कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्यान्न बाटोमै

हिउँले सडक बन्द हुँदा करिब तीन सय क्विन्टल खाद्यान्न जुम्लाको नाग्मा, गोठीज्युलामा रोकिएको नेपाल खाद्य संस्थानले जनाएको छ ।
राजबहादुर शाही

मुगु — भारी हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध भएपछि तराईबाट आपूर्ति भएको खाद्यान्न बाटोमै अलपत्र परेको छ । हिउँले सडक बन्द हुँदा करिब तीन सय क्विन्टल खाद्यान्न जुम्लाको नाग्मा, गोठीज्युलामा रोकिएको नेपाल खाद्य संस्थानले जनाएको छ ।

संस्थानका शाखा प्रमुख भरतराज खनियाँका अनुसार सडक नखुल्दासम्म चामल आपूर्तिमा समस्या हुने देखिएको छ । डिपोदेखि सदरमुकाम सम्मको खाद्य गोदाममा चामल जगेडा भएकोले आपूर्तिमा ढिलाइ भए पनि फरक नपर्ने उनको भनाइ छ ।


सडक पुगेपछि संस्थानबाट स्थानीय उपभोक्तालाई अनुदानको चामल वितरण सहज बन्दै गएको छ । ५ वर्षअघिसम्म पाँच किलो चामलको लागि खाद्य गोदाममा दिनभरि लाइन लाग्नुपर्ने दु:खकष्ट हटेको स्थानीयले जनाएका छन् । गोदाममा लाइन बस्नुपर्ने मात्र नभएर प्रजिअ, कार्यालय प्रमुख र नेताको सिफारिस लिनुपर्ने बाध्यता हटेको छ ।


गमगढी बजारमा होटल सञ्चालन गर्ने व्यापारी र भाडामा बस्ने स्थानीयले चामलकै निम्ति कर्मचारीलाई खुसी बनाएर चामलको कुपन माग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । समय अवधि तोकेर खाद्यान्न वितरण गर्ने दिनमा उपभोक्ताको गोदाममा थामिनसक्नु भीड हुने गरेको थियो । कर्मचारीका अनुसार केही वर्षअघिसम्म सुरक्षाकर्मी लगाएर चामल वितरण गर्नुपर्ने अवस्था थियो ।


जिल्लामा सडक सञ्जाल जोडिएपछि आपूर्तिमा सहज र अर्कोतिर व्यापारीले पनि तराईबाट चामल ल्याएर बेच्न थालेपछि स्थानीयलाई अनुदानको चामल पाउन सहज भएको हो । ‘पहिले दिनभरि खाद्य गोदाममा लाइन लागेर बेलुका पाँच केजी चामल पाउन मुस्किल हुन्थ्यो,’ छायानाथ रारा नगरपालिकास्थित रुघा गाउँका धनजित लावडले भने, ‘हिजोआज खाद्यका कर्मचारी चामल लैजाउ भन्छन् ।’ उनका अनुसार गमगढीसहित सोरु, खत्याड, मुगमकार्मारोङ गाउँपालिकाका उपभोक्ताले सहजै खाद्यान्न पाउन थालेका छन् ।


सोरुकोट, पुलु, श्रीकोट, कालैलगायत खाद्य डिपोमा प्रशस्त चामल आपूर्ति हुन थालेपछि विपन्न नागरिकको खाद्यान्न उपभोगमा सहज पहुँच पुगेको छ । ‘पाँच केजी चामलका लागि हिंडेर सदरमुकाम जानुपर्ने अवस्था छैन, यही खाद्य गोदामबाटै सजिलै चामल पाइन थालेको छ,’ सोरु गाउँपालिकास्थित सोरुकोट गाउँका पदम शाहीले भने ।


खाद्य संस्थानका अनुसार सोरुकोट डिपोमा पाँच सय, पुलु डिपोमा चार सय र श्रीकोट डिपोमा पाँच सय क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ । जिल्लास्थित मुख्य खाद्य गोदाममा एक हजार पाँच सय क्विन्टल खाद्यान्न मौज्दात छ । अहिले उपभोक्तालाई अनुदानको चामल पाउन निकै सहज भएको शाखा प्रमुख खनियाँको भनाइ छ ।


जति बेला खाद्य गोदाममा आए पनि पर्याप्त चामल दिएर स्थानीयलाई पठाउने गरिएको उनले जानकारी दिए । सोरुकोट र पुलु खाद्य डिपोभन्दा श्रीकोट खाद्य डिपोमा अनुदानको चामल बिक्री हुने गरेको उनले बताए । अन्नबालीको राम्रो उत्पादन हुन थालेपछि अनुदानको चामल खपतमा कमी आएको खनियाँले बताए ।


उपभोक्ताको सहजताका लागि छायानाथ रारा नगरपालिकाको पिना र खत्याड गाउँपालिकाको रातपानीमा अस्थायी खाद्य डिपो राखेर चामल बिक्री वितरण गर्ने गरिएको छ । संस्थानको शाखा कार्यालयका अनुसार गोदामबाट दैनिकजसो ४० देखि ५० बोरा अनुदानको चामल बिक्री हुने गरेको छ ।

प्रकाशित : माघ २४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?