कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद् आउँदाको व्यावहारिक अभ्यास

मन्तव्य र भाषणले भन्दा व्यावहारिक अभ्यासले धेरै प्रस्ट पार्न सकिन्छ
हरि गौतम

रुकुम पश्चिम — शुक्रबार दिउँसो १ बजे भूकम्प गयो । भूकम्पको कारण घर ढल्दा एउटै परिवारका चार सदस्य घाइते भए । घाइतेको तत्कालै उद्धार गरेर प्राथमिक उपचार गरियो ।

प्राथमिक उपचारपछि चार जनालाई नै जिल्ला अस्पतला रिफर गरियो । जिल्ला अस्पतालमा दुई जनाको पूर्ण उपचार भयो भने दुई जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइयो ।


भूकम्पकै कारण व्यवस्थित नगरिएको तार सट हुँदा खरको छानो भएको घरमा आगलागी भयो । घरमा कोही नभएकाले मानवीय क्षति हुन नपाए पनि घरभित्र रहेको सम्पूर्ण सामग्री जल्यो । घर आगलागी भएको खबर पाएपछि नेपाली सेना र नेपाल प्रहरी त आइपुगे तर घरभित्रको केही सामग्री बचाउन सकेनन् ।


मुसिकोट नगरपालिका १, बह्राटाकुरा मैदानको दृश्य हो यो । यो दृश्य साँच्चिकैको भने होइन । विपद्का बेला अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिन आयोजना गरिएको यो पूर्वअभ्यासमा घटना थियो । घटना भने सबै वास्तविक जस्तै थिए । भूकम्प सुरक्षा दिवशको अवसरमा जनचेतना फैलाउने उद्देश्यसहित जिल्लामा विपद्को समयमा उद्धार, राहत सहजीकरणका लागि व्यावहारिक अभ्यास गरिएको थियो ।


मुसिकोट नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रसलगायतका सरोकारवाला निकायको साझेदारीमा विपद् आउँदा अपनाइनुपर्ने सावधानी र सहजीकरणका लागि अभ्यास गरिएको थियो । ‘विपद् कति बेला आउँछ थाहा पाउन सकिन्न तर आइहालेपछि अपनाउन सकिने सावधानी, ध्यान पुर्‍याउनुपर्ने कुराका सन्दर्भमा सचेतना फैलाउन अभ्यास गरिएको हो,’ रेडक्रस रुकुम शाखा सभापति शिवराम खत्रीले भने, ‘यो सबैका लागि चाहिने र जानकारी

राखिराख्नुपर्ने कुरा भएकाले व्यावहारिक अभ्यास गरिएको हो ।’


मन्तव्य र भाषणभन्दा व्यावहारिक अभ्यासले धेरै प्रस्ट पार्न सक्ने भएकाले अरू कार्यक्रम नगरेर व्यावहारिक अभ्यास गरिएको सभापति खत्रीले बताए । विपद्का बेला र विपद् आइसकेपछि कसले, कहाँबाट के गर्नुपर्छ भन्ने कुराको संयोजन समेत विपद् आउनुपूर्व नै सबैले तयारी अवस्थामा रहनुपर्ने सचेतना अभ्यासले फैलाएको आयोजक पक्षको दाबी छ ।


भूकम्पलगायतका कुनै पनि विपद् आउनुअगावै जो कोही पनि सचेत रहनुपर्ने व्यावहारिक अभ्यासको क्रममा प्रस्ट भएको मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए ।


‘विपद् कुनै सूचना बजाएर आउँदैन,’ नगरप्रमुख गौतमले भने, ‘पूर्वतयारी भएपछि विपद् आइहाले पनि धेरै क्षतिबाट रोक्न सकिन्छ भन्ने सन्देश व्यावहारिक अभ्यासबाट दिन खोजिएको हो ।’ विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न एकअर्का निकायबीचको समन्वय तथा हरेक व्यक्ति चनाखो रहनुपर्ने बताए ।


गोठ, घर र भवनलगायतका संरचना बनाउँदै गर्दा पनि विपद्लाई नजरअन्दाज गर्नुपर्ने भनाइ उनको छ । ‘हामीले सबैले आ–आनो ठाउँबाट होसियारी र सावधानी अपनाउनैपर्छ, जसका कारण हामीले कम क्षति बेहोर्नुपर्छ भने अरूलाई पनि त्यसको सन्देश दिन सकौं,’ नगर प्रमुख गौतमले भने ।

प्रकाशित : माघ ६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?