१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भेडाबाख्रा पालकलाई मासिक भत्ता

गाउँपालिकालाई मासु र ऊनमा आत्मनिर्भर बनाउन गाउँपालिकाको योजना 

कालीकोट — पचालझरना गाउँपालिकाले पशुपालनलाई प्रोत्साहन गर्न भेडाबाख्रा पाल्ने कृषकलाई मासिक भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकालाई मासु र ऊनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले यो योजना ल्याएको हो । 

गाउँपालिका अध्यक्ष खडराज सेजुवालको अध्यक्षतामा बसेको बैठकले ६० वटासम्म भेडाबाख्रा पाल्नेलाई मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । एक सय बढी भेडाबाख्रा पाल्नेलाई दुई हजार रुपैयाँका दरले मासिक भत्ता दिने निर्णय गरिएको छ । ‘पशुपालक कृषकलाई प्रोत्साहन गर्न पहिलो चरणमा भेडाबाख्रा पाल्ने कृषकलाई भत्ता दिने निर्णय गरेका हौं,’ गाउँपालिका अध्यक्ष सेजुवालले भने, ‘यसको प्रभाव हेरेर बढाउँदै लेजाने छौं ।’ उनका अनुसार खेतबारीमा भेडाबाख्राको मल प्रयोग गर्नसमेत यसले

प्रेरित गर्नेछ ।


गाउँपालिकाले भेडाबाख्रा पालनलाई प्रोत्साहित गर्न अन्य योजनासमेत ल्याउने तयारी गरेको छ । भेडाबाख्रा पालनलाई प्रोत्साहित गर्दा रासायनिक मलको प्रयोग कम हुने र अर्गानिक खेती प्रणाली अवलम्बन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, अर्गानिक खेतीमा कृषकलाई आकर्षित गर्न मासिक भत्ता दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँका बेरोजगार युवालाई आधुनिक पशुपालन तथा कृषि कर्ममा आकर्षित गर्न भत्ता सहयोगी हुने गाउँपालिकाको भनाइ छ ।


कृषकलाई सहुलियत दरमा ऋण र विपन्न युवालाई अनुदान दिने गरी गाउँपालिकाले कृषि नीति निर्माण गरेको छ । साबिक नानीकोट, राम्नाकोट र आधा बदालकोट मिलाएर पचालझरना गाउँपालिका बनाइएको हो । गाउँपालिकामा करिब तीन सय कृषकले भेडाबाख्रा पालेका छन् । भेडाबाख्रा पालनका लागि पचालझरनाको हावापानी राम्रो छ । त्यस्तै चरन क्षेत्रसमेत भएकाले गाउँपालिकामा भेडाबाख्रा पालनलाई प्रोत्साहन गर्न यो कार्यक्रम अगाडि सारिएको हो ।

प्रकाशित : माघ ४, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?