कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्राउ परे ४ फरार प्रतिवादी

फैसला कार्यान्वयनका क्रममा अदालतबाट दोषी ठहर भएकाहरू पक्राउ पर्ने क्रम जारी
हरि गौतम

रुकुम पश्चिम — प्रहरीले २४ दिनमा चारजना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तथा जरिवाना सुनाइएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भएकालाई थप प्रक्रियामा लिएको छ । प्रहरीले माघमा एकजना कर्तव्य ज्यान, एकजना वन मुद्दा र दुईजना जबर्जस्ती करणीमा दोषी ठहर भई कैद तथा जरिवाना सुनाएकाहरू पक्राउ परेका छन् ।


माघ ६ गते बाँफिकोट गाउँपालिकाका ४२ वर्षीय डम्बर खत्री पक्राउ परे । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सुनाइएका हुन् । उनी १० वर्षपछि पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा २०६६ असोज २३ गते रुकुम जिल्ला अदालतले उनलाई २० वर्ष कैदको फैसला गरेको थियो ।


खत्रीमाथि गाउँकै घ्यूकुमारी परियारसँग अवैध सम्बन्ध राखी परियारबाट जन्मेको नवजात शिशुको हत्या गरेको अभियोग लागेको थियो । २०६५ जेठ २३ गते खत्री र परियार मिलेर नवजात शिशुको हत्या गरेको पुष्टि गर्दै अदालतले दुवै जनालाई २० वर्ष कैद सजाय तोकेको थियो ।


माघ ११ गते चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय रूपलाल विष्ट पक्राउ परे । वन मुद्दामा दोषी ठहर भएका विष्टलाई अदालतले ५२ हजार १ सय २९ रुपैयाँ ९४ पैसा जरिवाना तोकेको थियो । माघ १६ गते बाँफिकोट गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर विक पक्राउ परे । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर उनलाई अदालतले ५ वर्ष कैद भुक्तान गर्नुपर्ने गरी फैसला गरेको छ ।


उनलाई प्रहरीले फैसला भएको २ महिनापछि पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुर दाङले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाए सुनाएको थियो । २०७५ मंसिर २७ गते आएको अदालतको फैसलापछि विक लुकिछिपी बस्दै आएका थिए । त्यस्तै, माघ १९ गते आठबिसकोट नगरपालिका–१० का ३३ वर्षीय शशिराम विक पक्राउ परे ।


जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर विक फैसला भएको ५ वर्षपछि पक्राउ परेका हुन् । २०७१ साल फागुन १२ गतेको रुकुम जिल्ला अदालतको फैसलाले उनलाई दोषी ठहर गरेको थियो । २०६७ चैत २० गते भएको घटनामा दोषी ठहर भएका उनलाई अदालतले ८ वर्षको कैद सजाय तोकेको छ ।


जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खडकाले फैसला कार्यान्वयनका क्रममा अदालतबाट दोषी ठहर भएकाहरू पक्राउ पर्ने क्रम जारी रहेको बताए । उनका अनुसार कात्तिक १ गते पनि एक व्यक्ति पक्राउ परेका थिए । बाँफिकोट गाउँपालिका–३ का २३ वर्षका भरत विक जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् ।


अदालतबाट ६ वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना सुनाइएका उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेको थियो । उनीसहित पक्राउ परेका सबैले हाल कैद भुक्तान गरिरहेको डीएसपी खडकाले बताए ।


प्रहरीले पछिल्लो समय फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजीका साथै अन्य सुरक्षा सतर्कता बढाएको जनाएको छ । विशेष गरी नागरिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीलाई सहयोग भइरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?