कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय सुनसान, परीक्षामा चाप

भर्नाको समय र परीक्षाको समयमा मात्र विद्यार्थीसँग भेट हुने गरेको प्रमुख पुनले बताए
भीमबहादुर सिंह

जाजरकोट — कलेजमा भर्ना भएका विद्यार्थी परीक्षामा बाहेक पढाइका लागि कक्षामा आउँदैनन् भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । जाजरकोटमा सञ्चालित तीन वटा कलेजले यही नियति भोग्दै आएका छन् ।

यहाँका क्याम्पसमा विद्यार्थी भर्ना हुने र नियमित पढ्न भने नआउने गरेको पाइएको छ । क्याम्पसमा नाम लेखाएका सबै विद्यार्थी परीक्षा दिन आउने तर, पढाइका लागि कक्षा कोठामा नआउने गरेको नलगाड बहुमुखी क्याम्पस दल्लीका प्रमुख कालीबहादुर पुन बताउँछन् ।


भर्नाको समय र परीक्षाको समयमा मात्र विद्यार्थीसँग भेट हुने गरेको प्रमुख पुनले बताए । ‘नियमित पढ्न आउने शून्य नै हुन्छ,’ उनले भने, ‘नलगाड क्याम्पसबाट गत वर्ष स्नातक तहमा तीन सय परीक्षार्थीले जाँच दिएको भए पनि पढ्न आउने संख्या शून्य नै थियो । नियमित सम्पर्कमा आउने २/४ जनाबाहेक हुँदैनन् ।’ नलगाडमा शिक्षा संकायमात्र पढाइ हुने गरेको उनले जनाए ।


स्नातकसम्मको पढाइ हुने जनज्ञानकुञ्ज क्याम्पस दशेराका विद्यार्थी पनि एकैपटक परीक्षामा सहभागी हुन आउने गरेका छन् । दशेरामा प्रथम, दोस्रो र तेस्रो वर्ष गरी साढे ३ सय विद्यार्थी छन् । तर नियमित कलास लिनेको संख्या शून्य नै छ ।


त्यस्तै सदरमुकामको भेरी ज्ञानोदय क्याम्पस खलंगामा पनि भर्ना भएका मध्ये १० प्रतिशत विद्यार्थीमात्र नियमित आउने गरेका छन् । भेरी ज्ञानोदय क्याम्पसको तथ्यांकअनुसार विद्यार्थी संख्या पाँच सय छ । नियमित पढाइ गर्न आउने विद्यार्थी भने २५/३० जनामात्र भएको लेखापाल टेकजंग शाहले बताए ।


क्याम्पसहरूमा नियमित पढाइ नहुँदा र विद्यार्थीहरूले स्वयं पढाइलाई ध्यान नदिँदा उच्च तहको शैक्षिक गुणस्तर खस्किंदै गएको छ । जसा कारण उत्पादनशील जनशक्ति अभाव हुँदै गएको छ । चिटका भरमा परीक्षा उत्तीर्ण गर्ने परिपाटीले पनि यहाँको उच्च तहको जनशक्ति कमजोर बनेको हो । भौतिक पूर्वाधार, विषयगत शिक्षक, पुस्तकालय लगायतको अभावमा सञ्चालन भएका क्याम्पसले यस्तो नियति भोग्नु परेको हो ।


प्रतिविद्यार्थी वार्षिक आठ हजारदेखि १० हजारसम्म शुल्क अशुल्ने तर पढाइमा कडाइ नगर्ने प्रचलन बढेको नागरिक अगुवा केदारबहादुर शाहले बताए । गुणस्तरीय सिकाइ विनाका बेरोजगार जनशक्ति उत्पादन गर्नु जिल्लाको दुर्भाग्य भएको शाहले बताए । विद्यार्थी नियमित कक्षामा नआउने, भर्ना भएकाले बीचमै कक्षा छाड्ने र कति परीक्षामा सहभागी हुन आउदा घाटामा क्याम्पस सञ्चालन गर्नुपर्ने वाध्यता भएको प्रमुख पुनले बताए । विद्यार्थीको शुल्क बाहेक अन्य आर्थिक स्रोत कुनै पनि नभएको पुनको भनाइ छ ।


त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पस भए पनि विश्वविद्यालयबाट हालसम्म कुनैपनि सहयोग नपाएको उनले गुनासो गरे । फितलो परीक्षा प्रणालीका कारण पनि विद्यार्थी नियमित कक्षामा नआउने गरेको उनी बताउँछन् । जनप्रतिनिधि, कर्मचारीलगायत भर्ना हुने हुनाले नियमित आउनेको संख्या शून्य भएको उनले जानकारी दिए ।


‘स्नातकमा भर्ना भएका केही विद्यार्थीलाई कमाइ गर्न भारत जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘जनप्रतिनिधि त झन् नियमित आउने कुरै भएन ।’

प्रकाशित : फाल्गुन ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?