कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित बस्तीमा पक्की बाटो

दलित नमुना बस्ती विकास कार्यक्रमअन्तर्गत घरघरमा जुठ्यान निर्माणको काम यसअघि नै सकिएको छ
हरि गौतम

रुकुम पश्चिम — मुसिकोट नगरपालिका १०, को दलित बस्तीमा पक्की बाटो निर्माण थालिएको छ । दुई वर्षअघि सुरु भएको बाटो निर्माण कार्य चालु आर्थिक वर्ष सक्नेगरी काम भइरहेको छ ।

मूल बाटोबाट गाउँ पस्ने बाटो सानो भएपछि दलित नमुना बस्ती विकासको अवधारणाअनुसार पक्की बाटो बनाउन थालिएको थियो ।


सुरुमा तत्कालीन सांसद गणेशमान पुनको सांसद कोषबाट दलित नमुना बस्ती विकास कार्यक्रम अघि बढाइएको थियो । उक्त कार्यक्रमअन्तर्गत नै १० नम्बर वडा कार्यालयले पनि पक्की बाटो निर्माणलाई निरन्तरता दिइरहेको छ । आर्थिक वर्ष २०७३/०७४ मा दुई सय ८० मिटर बाटो पक्की बनाइएको थियो ।


आर्थिकमा वडा कार्यालयको सहयोगमा दुई सय ८० मिटर बाटो पक्की गरिएको छ । पहिलाको सानो डोरेटो बाटोलाई चौडा बनाएर ढलान गरी पक्की बाटो बनाइएको हो । चालु आर्थिक वर्षमा पनि वडा कार्यालयले बाँकी बाटो पक्की गर्न तीन लाख बजेट विनियोजन गरेको छ ।


चालु आर्थिक वर्षमा एक सय १० मिटर बाटो पक्की बनाइएपछि दलित बस्ती मूल सडकमा जोडिने दलित नमुना बस्ती विकास समितिकी सचिव निशा महरले बताइन् । बाँकी कामका लागि यो वर्ष प्राविधिक स्टामेटको काम पनि भइसकेको छ । ‘मूल गाउँसम्मको पक्की सडक निर्माण काम यो वर्ष सकिन्छ,’ सचिव महरले भनिन्, ‘बाटो पक्की भएपछि बालबालिकालाई विद्यालय आवतजावत गर्नेदेखि बूढापाकालाई पनि हिंड्न सजिलो हुनेछ ।’ दलित नमुना बस्ती विकासको मुख्य काम बाटो निर्माण कार्य सकिने र अरू काम निरन्तर अघि बढ्ने उनको भनाइ छ ।


दलित नमुना बस्ती विकासअन्तर्गत यो वर्ष मुख्य दलित बस्तीसम्मको बाटो पक्की काम गर्न सकिने वडा सदस्य धनबहादुर खड्काले बताए । ‘साविक जिल्ला विकास समितिमार्फत सांसद विकास कोषको रकमबाट सुरु गरिएको योजना वडा कार्यालयले सम्पन्न गर्दै छ,’ वडा सदस्य खड्काले भने, ‘दलित नमुना बस्ती विकासको एउटा महत्त्वपूर्ण काम मूल सडकबाट गाउँसम्मको बाटो पक्की गर्ने काम सकिएपछि अरू काम हुनेछन् ।’ पक्की बाटो निर्माणको काम सकिएपछि दलित नमुना बस्ती विकासका अन्य कार्य अघि बढाउने तयारी गरिएको छ ।


दलित नमुना बस्ती विकास कार्यक्रमअन्तर्गत घरघरमा जुठ्यान निर्माणको काम यसअघि नै सकिएको छ । दलित बस्तीका ७० घर परिवारलाई सरसफाइका लागि दुई सय ५० लिटर क्षमताका पानी ट्यांकी पनि उपलब्ध गराइएको थियो ।


बाटो पक्की गर्ने काम सकिएपछि अन्य कामकाज अघि बढाउन फेरि स्थानीयसँग छलफल गर्ने थप योजना बनाउने तयारीमा आफूहरू रहेको वडाध्यक्ष गोपेश्वर केसीले बताए । अघिल्लो योजनालाई निरन्तरता दिँदै दलित बस्तीमा जाने बाटो पक्की गरेको वडा कार्यालयले चुनखोलादेखि ∆याङ बस्तीमा पुग्ने तीन सय ८२ मिटर बाटो पनि पक्की गरेको छ ।


सात लाख ५० हजार रुपैयाँको लागतमा गत आर्थिक वर्षमा मिटर बाटो पक्की गराइएको हो ।

प्रकाशित : माघ ७, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?