कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

व्यावसायिक तरकारीमा द्वन्द्वपीडित

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका १, गुराँसेका द्वन्द्वपीडित व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लागेका छन् । द्वन्द्वका बेला ठूलो क्षति व्यहोरेको गुराँसेका अधिकांश सर्वसाधारण व्यावसायिक खेतीमा लागेका हुन् । व्यावसायिक खेतीले स्थानीयको जीवनस्तर सुध्रँदै गएको छ ।

व्यावसायिक तरकारीमा द्वन्द्वपीडित

तरकारी तथा फलफूल खेतीबाट स्थानीयले वार्षिक दुईदेखि पाँच लाख रुपैयाँसम्म कमाउँदै आएका छन् । द्वन्द्वपीडितले आम्दानी गर्दै आएको रकमबाट सहज जीविकोपार्जन मात्र गरेका छैनन्, द्वन्द्वको समयमा क्षतिग्रस्त भएका संरचनाको मर्मतसमेत गरिरहेका छन् । अधिकांशको घर द्वन्द्वका समयमा भत्किएका थिए । साबिक शान्ति मन्त्रालय तथा जिल्ला कृषि कार्यालयबाट विभिन्न अनुदान सहयोग पाएपछि द्वन्द्वपीडितलाई तरकारी तथा फलफूल खेतीमा लाग्ने हौसला मिलेको हो ।


स्थानीय तेजबहादुर योगी तत्कालीन द्वन्द्वको समयमा माओवादी र नेपाली सेनाको आक्रमणबाट बच्न घर छाडेर भारत पसेका थिए । उनी शान्ति स्थापनापछि मात्र उनी गाउँ फर्किएका हुन् । अहिले उनले तरकारी र फलफूल खेतीमार्फत जीविकोपार्जन गरिरहेका छन् । ‘गाउँ फर्कंदा चारैतिर उराठलाग्दो देखिन्थ्यो, तर आफू जन्मेको गाउँको माया लागेर भारत फर्कन सकेन,’ उनले भने, ‘त्यसपछि गाउँमै बसेर तरकारी र फलफूल खेती गर्ने निर्णयमा पुगे । उनका अनुसार अहिले गाउँका अधिकांश द्वन्द्वपीडित तरकारी खेतीमा लागेका छन् । द्वन्द्वको पीडा बिर्साउन व्यावसायिक तरकारी र फलफूल खेतीले सहयोग पुर्‍याएको उनको भनाइ छ ।


सुरुमा तीन रोपनी जग्गामा तरकारी र ७० किबीका बोट लगाएका स्थानीय तेजबहादुर योगीले अहिले १५ रोपनी बढी जग्गामा किबी र स्याउ खेती गरिरहेको जानकारी दिए । उनले त्यही जग्गामा तरकारी उत्पादन गरेर ताजा तरकारी तथा बीउ बिक्री गर्दै आइरहेका छन् । फलफूल खेती गरेको जग्गामा तरकारी खेतीसमेत गर्न मिल्ने भएकाले बर्सेनि राम्रो आम्दानी गर्दै आइरहेको उनको भनाइ छ ।


‘तरकारी र फलफूल खेतीबाट पाएको सफलताले द्वन्द्वको पीडा बिर्साउन सहयोग पुर्‍याएको छ । गत वर्ष तरकारी र किबी बिक्री गरी ३ लाख बढी आम्दानी गरेको थिए,’ उनले भने, ‘यस वर्ष ४ लाख रुपैयाँ आम्दानी भयो, यसबाट सहज भएको छ ।’ स्थानीय किसानले तरकारीको बीउ कीर्तिपुर लगेर बिक्री गर्दै आइरहेका छन् । स्थानीय पोखरराज कुँवरले तरकारी बीउ उत्पादन र फलफूल खेतीमा लागेपछि भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जानुपर्ने बाध्यता हटेको बताए ।


द्वन्द्वको समयमा उनले बाबु गुमाएका उनले सात रोपनी जग्गामा किबी, स्याउ र बीउ उत्पादनका लागि तरकारी लगाउँदै आएका छन् । ‘जनयुद्धको समयमा कहिले माओवादी तथा कहिले नेपाली सेनाले सताउन थालेपछि लामो समय भारतका विभिन्न ठाउँमा बसेर काम गरे,’ उनले भने, ‘फलफूल तथा तरकारी खेतीमा लागेपछि छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र सदरमुकाममा घडेरी जोड्न सफल भएको छु ।’


साबिक जिल्ला कृषि विकास कार्यालयको सल्लाहमा सात रोपनी जग्गामा सुरुमा एक सय ६० किबीका बोट लगाएका स्थानीय हीरालाल योगीले बर्सेनि क्षेत्रफल बढाउँदै लगेको जानकारी दिए । एउटै बोटले ५० वर्ष बढीसम्म उत्पादन दिने भएकाले खाद्यबाली लगाउन छाडेर फलफूल खेतीमा लागेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?