कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास अनुगमनमा जनप्रतिनिधि

‘अनुगमन हुँदा विकास–निर्माणले गति लिने, उपभोक्ता सचेत हुने देखियो’ 
कान्तिपुर संवाददाता

रुकुम पश्चिम — केही दिनअघि सानीभेरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितको टोलीले मेगा–चाख्लीमेला निर्माणाधीन सडक अनुगमन गर्‍यो । त्यहाँ निर्माणकार्यमा लापरबाही भएको देखिएपछि उक्त सडक फेरि बनाउन निर्देशन दियो ।

विकास अनुगमनमा जनप्रतिनिधि

पछिल्लो समय सानीभेरी गाउँपालिकाले विकास निर्माणकार्यको अनुगमन गर्दै लापरबाही भए कारबाही गर्ने कडा नीति अवलम्बन गर्न थालेको छ । ‘अनुगमन हुँदा विकास–निर्माणले गति लिने, उपभोक्ता सचेत हुने देखियो,’ गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने, ‘त्यसैले हामीले नियमित रूपमा अनुगमन गरी गल्ती गर्नेलाई कारबाही गर्ने, सच्चिन लगाउने गर्न थालेका छौं ।’ मेगा–चाख्लीमेला सडक ठाडो निर्माण भएको पाइएपछि डिजाइनअनुसार बनाउन निर्देशन दिइएको उनले बताए ।


गाउँपालिकाले वडा नं. ३, गोलडाँडामा अवस्थित बालकल्याण आधारभूत विद्यालयलाई पनि विद्यालय परिसरमा तारबार गर्न निर्देशन दिएको छ । खुला मैदानका कारण खेल्ने क्रममा बालबालिकालाई चोटपटक लाग्ने भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारलाई निर्देशन दिइएको गाउँपालिकाको भनाइ छ । ‘अनुगमनको क्रममा पोसाकबिनै विद्यालय आउने शिक्षकलाई पोसाकमा आउन निर्देशन दिएका छौं,’ अध्यक्ष पुनले भने ।


केही दिनदेखि नियमित अनुगमनमा रहेका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवालाले विकास निर्माण तथा अन्य क्षेत्रमा भइरहेका लापरबाहीमाथि कडाइ गरेका छन् । विकास निर्माणमा लापरबाही भएको, मापदण्डबिनै विकास निर्माण भइरहेको, विद्यालय, स्वास्थ्य चौकीजस्ता कार्यालयमा लापरबाही भइरहेको गुनासोका आधारमा गाउँपालिकाले अनुगमनलाई तीव्र बनाएको छ । जनप्रतिनिधिले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्ने गरेका छन् ।


अनुगमन गाउँपालिकाको नियमित कार्यक्रमभित्र परे पनि विशेष अवस्थामा पनि अनुगमन गर्ने गरिएको गाउँपालिकाको अनुगमन संयोजक तथा उपाध्यक्ष इन्दिरा ओलीले बताइन् । योजना निर्माण तथा कार्यान्वयनको अवस्था, भइरहेको प्रगतिका विषयमा पनि जानकारी लिन अनुगमन गर्ने गरेको र सल्लाह सुझाव दिएर कमजोरी सुधार्न भनिएको उनको भनाइ छ ।


‘अनुगमनका क्रममा कतै जानीजानी त कतै नजानेर पनि कमजोरी गरेको पाइएको छ,’ उनले भनिन्, ‘हामीले भइरहेका कामकाज पारदर्शी र प्रभावकारी गराउन पनि अनुगमन गर्ने गरेका छौं ।’ यस्तो अनुगमन नियमित रूपमा गर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?