कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षा र हिमपातपछि चाँदीझैं टल्किए डाँडा

भारी हिमपातले जनजीवन कष्टकर, पाइपमै जम्यो पानी
चार फिटभन्दा बढी हिउँ जम्यो, माइनस २० डिग्री तापक्रम

हुम्ला/मुगु — कर्णाली प्रदेशका हिमाली जिल्लामा दोस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण डोल्पा र हुम्लाका बासिन्दा बढी प्रभावित भएका छन् । हुम्लामा बुधबार बिहानदेखि सुरु भएको हिमपात शुक्रबारसम्म जारी छ । यस वर्षको यो दोस्रोपटकको भारी हिमपात हो । 

वर्षा र हिमपातपछि चाँदीझैं टल्किए डाँडा

माघ दोस्रो सातादेखि एक सातासम्म हिउँ पर्दा करिब तीन फिट बाक्लो हिउँ जमेको थियो । त्यतिबेला परेको हिउँ नपग्लँदै पुन: दुई फिट बाक्लो हिउँ थपिएको छ । पहिलेको नपग्लँदै पुन: थपिएपछि सदरमुकाम आसपासमा चार फिट बाक्लो हिउँ जमेको हो । हिउँ पर्ने क्रम रोकिएको छैन । पुस महिनामा दुईपटक हल्का हिमपात हुँदा एक इन्चभन्दा बढी परेको थिएन । लगातार तीन दिनसम्म हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको छ । सिमकोट बजार सुनसान बनेको छ ।


स्थानीय बासिन्दा घर बाहिर निक्लिन सकेका छैनन् । चहलपहल घटेको छ । सदरमुकाम आवतजावत गर्ने बाटाहरू बन्द भएका छन् । बाटा बन्द भएपछि गाउँ र बजारको सम्बन्ध टुटेको छ । स्थानीय व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेका छन् । पसल बन्द भएकाले मोबाइलको रिचार्ज कार्डसमेत किन्न नपाएको स्थानीय विष्णु श्रेष्ठले बताए ।


हिउँ परेपछि जिल्ला पूरै सेताम्मे छ । चिसो अत्यधिक बढेको छ । अग्ला डाँडाकाँडा चादीझैं टल्केका छन् । सदरमुकाम भन्दा उत्तरतिरका बस्तीमा अझै चार फिटभन्दा बढी हिउँ जमेको हुन सक्ने स्थानीयको आकलन छ । उत्तरी सीमामा रहेका हिल्सा र लिमीका प्रहरी चौकी हिउँ नपर्दै बेंसीमा सारिसकिएको थियो ।


पाँच फिटसम्म हिउँ जम्ने हुम्लामा एक दशकपछि मात्रै ठूलो हिमपात भएको हो । स्थानीय लोटइ लामाले हुम्लामा २०६३ पछिको यो ठूलो हिमपात भएको जानकारी दिए । जिल्लाभर हिउँ नभएको खाली स्थान नै छैन । डाँडाकाँडा, रूख–बिरुवा सेतै छन् । अत्यधिक चिसोका कारण खानेपानीका पाइप जमेर धारामा पानीसमेत आउन छाडेको छ । जाडोका कारण स्थानीय घर बाहिर निस्कन सकेका छैनन् ।


हिमपातका कारण सुरक्षासमेतमा प्रभाव परेको छ । गस्तीमा रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई समस्या भएको छ । हिउँ पर्दापर्दै पनि सडक र बजारमा सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । एसईई परीक्षाको तयारीका लागि अध्ययन गरिरहेका विद्यार्थी बढी प्रभावित बनेका छन् ।


अत्यधिक चिसो भएकाले पढाउन समस्या भएको र पढ्ने विद्यार्थीले पनि लेख्न नसक्ने अवस्था आएको सिमकोटमा कोचिङ पढाइरहेका शिक्षक ललित सिंहले बताए । पशुबस्तु पनि चरन नहुँदा गोठभित्रै थुनिन बाध्य छन् । बाहिर कतै पनि खाली जमिन नभएकाले गोठभित्रै थुनिन बाध्य भएको स्थानीयको भनाइ छ ।


कतिपयले पानी ओसारेर पशुबस्तुलाई गोठमै खुवाउने गरेका छन् भने कतिपयले हिउँ छिचोल्दै धारासम्म लाने गरेका छन् । हिउँ पर्नु अगाडि नै पशुबस्तुका लागि घाँस र पराल सुकाएर चाङ बनाई सञ्चित गर्ने चलन छ । हिउँ नपग्लेसम्म गोठभित्रै पशुलाई घाँस खुवाउने गरिन्छ । हिमपातले चराचुरुंगी र जंगली जनावरलाई पनि समस्या भएको छ । समस्यामा परेको मौका छोपी स्थानीयले जंगली जनावर र चराचुरुंगीको सिकार गर्ने गरेका छन् ।


चिसो अत्यधिक बढेर सदरमुकाम सिमकोटमा बिहानको तापक्रम माइनस २० डिग्री सेल्सियस हुने र दिनमा पनि माइनस नै रहने गरेको छ । कार्यालयमा सेवाग्राही पनि आउजाउ गर्न छाडेका छन् । कर्मचारी कार्यालय जान सकेका छैनन् । जिल्लामा निर्वाचित जनप्रतिनिधिसमेत छैनन् ।

विमानस्थलमा हिउँ जमेकाले माघ ८ गतेदेखि एक साता हवाई सेवा बन्द भएको थियो ।

विमानस्थल कार्यालयको अगुवाइमा गाउँपालिका, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सहयोगमा विमानस्थलमा जमेको हिउँ हटाई एक सातापछि उडान सुचारु गरे पनि बुधबारदेखि पुन: हवाई सेवा बन्द भएको छ । हवाई सेवा बन्द हुँदा अति आवश्यक कामका लागि सहर आउजाउ गर्ने स्थानीयवासी मर्कामा परेका छन् । सिमकोट बजारदेखि खार्पुनाथसम्म सञ्चालित ११ किलोमिटर सडकमा साना गाडी सञ्चालन हुने भए पनि हिमपातपछि अवरुद्ध भएका छन् ।


जिल्लाका विद्यालय पुसमै बन्द भइसकेका थिए । यो हिमपातले नाम्खा गाउँपालिकाका बासिन्दा बढी प्रभावित बनेका छन् । नाम्खा गाउँपालिका ६, स्थित हिमालपारिको लिमीका तीन बस्तीका बासिन्दाको अवस्था अज्ञात छ । लिमीमा तिल, हल्जी र जाङ गरी तीन बस्ती छन् । तीनवटै बस्तीका बासिन्दाले घरमा रहेका परिवारका सदस्यलाई खानपानलगायत बन्दोबस्त गरी हिमपात हुनुअघि नै गाउँ छाडेका थिए ।


हिमपातले जनजीवन कष्टकर बने पनि किसानलाई खुसी बनाएको छ । लामो समयसम्म ठूलो हिउँ नपर्दा हुम्ली किसान दु:खी बनेका थिए । धेरै वर्षपछि ठूलो हिमपात भएकाले हिउँदे र वर्षे दुवै बाली सप्रने आसले किसानलाई खुसी बनाएको हो । ‘धेरै वर्षपछि ठूलो हिमपात हुँदा खेतीका लागि राम्रो भयो;’ सर्केगाड गाउँपालिकाको राहदेउका श्यामजोर ऐडीले भने, ‘आउँदो वर्षको हिउँदे र वर्षे दुवै बालीको उत्पादनमा वृद्धि भएर खाद्य समस्या नहुने आशा छ ।’


पर्याप्त सिँचाइ सुविधा नभएको हुम्लामा प्रायजसो खेती आकाशे पानीका भरमा हुने गरेको छ । आकाशे पानीका भरमा खेती गरिने सुक्खा जग्गामा हिउँले लामो समयसम्म चिस्यान बनाइराख्ने र खेतबारीमा भएको झारपात कुहाएर माटो मलिलो बनाउने चंखेली गाउँपालिकाको पुुमाका रामचन्द्र बुढाले बताए । उनका अनुसार उच्च हिमाली भेगमा भिरालो जग्गा हुने र चिनो, फापर, गहँु, आलु जस्ता कृषि उत्पादनका लागि सिँचाइ गर्न सम्भव हुँदैन ।


ग्याल्बो ल्होछार प्रभावित

मुगुको मुगमकार्मारोङ गाउँपालिकाका जनजाति समुदायले धुमधामसाथ मनाउँदै आएको ग्याल्बो ल्होछार भारी हिमपातका कारण प्रभावित बनेको छ । चितै, डोल्फु, कार्ती, किम्री, ताखा, खारी, दाउरा, रिउस, पुवा, माग्रीलगायत बस्तीमा भारी हिमपातका कारण स्थानीयलाई ल्होछार मान्न कठिनाइ भएको हो । बस्तीहरू हिउँले सेताम्मे बनेपछि वरपर हिंड्डुल गर्नसमेत समस्या भएको छ ।


हिमपात र झरीले गर्दा अत्यधिक चिसो बढेपछि बाहिर निस्किन कठिनाइ भएको छ । जनजाति बस्तीमा सोनाम ल्होछार सकिएपछि सुरु भएको ल्याल्बो ल्होछार पटकपटक परेको हिउँका कारण प्रभावित बनेको स्थानीयको भनाइ छ । ल्होछारका लागि नुन, तेल, खाद्यवस्तुलगायत जुटाउन समस्या भएको स्थानीयले जनाए ।


स्थानीय बासिन्दालाई किनमेलका लागि नजिकैका व्यापारिक केन्द्र छाइलबजार र गमगढी आउन मुस्किल परेको छ । मुगु गाउँका टाँसी लामाले भने, ‘भित्रै बसेर ग्याल्बो ल्होछार मनाउनुपर्ने अवस्थाले गर्दा कठिनाइ भयो ।’ उनका अनुसार हिमपात जारी रहेकाले थप समस्या भएको हो । मिठो खाना खाने र रमाइलो गर्ने चाड हिउँले प्रभावित बनेपछि स्थानीय बासिन्दा चिन्तित बनेको उनले जानकारी दिए ।


मुगमकार्मारोङ गाउँपालिकाको एक बस्तीबाट अर्को बस्ती जान दुई/तीन घण्टा हिंड्नुपर्ने भए पनि हिमपहिरो खस्ने डरले आउजाउमा समस्या भएको छ । ‘यो पटक हिउँले ग्याल्बो ल्होछार पर्व प्रभावित बन्यो,’ माग्री गाउँका सोमानछिरिङ लामाले भने,‘यातायात अवरुद्ध हुँदा कामकाजको सिलसिलामा घर बाहिर गएका स्थानीयलाई ल्होछार मनाउन घर फर्किनसमेत मुस्किल भएको छ ।’ उनका अनुसार पूजापाठका निम्ति हिउँ पन्छाएर बौद्ध गुम्बामा जान समस्या भएको छ ।


प्रकाशित : माघ २६, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?