अँध्यारोमै अन्तिम बस्ती

कान्तिपुर संवाददाता

(कञ्चनपुर) — महाकाली नगरपालिका–१० कुतियाकवरमा विद्युत् लाइनका लागि पोल गाडेको ३ वर्षभन्दा बढी भयो । विद्युत् सेवा भने अझै पुग्न सकेको छैन । स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचका बेला कुतियाकवरका बासिन्दाले मत माग्दै आउने उमेदवारसँग विद्युत्कै माग गरेका थिए । 

कञ्चनपुरको माहाकाली नगरपालिका–१० कुतियाकवरमा ३ वर्षअघि गाडिएका विद्युत् पोल । तस्बिर : भवानी/कान्तिपुरभवानी भट्ट

स्थानीय तहका उमेदवारहरूले एक वर्षमै विद्युत् सेवा उपलब्ध गराउने बाचा गरे पनि पूरा नगरेका हुन् ।

Citizen


‘चुनाव भएको पनि एक/डेढ वर्षभन्दा बढी भइसक्यो तर हाम्रो गाउँमा बिजुली बलेन,’ कुतियाकवरकी स्थानीय वसन्ती सुनारले भनिन्, ‘वडाध्यक्षदेखि नगर प्रमुख सबैले पहल गरिरहेका छौं भन्छन् तर यहाँ पोल गाड्ने काम बाहेक अरू केही भएको छैन ।’ उनका अनुसार विद्युत् लाइनका लागि स्थानीय तहको चुनावअघि नै यहां पोल गाडिएका हुन् । महाकाली नदीपारिका साबिकका दोधारा र चाँदनी गाविस गाभेर महाकाली नगरपालिका बनेको हो । कुतियाकवरलाई महाकाली नदीको नेपालतर्फको अन्तिम बस्ती मानिन्छ ।

वसन्तीले नगर प्रमुख र उपप्रमुखसहित सहभागी भएको एक कार्यक्रममा विद्युत् सेवाबारे आफ्नो गुनासो राखेकी हुन् । अझै कति समय लाग्ने हो भनेर नगर प्रमुख वीरबहादुर सुनारसमक्ष उनले जिज्ञासा राखेकी थिइन् ।

तीनतिर नदी र एकातिर सीमा रहेको कुतियाकवरमा ३६ परिवारको बसोबास छ । अधिकांश दलित र विपन्नकै बसोबास रहेको यहाँका युवाहरू रोजगारीका लागि भारत पसेका छन् । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका विवाद र समस्या हुँदा यहाँको बस्ती पूरै त्रसित हुन्छ । कहिलेकाहीं भारतीय गुण्डाहरू राति आएर विवाद गर्ने हुँदा विद्युत् सेवा सुरक्षाका लागि पनि अनिवार्य भएको उनीहरू बताउँछन् ।

‘अहिलेको जमानामा पनि हामी अन्धकारमा बसेका छौं,’ स्थानीय महिलाहरूले गठन गरेको विकासनगर महिला सशक्तीकरण समूहकी अध्यक्ष रीतु सिजापतिले भनिन्, ‘राति केही हुँदा होस् वा सीमाका समस्या हुँदा होस् हामीले अँध्यारोमै हिँड्नुपर्छ ।’ उनका अनुसार अहिले पनि मैनबत्ती र टुकीको भरमा उज्यालो बनाउनुपरेको छ । केही परिवारले सानो खालको सोलार लगाएका छन् । विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत जोगबुडा वारिको बस्तीमा आउनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् । कुटानी पिसानीका लागि पनि यहाँका स्थानीय जोगबुडावारि आउने गर्छन् ।

कतिपय सीमावर्ती भारतीय बस्तीतर्फ पनि जाने गरेका छन् । महाकाली नगरपालिकाले पनि गत आर्थिक वर्षमै सबै वडामा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले ट्रान्सफर्मर खरिदका लागि डेढ करोड बजेट छुट्याएको थियो । सबै वडामा आवश्यकताअनुसार ट्रान्सफर्मर पनि खरिद भइसकेको छ । तर कुतियाकवरमा अझै पनि विद्युत् लाइन तानिएको छैन । ‘हामीले कुतियाकवरमा विद्युत् सेवा विस्तारका लागि लाग्ने सबै खर्च छुट्याएका छौं,’ नगर प्रमुख सुनारले भने, ‘अब विद्युत् प्राधिकरणको महेन्द्रनगर कार्यालयले लाइन तान्न मात्र बाँकी छ, हामीले पहल गरिरहेकै छौं ।’ उनले यो आर्थिक वर्षभित्रै विद्युत् सेवा उपलब्ध गराउने बताए ।

बाटोकै अभाव
कुतियाकवरमा विद्युत् मात्रै होइन बाटोघाटोको पनि अभाव छ । दशगजामै रहेको बाटोका कारण विभिन्न पटक भारतीय सुरक्षाकर्मीहरूले दुःख दिने गरेको स्थानीय बताउँछन् । बाटो निर्माणका लागि पनि यहाँका स्थानीयले माग गरेका छन् । महिला सशक्तीकरण समूहले बाटो निर्माणका लागि १ वर्षअघि नगरप्रमुखलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

‘हामीहरूले आफ्नै जमिनमा बाटो बनाइदिन आग्रह गरेका छौं,’ अध्यक्ष सिजापतिले भनिन्, ‘नगर प्रमुखले पनि बाटो खोल्ने आश्वासन दिनुभएको छ तर अझै काम सुरु भएको छैन ।’ जोगबुडा र महाकाली नदीले घेरिएको यहाँको बस्ती बर्खामा डुबान र कटानको उच्च जोखिममा हुन्छ । जोगबुडा नदीमा अहिले पनि पानी धेरै भएकाले यहाँबाट निर्माण सामग्री तथा साधनहरू लैजान सकिने अवस्था छैन । कुतियाकवर बस्ती जोगाउन प्रदेश सरकारबाट जोगबुडा नदीमा तटबन्ध निर्माणको बजेट आएको छ । तर भारतीय पक्षले शारदा नहरको पानी यही नदीमा छाड्दा काम गर्न सकिने अवस्था नरहेको नगरप्रमुख सुनारले बताए । प्रदेश सरकारले यहाँ तटबन्ध निर्माणका लागि ३५ लाख बजेट छुट्याएको छ ।

प्रकाशित : चैत्र १, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रहरी सक्रियतामा रोकियो बालविवाह

कान्तिपुर संवाददाता

(सल्यान) — प्रहरीले खैराबाङ मन्दिरमा हुँदै गरेको बालविवाह रोकेको छ । प्रहरीका अनुसार शारदा नगरपालिका–२, मेलघारीका २० वर्षीय खुमबहादुर ओलीसँग १५ वर्षीयाको विवाह रोकिएको हो । 

प्रहरी नियन्त्रणमा रहेको बालविवाहमा प्रयोग भएको जिप तस्बिर : विप्लव महर्जन /कान्तिपुर 

बालविवाह गर्न खोज्ने ओली, उनकी आमा ३८ वर्षीया दुजी र बालिका प्रहरी नियन्त्रणमा छन् । प्रहरीले सोधपुछका लागि मन्दिरका पुजारीलाई समेत कार्यालयमा ल्याइएको छ । गोप्य सूचनाका आधारमा विवाह टोली पछ्याउँदै मन्दिरमै पुगेर विवाह रोकेको डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनीहरूलाई बाल विवाह उद्योगको आरोपमा देवानी तथा फौजदारी संहिता, २०७४ अनुसार कारबाही गरिनेछ । उनका अनुसार जन्तीलाई केही समय नियन्त्रणमा लिई छाडिएको छ । विवाहको टोली बोकेको गाडीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कानुन अनुसार बालविवाह गर्ने/गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । प्रहरी निरीक्षक गिरिराज भण्डारीले विगतमा बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको पनि अबदेखि कारबाही गरिने जनाए । उनका अनुसार बालविवाह गर्नेमाथि कारबाही भएको यो पहिलो घटना हो । तथ्यांकअनुसार जिल्लामा ७० प्रतिशत बालबालिकाले विबाह गर्दै आएका छन् । जनचेतनाको अभाव र मोबाइलमा बढेको विकृतिका कारण बालविवाह बढ्दै गएको प्रहरी निरीक्षक भण्डारीले जनाए ।

पुजारी दिनबन्धु शर्माले बालिकाले २१ वर्ष पूरा भएको बताएपछि विवाह गराउन आफू तयार भएको बताएका छन् । वडा २ का अध्यक्ष केशवसिंह श्रेष्ठले आफूले नै मन्दिरका पुजारी र प्रहरीलाई खबर गरी बालविवाह रोक्न लगाएको बताए ।

प्रकाशित : चैत्र १, २०७५ ११:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT