कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे २ करोडमा अस्पताल

दैलेख — इन्जिनियर दम्पतीले निजी लगानीमा दुल्लुमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । ग्रामीण क्षेत्रमा अस्पताल स्थापनापछि स्थानीयवासी स्वास्थ्य सेवा पाइने आसले खुसी भएका छन् ।

साढे २ करोडमा अस्पताल

इन्जिनियर कपिल खनाल र उनकी श्रीमती इन्जिनियर सुशीला मिश्रले २ करोड ५० लाखको लागतमा ‘आशाराम हस्पिटल’ निर्माण गरेका हुन् । आधुनिक सुविधासहित अस्पताल स्थापना भएपछि महँगो रकम तिरेर सहरतिर जानुपर्ने बाध्यता हटेको दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले बताए । ‘निजी लगानीमा सुविधा सम्पन्न अस्पताल बनेपछि यहाँका बासिन्दालाई धेरै राहत मिल्ने अपेक्षा गरिएको छ,’ उनले भने ।


अस्पतालमा आकस्मिक सेवाका साथै एक्स–रे, भिडियो एक्स–रे, डिजिटिल एक्स–रे, डेन्टल सेवा, स्तरीय प्रयोगशाला सेवा सुविधा रहेका अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले बताए । सहरका सुविधा सम्पन्न अस्पतालमा पाइने सुविधा यहाँ उपलव्ध रहेको उनको भनाइ छ ।


हजुरबुवाको नाममा स्थापित उक्त अस्पताललाई निकट भविष्यमै सय शय्यामा स्तरोन्नति गरिने उनले जानकारी दिए । अस्पताल उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य सुशील थापाले उपचार नपाएर ज्यान गुमाउन नपर्ने बताए । ‘निजीस्तरबाट जिल्लाकै सुविधा सम्पन्न अस्पताल स्थापना भएपछि जनता खुसी भएका छन्,’ उनले भने, ‘अब उपचार नपाएर कसैको ज्यान जाने छैन ।’


अहिले दुल्लुसहित दैलेखका बिरामीले जटिल स्वास्थ्य समस्या आउँदा उपचारका लागि सुर्खेत, नेपालगन्ज जानुपर्ने बाध्यता छ । अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाले गाउँमै सहज र भरपर्दो सेवा उपलब्ध भएपछि बिरामी बाहिर जाने क्रम रोकिने बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?