कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काँक्रेविहार वन संरक्षण सूचीमा

वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिकास्थित काँक्रेविहार वनलाई संरक्षित वनको सूचीमा राखिएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र काँक्रेविहार यही क्षेत्रभित्र पर्ने भएकाले स्थानीयदेखि संघीय सरकार यसको व्यवस्थापनमा लागेका छन् । जथाभावी घाँस दाउरा काट्ने क्रम बढ्दै गएपछि संरक्षण चुनौतीपूर्ण बनेको छ । 

तीन दशकअघिसम्म काँक्रेविहारमा पस्न पनि डर लाग्थ्यो,’ वीरेन्द्रनगर–९ की स्थानीय चन्द्रा श्रेष्ठले भनिन्, ‘अहिले त्यही वनलाई आउजाउको बाटो बनाएका पनि छन् ।’ चन्द्रा मात्रै होइन, काँक्रेविहारमा बाक्लो जंगल हुने बेला जो कोही जंगल पस्न डराउँथे । बाक्लो जंगल भए पनि संरक्षणका लागि तारबार नहुँदा बिस्तारै वन पातलिँदै गएको उनले बताइन् । उनका अनुसार स्थानीयले घाँस–दाउरा काट्ने क्रम बढेपछि वन पातलिँदै गएको हो ।


अहिले श्रेष्ठ आफैं काँक्रेविहार वन संरक्षणमा लागेकी छन् । उनीसँगै लाटीकोइलीका ९ महिला लाटीकोइली संरक्षण समितिमार्फत काँक्रेविहार वन संरक्षणमा जुटेका हुन् । एक सय ७१ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार संरक्षणमा अहिले वीरैन्द्रनगर ९ वडा कार्यालयको जिम्मामा पाँचवटा संरक्षण समिति रहेको वडाध्यक्ष सुरेश मानन्धरले बताए ।


वरपरको बस्तीलाई यसको जिम्मा दिएको उनले जनाए । यस्तै कालीमाटी, पातलगंगा, नयाँगाउँ र कुन्टीमा पनि संरक्षण समिति रहेको अध्यक्ष मानन्धरले जनाए । वन रेखदेखका लागि वीरेन्द्रनगर ९ वडा कार्यालयबाट चार जना वन हेरालु छन् ।


वन हेरालु र संरक्षण समितिमार्फत प्रयास भइरहेपछि क्षति केही कम हुन थालेको उनी बताउँछन् । ‘खुला सिमाना र जोडिएको बस्ती संरक्षणको मुख्य चुनौती बनेका छन्,’ उनले भने, ‘वरपर घाँसदाउरा काट्नेले साना बिरुवा पनि काटिदिँदा संरक्षणमा समस्या भएको छ ।’ वन संरक्षणका लागि वरपरका स्थानीय सचेत हुनुपर्ने भन्दै जनचेतनाको कार्यक्रम सञ्चालन गरेको उनले जनाए ।


काँक्रेविहार वनको संरक्षण गर्न चारैतिर पर्खाल लगाउनका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित : माघ १०, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?