छ । समूह गठन भएको १२ वर्षमा आबद्ध भएका महिलाको क्षमता विकास भएको अध्यक्ष दर्लामीले जनाइन् ।


अहिले समूहमा ३९ महिला सदस्य छन् । अहिले हरेक सदस्य सामाजिक विकृतिविरुद्ध लागेको उनले बताइन् । ‘समूहमा मिलेर विभिन्न आयआर्जनका कामसमेत गरिरहेका छौं,’ उनले भनिन्, ‘अहिले गाउँपालिकाको सहयोगमा आलु खेती सुरु गरेका छौं ।’


समूहले ३९ क्विन्टल आलु लगाएको जनाएको छ । समूहमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, छुवाछूतविरुद्ध छलफल गर्ने गरिएको छ । आमा समूहकै सक्रियतामा गाउँमा तीन बहुविवाह रोकिएको छ । पोषणसम्बन्धी छलफल गर्न १० वर्षअघि जम्मा भएको सानो समूह अहिले फूलबारी स्वावलम्बन आमा समूहमा रूपान्तरण भएको छ ।


वीरेन्द्रनगर–१४ स्थित यो समूहले समाज विकासको अभियानसँगै आर्थिक विकासमा समेत जोड दिएको सचिव देवकुमारी महतराले बताइन् । सुरुमा सदस्यले महिनाको पाँच रुपैयाँ बचत गर्थे, अहिले मासिक ५० रुपैयाँ पुर्‍याइएको छ ।


सुरुमा ९ सदस्य रहेको आमा समूहमा अहिले ३० जना आबद्ध छन् । ‘हामीले छुवाछूत, घरेलुहिंसा, बाल र बहुविवाहको असरबारे नियमित छलफल चलाउँदै आएका छौं, सबै सदस्यले एउटा एउटा सीप सिकेका छौँ,’ महतराले भनिन्, ‘समूहमा मासिक बचत गरेको रकमले सीप सिकेर अहिले आत्मनिर्भर बन्ने बाटोमा हिँडेका छौं ।’ सामाजिक विकृतिसँगै रोगले पनि समाजलाई पछि पार्ने भन्दै गाउँ, टोल सरसफाइको अभियानमा लागेको समूहकी अध्यक्ष लीला आचार्यले बताइन् ।


समूहमा परिचय दिन असजिलो मान्ने सदस्य अहिले मज्जाले सार्वजनिक कार्यक्रममा आफ्नो भनाइ राख्न सफल भएको उनको भनाइ छ । समूहकी सदस्य साबित्रा रोकायले समूहमा बचत गर्न थालेपछि आयआर्जनमा अग्रसर भएको बताइन् । ‘बचत गर्न पनि अरूसंँग माग्नुभन्दा आफैंले कमाउने सोचे,’ रोकायले भनिन्, ‘अहिले आफैंले कटेज चलाएकी छु ।’


समूहमा आफूमात्रै नभएर अरू सदस्य पनि आयआर्जनमा लागेको उनको भनाइ छ । उनका अनुसार समूहबाट तालिम लिएपछि भैंसीपालन, कुखुरापालनजस्ता व्यवसायमा महिला संलग्न भएका छन् ।

प्रकाशित : पुस १९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?