कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्कृष्ट पुरस्कार रुकुम प्रहरीलाई

कार्य सम्पादनका आधारमा हरेक महिना एउटा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा

रुकुम पश्चिम — नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गरेको छ । कार्य सम्पादनका आधारमा हरेक महिना एउटा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गर्ने योजनाअनुसार मंसिरमा रुकुम प्रहरी कार्य सम्पादनमा उत्कृष्ट घोषणा भएको हो । 

कर्णाली प्रदेश प्रहरी प्रमुख पहरी नायब महानिरीक्षक महेशविक्रम शाहले जिल्ला प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत समेत गरेका छन् । शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नुका साथै समग्रमा राम्रो कार्य सम्पादन गर्ने प्रहरी कार्यालयलाई हरेक महिना नगद पुरस्कारले पुरस्कृत गर्ने योजनाअनुरूप मंंसिर महिनामा जिल्ला प्रहरी कार्यालय रुकुम उत्कृष्ट घोषणा भई पुरस्कृत समेत भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए ।


शान्ति सुरक्षा कायमका साथै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्यालयहरूलाई प्रोत्साहनस्वरूप कर्णाली प्रदेश प्रहरीले पुरस्कृत गर्न सुरु गरेको हो । यसअघि सुर्खेत सल्यान उत्कृष्ट घोषणा भएर पुरस्कृत भइसकेका छन् ।


यसैबीच जिल्ला प्रहरीले अपराधलगायत अन्य अनुसन्धानमा सात प्रतिशत मात्रै सफलता हात लाग्न नसकेको बताएको छ । गत तीन महिनाको अवधिमा ९३ प्रतिशत अनुसन्धानमा सफल भएको डीएसपी खड्काले बताए । तीन महिनाको अवधिमा भएका ३२ अपराधिक घटनामध्ये ३० अनुसन्धानमा सफलता मिलेको र दुई घटना अनुसन्धानकै क्रममा रहेको डीएसपी खड्काको भनाइ छ ।


तीन महिनाको अवधिमा मात्रै विभिन्न अपराधमा संलग्न भएको अभियोगमा ५३ जना पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांश पुर्पक्षका लागि थुनामा छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नै शान्ति–सुरक्षा कायमका साथै चेतनामूलक कार्यक्रम पनि बढाइरहेकाले अपराधमा सफलता मिलिरहेको प्रहरीले जनाएको छ । ‘समुदायका हरेक सदस्य र हामी प्रहरी सँगसँगै छौं,’ डीएसपी खड्काले भने, ‘यसको कारणले समुदायको सहयोगमै हामी सफल भइरहेको महसुस हामीलाई भइरहेको छ ।’

प्रकाशित : माघ ३, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?