२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

छाउगोठ त्याग्दै किशोरी

तुलाराम पाण्डे

कालीकोट — १४ वर्षको उमेरमा पहिलोपटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी खाँडाचक्र–६ की मुगा विश्वकर्मा १९ वर्षकी भइन् । उनी महिनैपिच्छे छाउ पालो आएपछि गोठ बस्नुपर्ने बाध्यताले चिन्तित हुन्थिन् । अहिले भने उनी छाउगोठ बस्दिनन् । ‘छाउ त बार्ने होइन, सरसफाइ गर्नुपर्ने रहेछ,’ उनी भन्छिन् ।

छाउगोठ त्याग्दै किशोरी

२ कक्षा पढ्दापढ्दै विद्यालय छाडेकी मुगा महिनावारी भएको बेला अज्ञानताकै कारण लामो समय गाई बाँध्ने गोठमा बसिन् । दुई महिनाअघि स्वास्थ्यचौकी दाहाँकी इन्चार्ज रूपा भण्डारीको सहजीकरणमा अविवाहित किशोरी समूह गठन भएपछि उनी छाउ बस्नुपर्ने बाध्यताबाट मुक्त भइन् । ‘सुरुमा त आमाले निकै गाली गरिन्, तर अहिले आमाबाको सहमतिमा घरभित्रै सुत्छु,’ उनले भनिन्, ‘घरमा बसे देउता लाग्छ भन्ने त हल्लामात्र रहेछ ।’


खाँडाचक्र–५, मोटेलाकी किशोरी जनपुरा सुनारले पनि अचेल छाउ बार्न छाडेकी छन् । ‘छुई भएको बेला सरसफाइमा ध्यान दिनुपर्छ,’ ९ कक्षामा अध्ययनरत उनले भनिन्, ‘घरमा बसे पनि केही नहुने रहेछ ।’ गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डर लाग्ने गरेकोमा अहिले ढुक्कले सुत्न पाएको उनले बताइन् ।


खाँडाचक्र–३ की सपना देवकोटाले पनि अचेल छाउ बार्न छाडेकी छन् । उनी त छाउ भएको कुरा परिवारलाई समेत भन्दिनन् । छाउ बस्दा ५ वर्षअघि गोठमै सर्प आएपछि आगो बालेर धूवाँ हालेर भगाएको सुनाउने त्यहीँकी मनकला पाण्डेले पनि छाउगोठ छाडेको धेरै भएको छैन । ‘पहिले गोठमा बस भनेर बुवाआमा कराउँथे, उनले भनिन्, ‘घरमा बस्दा पनि केही नभएपछि अहिले गोठ बस्न छाडेँ, बुवाआमा पनि कराउँदैनन् ।’


किशोरीमार्फत महिनावारी विरुद्धको अभियान सञ्चालन गर्दा प्रभावकारी हुने देखिएपछि खाँडाचक्रका ११ वटै वडामा किशोरी सशक्तीकरण अभियान सञ्चालन नगर उपप्रमुख विजया बिष्टले बताइन् । उनका अनुसार खाँडाचक्रमा १४ किशोरी समूह गठन गरिका छन् । त्यस्तै, नरहरिनाथ गाउँपालिकामा ४५ वटा र रास्कोट नगरपालिकामा २७ वटा किशोरी समूह गठन भएका छन् ।


७ बस्ती छाउपडी गोठमुक्त

९ स्थानीय तह रहेको कालीकोटमा सातवटा वडा (बस्ती) छाउगोठमुक्त भएका छन् । पहिलोपटक पाँच वर्षअघि खाँडाचक्र नगपालिकाको बराँतु छाउगोठमुक्त भएको थियो । हालसम्म जिम्जेडी, राताडाव, पिली तलसेरा, पाखा, कोटिला, फोइमहादेव, दशाला र सेरावाडा छाउगोठमुक्त बस्ती घोषणा गरिएका छन् ।


नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जिल्लाका ७५ प्रतिशत महिला अझै पनि महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेको बताइन् । ‘अब यो संख्या किशोरीहरू नै सक्रिय हुन थालेपछि घट्ने देखिएको छ,’ उनले भनिन्, ‘समाजमा बिस्तारै बढ्दै गएको शिक्षा र चेतनाले महिलाले छाउपडी प्रथा छोड्न थालेका छन् ।’ महिनावारी भएको बेला गोठमा बस्दा बलात्कारका घटनाका साथै सर्पले डसेर महिलाको मृत्यु हुने गरेको छ । यसका साथै चिसोले कठ्यांग्रिएर समेत मृत्यु हुने गरेको छ । यस्तो अवस्थामा किशोरी नै छाउपडी प्रथाविरुद्ध लागेपछि यसबाट सिर्जित समस्या कम हुने महिला अधिकारकर्मी दमिला शाही बताउँछिन् ।


५ वर्षअघि एसएलसी दिन गएकी गेला पाखाकी एक छात्रा महिनावारी बार्न गोठमा बस्दा बलात्कृत भएकी थिइन् । दुई वर्ष अवधिमा जिल्ला प्रहरी कार्यालयमा आएका जबरजस्तीकरणीका सातमध्ये चारवटा केस महिनावारी बार्न गोठमा बस्दा भएका छन् ।

प्रकाशित : माघ १८, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?