१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बन्यो विद्युत् सबस्टेसन

विप्लव महर्जन

सल्यान — २०६३/६४ मा डेढ वर्षभित्र सम्पन्न गर्ने गरी काम सुरु भएको विद्युत् सबस्टेसनको काम सम्पन्न हुन १० वर्ष लाग्यो । ढिलै भए पनि सबस्टेसन निर्माणपछि सल्यान र रुकुमका बासिन्दा खुसी भएका छन् ।

बन्यो विद्युत् सबस्टेसन

सबस्टेसन निर्माणपछि सल्यानका १० हजार र रुकुमका ६ हजार परिवार लाभान्वित भएका छन् । ३३ केभीको लाइन सुरु भएपछि विद्युत् अनियमित र कम भोल्टेजका कारण हुने सास्ती हट्ने स्थानीयको विश्वास छ । विद्युत् प्राधिकरण सल्यानका प्रमुख अर्जुन पोखरेलले काम अलपत्र गरेर हिँडेका पुरानै ठेकेदार आएपछि सबस्टेसनको काम सम्पन्न भएको बताए ।


उनका अनुसार निर्धारित समयमा ठेकेदारले ९५ प्रतिशत काम सम्मन गरेर बाँकी अलपत्र छोडेर गएका थिए । लामो समयदेखि त्यत्तिकै थन्किएका मेसिनका केही सामग्री काम नलाग्ने भएका थिए । ठेकेदारले नयाँ सामान ल्याएर हालेपछि सोमबारदेखि सबस्टेसनबाट लाइन विस्तार सुरु भएको उनले बताए ।


अहिले विद्युत् लाइन विस्तारका लागि खलंगा, श्रीनगर र रुकुम तीन भागमा विभाजन गरिएको छ । ‘पहिला कुनै एक ठाउँमा समस्या भए जिल्लाभरि बत्ती काटनुपर्ने बाध्यता थियो,’ पोखरेलले भने, ‘तीन भागमा बिभाजन गरेपछि जहाँ समस्या छ, त्यो ठाउँमा मात्र बत्ती जाने गर्छ ।’ पहिले अन्धाधुन्ध काम गर्दै आएका प्राधिकरणका प्राविधिकलाई पनि काम गर्न सजिलो भएको उनले बताए ।


कम भोल्टेजका कारण जिल्लावासीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । तुलसीपुर सबस्टेसनबाट विस्तार गरिएको लाइन नियमित नहुँदा र भोल्टेजको कमीका कारण जिल्लावासीले धेरै समस्या भोग्नुपरेको थियो । केही समस्या देखिए तुलसीपुरसँग सोध्नुपर्ने बाध्यता थियो । कार्यालय प्रमुख पोखरेलले अब त्यस्तो समस्या अन्त्य भएको बताए ।


काम सम्पन्न गर्नका लागि ठेकेदारका साथै विद्युत् प्राधिकरणका प्राविधिक पाँच दिनसम्म लगातार मर्मत कार्यमा खटिएका थिए । सबस्टेसनसम्म पुग्ने मोटरबाटो चौडा गराउन शारदा नगरपालिकाले सहयोग गरेको थियो ।


प्राधिकरणका कर्मचारी कमिसनका चक्करमा लागेका र सबस्टेसनमा जडान गर्न ल्याएको ट्रान्समिटर केन्द्रीय राजनीतिक चलखेलका कारण इलाम पुगेकाले योजना लामो समयदेखि अलपत्र परेको उद्योगीले बताए । योजनाको काम ढिलै भए पनि सम्पन्न भएपछि अब उद्योगधन्दा सञ्चालन गर्न सहज भएको उनीहरूले बताए । सबस्टेसनको काम सम्पन्नसँगै लाइन विस्तार हुँदा भोल्टेजको कमी र अनियमिताको अन्त्यपछि जिल्लावासी खुसी भएका छन् ।


ठेकेदारले लामो समय काम नगर्दा सबस्टेसनको भवन गाईबस्तुको शौचालय बनेको थियो । मेसिन धूलोले जाम भएको थियो ।२०६३/६४ मा विद्युत् सबस्टेसन योजनाको काम राप्ती र हरिहर निर्माण सेवा कम्पनीले पाएको थियो ।

प्रकाशित : माघ २, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?