कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले अलैंचीमा क्षति

हरि गौतम

रुकुम पश्चिम — हिमपातले त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकाका विभिन्न वडामा लगाइएको अलैंची खेतीमा क्षति पुर्‍याएको छ ।
अलैंची किसानका अनुसार गत माघ १२ गतेको हिमपातले झन्डै १ करोड मूल्यबराबरको अलैंची नष्ट गरेको हो ।

हिमपातले अलैंचीमा क्षति

त्यसपछि फेरि माघ २५ को हिमपातले थप क्षति पुर्‍याएको छ । त्रिवेणी गाउँपालिकाका चार वटा वडामा ५५ लाख ६० हजार र मुसीकोट नगरपालिकाको ९ र १० नम्बर वडामा मात्रै ६० लाख बढीको अलैंची नष्ट भएको छ । त्रिवेणी गाउँपालिकाका १, ३, ४ र ५ नम्बर वडामा लगाइएको अलैंचीमा हिउँले क्षति पुर्‍याएको हो ।


अलैंची पकेट क्षेत्रका रूपमा रहेका यी वडामा हिमपातले १ वर्षसम्म उत्पादन नदिने गरी क्षति पुर्‍याएको किसानले बताएका छन् । अघिल्लो वर्षबाट राम्रो उत्पादन लिएर आम्दानी गर्न थालेका किसान अलैंची खेतीमा क्षति पुर्‍याएपछि निराश छन् । हिमपातले फलै नलाग्ने गरी डाँठ भाँचिएको किसान सुन्दर ओलीले बताए । सबैभन्दा ठूलो क्षति वडा ४ मा भएको छ । वडाध्यक्ष चन्द्रबहादुर खड्काका अनुसार ४ नम्बर वडामा २६ लाख बराबरको अलैंचीमा क्षति पुगेको छ । यो वर्ष करिब ४० क्विन्टल अलैंची फल्ने लक्ष्य राखिएको थियो ।


उक्त परिमाणको अलैंचीको मूल्य २६ लाख रहेको अध्यक्ष खड्काले बताए । वडाका ८० घरपरिवारले लगाएको करिब ६५ हजार अलैंचीका बोटमध्येमा ५० हजार बोटमा क्षति पुगेको छ । वडाका दम्दु, खुम्चेरी, ज्यालंगा, कालिमाटी, थारेघर, भाल्दुला, छोटेकाडा, जुगेपानीमा अलैंची खेती गरिएको छ । यसैगरी वडा १ मा करिब १४ लाख बराबरको क्षति भएको छ ।


वडाका २५ घर परिवारले करिब ४० हजार अलैंचीका बोट लगाएकामा सबै क्षति पुगेको वडाध्यक्ष मोहनकिशोर ओलीले बताए । यो वर्ष करिब २१ क्विन्टल अलैंची उत्पादन हुने अपेक्षा गरिएको र यसको बजार मूल्य करिब १४ लाख हुन आउने उनको भनाइ छ । वडाका बग्रेखोला, चिसापानी, रिसम्जा खोला, किमगैरा, स्यानोखोलामा अलैंची लगाइएको थियो । वडा ५ मा १३ लाख बराबरको क्षति भएको छ । वडा ३ मा करिब साढे २ लाख रुपैयाँबराबर क्षति भएको छ ।


कुल्सिबाङ, सल्लेडारा र कुरलका किसानले अलैंची खेती गरेका छन् । मुसिकोट नगरपालिका ९ र १०, मा झन्डै ६० लाख मूल्य बराबरको अलैंची क्षति भएको गलमपाटीका जीवन केसीले जनाए । वडा १० कार्यालयले अलैंचीको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । वडासदस्य धनबहादुर खड्काले मौखिक रुपमा किसानले ६० लाख बढी मूल्यको अलैंचीमा क्षति पुगेको गुनासो गरेको बताए । ‘हामी क्षति विवरण संकलनको तयारीमै छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?