सधैं पानीकै पिरलो

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका ४० प्रतिशत घरधुरी लामो समयदेखि खानेपानी समस्यामा छन् । नगरका मूलखोला, लाखर, कफल्लेनी, च्युरा देवस्थलको सल्लीबजार, घाटगाउँ, नाम्रा, घाँजरीपीपलको मैदुचौतारा, संग्रही र बांमेलगायतका गाउँका स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् । 

हुम्लाको डाँडाफयाकी किशोरी पानी भर्दै । स्वच्छ खानेपानी अभावमा विकट गाउँमा जरुवाकै पानी मुख्य स्रोत बन्ने गरेको छ । तस्बिर : कान्तिपुर

पुराना योजना मर्मत नहुँदा र नयाँ निर्माणप्रति सरकारी निकायले चासो नदिँदा स्थानीय बासिन्दा खानेपानी समस्यामा परेका हुन् । ३५ हजार जनसंख्या रहेको नगरमा झन्डै १० हजार बासिन्दा खानेपानी समस्यामा रहेको नगरपालिकाले जनाएको छ । वर्षौंदेखि गाउँमा खानेपानी नहुँदा घन्टौं पैदल हिंडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले स्थानीयलाई सास्ती भएको छ ।

Citizen

मूलखोला लाखरकी ४० वर्षीया दिलमाया खत्रीले तीन घण्टा पैदल हिंडेर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको बताइन् । धेरै दु:ख गरेर पानी ल्याउनुपर्ने भए पनि खानमात्र पुग्ने गरेको उनी बताउँछिन् । ‘लामो समयदेखि खानेपानी समस्या भोग्दै आइरहेका छौं,’ उनले भनिन्, ‘विभिन्न निकायमा खानेपानी समस्या समाधानका लागि हारगुहार गरियो तर, सबैतिरबाट बेवास्ता भइरहेको छ ।’

स्थानीय विमला रोकाले पनि एक गाग्री पानीको लागि धेरै कष्ट भोग्नुपर्ने बाध्यता रहेको बताइन् । गाउँमा खानेपानील्याउन मुहान टाढा भएकाले समस्याभएको उनले बताइन् । नजिकै मुहान भए स्थानीयले जनश्रमदान गरेर पनि खानेपानी योजना निर्माण गर्नसक्ने उनको भनाइ छ । सरकारी निकायले धेरै खर्च लाग्ने भन्दै पुराना योजना मर्मतमा ध्यान नदिएको उनकोभनाइ छ ।

दुई दशकदेखि नगरभित्रका अधिकांश गाउँमा खानेपानी समस्या रहेको मूलखोला लाखरका प्युपर खत्रीले बताए । पानीका लागि सास्ती भएपछि अड्कलेर खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनका अनुसार आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ । उनले खानेपानी समस्याका कारण महिला बढी जोखिममा रहेको जानकारी दिए । खानेपानी समस्याका कारण स्कुले बालबालिकाको पढाइसमेत प्रभावित भएको उनी बताउँछन् ।

स्थानीय ममता खड्काका अनुसार वर्षातको समयबाहेक अन्य समयमा स्थानीयले खानेपानीका लागि सास्ती भोग्नुपरेको बताइन् । ‘वर्षातको समयमा गाउँमै मूल जाग्छन् र टाढा जानु पर्दैन,’ उनले भनिन्, ‘फागुन लाग्नेबित्तिकै मुहान सुक्ने गरेकाले गाउँभन्दा टाढा जानुपर्ने बाध्यता छ ।’ उनले खाना खानेभन्दा बिहान कतिखेर उठेर पानी लिन जाने भन्ने पिरलो हुने गुनासो पोखिन् । पानीको अभावका कारण सरसफाइलगायत काममा समस्या भएको उनी बताउँछिन् । उनका अनुसार खानेपानी समस्याकै कारण शौचालय प्रयोगमा समेत समस्या भएको छ ।

नगरप्रमुख गोविन्दकुमार पुनले नगरभरिका अधिकांश गाउँमा खानेपानी समस्या भएकाले गुरुयोजना निर्माण गरी आवश्यक कार्य गरिने बताए । उनका अनुसार गत वर्ष दुई योजना सम्पन्न गरेपछि एक सय ५० परिवार खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । ‘नयाँ योजना सञ्चालन गर्न धेरै बजेट लाग्ने भएकाले सोचेअनुसार खानेपानीको क्षेत्रमा काम गर्न सकिएको छैन,’ उनले भने, ‘गुरुयोजना निर्माण गरी प्राथमिकताका आधारमानयाँ योजना सञ्चालन गरिनेछ ।’ उनका अनुसार यो वर्ष प्रदेश सरकारसँगको साझेदारीमा चार योजना सञ्चालन गर्न थालिएको छ । बस्ती डाँडामा भएका कारण नगरमा बढी खानेपानी समस्या रहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

तीन जिल्लाको काम एकै ठाम

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — चौरजहारीबाट तीन जिल्लाको काम हुने भएको छ । रुकुम पश्चिमसहित जाजरकोट र डोल्पा जिल्लामा पूर्वाधार मर्मत तथा निर्माणका काम गर्ने गरी चौरजहारीमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । 

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत चौरजहारी नगरपालिका २, विजयश्वरीडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । कार्यालयले तीन जिल्लाको सडक मर्मत, निर्माण तथा स्तरोन्नतिका साथै मोटरेबल पुल र झोलुङ्गे पुल निर्माणको कार्य गर्नेछ ।

कर्णाली प्रदेश सदस्य गोपाल शर्माले पूर्वाधार विकास कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै सांसद शर्माले पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै तीन जिल्लाको पूर्वाधार विकासले तीव्रता पाउने बताए । उनले बजेट कार्यान्वयन तथा विकासका लागि स्थानीयको सहयोग, निगरानी, कमी कमजोरीमाथि सल्लाह सुझाव दिनुपर्ने बताए । उनले संघबाट हुने भौतिक पूर्वाधारका काम पनि अब यही कार्यालयबाट सञ्चालन हुने बताए ।

प्रदेश रहने गरी चारवटा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार चौरजहारीमा पनि पूर्वाधार कार्यालय स्थापना गरिएको सिनियर डिभिजन इन्जिनियर कमलकुमार अधिकारीले बताए । उनका अनुसार सुर्खेत, जुम्ला र हुम्लामा पनि पूर्वाधार विकास कार्यालय स्थापना भइसकेका छन् ।

कार्यालय स्थापनासँगै पूर्वाधारको सर्वेक्षण, अनुगमन गरी डीपीआर तयारको कार्यलाई अगाडि बढाइने अधिकारीले बताए । ३ जिल्लाका सडक स्तरोन्नति पुल निर्माणलगायत ३१ योजनाका लागि चालु आर्थिक वर्षमा ४२ करोड बराबरको बजेट कार्यालयबाट परिचालन हुने उनले बताए ।

पूर्वाधार विकास कार्यालय चौरजहारीमा ४ जना इन्जिनियर र ६ जना सबइन्जिनियरको दरबन्दी रहेकामा हाल १ जना इन्जिनियर र ३ जना सबइन्जिनियर कार्यालयमा आइपुगेका छन् । प्रदेशका ४ ठाउँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिए पनि कर्मचारी अभाव रहेको अधिकारीले बताए ।

अधिकारी आफूले सुर्खेत र रुकुम पश्चिम हेर्नुपर्ने जिम्मेवारी रहेको बताए । ‘सबै ठाउँमा बजेट तथा कार्यक्रम बनाइसकेको छ, तर पुग्दो हिसाबले कर्मचारी भने छैनौं,’ उनले भने, ‘जति कर्मचारी छन् त्यसले नै सबै कामकाजको व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौं ।’

प्रकाशित : पुस २८, २०७५ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्