रित्तियो खाद्य गोदाम

राजबहादुर शाही

मुगु — जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदाम रित्तिएको छ । हिमपातका कारण दुई महिनासम्म नाग्मा–गमगढी सडक बन्द भएपछि खाद्य संस्थानको चामल सकिएको हो । 

सडक एक साताअघि सुचारु भए पनि ढुवानी नहुँदा चामलको मौज्जात सकिएको संस्थानले जनाएको छ । सडक अबरुद्ध हुँदा सदरमुकाममा समेत विभिन्न दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । सुर्खेत, नेपालगन्ज र बर्दियाको राजापुरबाट ढुवानी हुनुपर्ने चामल नभएपछि समस्या भएको संस्थानको शाखा कार्यालयले जनाएको छ । चामल लिन गाउँबाट सदरमुकाम आएका स्थानीय रित्तो हात फर्कन बाध्य छन् ।

चामलले टनाटन भरिने खाद्य गोदाम रित्तिए पछि उपभोक्ता चिन्तित बनेका छन् । चामल लिन बसेका स्थानीयबासी रित्तो हात फर्कन बाध्य भएका हुन् । खाद्यमा चामल नभएपछि गमगढी बजारमा गहँगोमा किनेर उपभोग गर्नुपरेको स्थानीयको गुनासो छ । संस्थानका दुई ठूला गोदाम रित्तिएको निमित्त शाखा प्रमुख पुष्कर भामले बताए ।

उनका अनुसार एउटा गोदाम पुरैरित्तो र अर्कोमा करिव १२ सय क्विन्टल जापानीज चामल मात्र छ । ‘त्यो चामल प्रायः खपत हुदैन, अरु चामल सकिएपछि गोदाम रित्तिएका छन्,’ उनले भने, ‘लामो सडक अवरुद्ध हुँदा समस्या भएको हो, माथिल्ला निकायमा तत्काल चामल माग गरिएको छ ।’ सडक सुचारु भइसकेकाले केही दिनभित्रै चामल आइपुग्ने उनले जानकारी दिए । उनका अनुसार लामो समय खाद्य गोदाम रित्तिएको योपटक हो ।

जिल्ला सदरमुकामकै खाद्य गोदाम रित्तिएपछि ग्रामीण क्षेत्रका डिपोमा चामल ढुवानी बन्द भएको छ । सोरुकोट, पुलू, हुम्लाको सर्केगार्ड र कालै खाद्य डिपोमा जिल्ला सदरमुकामबाटै चामल ढुवानी हुने गरेको छ । खाद्य गोदाममा चामल सकिएपछि एसईई परीक्षा दिने विद्यार्थी मर्कामा परेका छन् ।

यसअघि सदरमुकाम र आसपासका केन्द्रबाट परीक्षा दिने विद्यार्थीले खाद्यको चामल उपभोग गर्थे । चालु आर्थिक वर्षमा १० हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको थियो । त्यसमध्ये पाँच हजार ६ सय क्विन्टल ढुवानी भइसकेको छ । निमित्त प्रमुख भामले चार हजार चार सय क्विन्टल चामल ढुवानी हुन बाँकी रहेको जनाए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

चुरे क्षेत्रमा पानीकै पिरलो

पानीको दुःखले कैलालीका खैराला, पण्डौन, सहजपुर, सुगरखाल, निगाली र गोदावरीलगायत पहाडी क्षेत्रका केही बस्ती सरेका छन् 
मोहन बुढाऐर

धनगढी — कैलालीको चुरे भावर क्षेत्रमा खानेपानीका मूल सुक्दै गएका छन । भएका कतिपय धाराहरूमा पानी आउदैन । पुराना नौला र कुवामा पानी सुकेर बस्ती काकाकुल बन्दै गएका छन । मूल सुक्दै गएपछि करोडौं खर्चेर निर्माण गरिएका खानेपानी योजना अलपत्र परेका छन् ।

कैलालीको बुढीतोलामा आकासे–पानी संकलन गर्न राखिएको घैंटो । तस्बिर : मोहन/कान्तिपुर

‘चुरे र भावरका बस्तीमा ग्राभिटी सिस्टमबाट सञ्चालित पुराना खानेपानीका योजनाका स्रोत सुकेका छन्,’ कैलालीस्थित खानेपानी डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहन कुँवरले भने, ‘राज्यको लगानी मात्रै खेर गएको छ ।’ पानीको रिचार्जमा कमी आएर मूल सुक्दै गएका छन् । वन विनाश, वर्षात्मा अनुकूल पानी नपरेर तथा चुरे क्षेत्रमा भएका भौतिक पूर्वाधार निर्माणका कारण चुरेको पानी रिचार्ज क्षेत्र खुम्चिएको इन्जिनियर कुवरले बताए । पछिल्लो समय ग्राभिटी सिस्टमबाट सञ्चालित हुने योजनाको मूल सुक्ने समस्याले डिप बोरिङका योजना सञ्चालनमा छन ।

चुरे गाउँपालिका ३ मा रहेको फल्लेबिसौना खानेपानी योजनाको मूल सुकेको छ । अघिल्लो बर्ष ३० लाखको उक्त योजनाबाट ३५ धारा सञ्चालनमा ल्याइएका थिए । यो वर्ष मूलमा पानी सुकेर योजना अलपत्र परेको छ । यस्तै एशियाली बिकास बैंकको सहयोगमा निर्माण सम्पन्न गाजरी खानेपानी योजनाको पनि मूल सुकेको छ । अहिले जमिनबाट पानी तानेर ओभरहेड टंकीबाट खानेपानी योजना पुनः सञ्चालनको तयारी भइरहेको छ ।

यस्तै चुरे गाउँपालिका भित्रका ४ वटा अन्य योजनामा समेत पानीको मूल सुकेको छ । एउटा गाउँको मूल सुकेपछि अर्को मूलबाट पाइप तानेर खानेपानीको व्यवस्था गर्दै जाँदा पनि सबै मूलहरू सुक्दै गएका छन् । चुरेमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाका बस्तीमा खानेपानीको समस्या सबैभन्दा बढी देखिएको छ । यहाँका कयौं गाउँका बासिन्दाले घण्टौं दूरीबाट पानी खानुपरेको छ ।

पानीका दुखले चुरेका केही बस्ती विस्थापितसमेत भएका छन् । खैराला, पण्डौन, सहजपुर, सुगरखाल, निगाली, गोदावरीलगायत पहाडी क्षेत्रका दुर्गम बस्तीका केही बस्ती नै अन्यत्र सरेका छन् । गोदावरीको वडा नम्बर ११, १२, गौरीगंगा, घोडाघोडी, बर्दगोरिया र लम्की चुहा नगरपालिकाका चुरे घाडीघाँचका बस्तीमा पनि खानेपानीको समस्या टड्कारो छ ।

गोदावरीको वडा १२ को माथिल्लो क्षेत्रका स्थानीय मछलीखोलाको पानी पिउन बाध्य छन् । वडा ११ बांगेसालका बासिन्दावर्षौंदेखि कुवाको पानी पिउँछन् । गर्मी मौसम सुरु भएपछि कुवाँको पानी पनि सुक्छ । बस्ती काकाकुल हुन्छ । पानी मागेर खानुपर्छ ।

‘बस्तीभरि दर्जन कुवा छन् । आफुले पिउँदै गरेको कुवाँको पानी सुके अर्कोको कुवाबाट पानी मागेर खानुपर्ने बाध्यता छ,’ गोदावरी ११ का वडाध्यक्ष शिवबहादुर बिकले भने । उनका अनुसार गोदावरीको ओलानीमा पानीको बर्षौ देखिको पीडा यथावत् छ । ‘स्थानीय तहको निर्वाचन पछि वडामा डिप बोरिङबाट खानेपानी योजना लागु भएको छ,’ उनले भने, ‘योजना पुरा नभएकाले अझै खानेपानीको समस्या टरेको छैन ।’ गोदावरीका हरैया, खैरनी, कोडेगाउँ, मगरटोल र टेकुवा बस्तीमा पनि पानीको उस्तै समस्या छ । ‘यहाँका हेन्डपम्पबाट पानी आउन छोड्यो,’ स्थानिय पार्वती महराले भनिन् ।

इन्जिनियर कुँवरले चुरेका केहि बस्तीमा खानेंपानी आयोजना सञ्चालन गर्न सम्भव नभएको बताए । ‘बस्तीबाट धेरै टाढा मुल भेटिन्छन,’ उनले भने, ‘त्यस्ता मुलबाट पानी लैजान राज्यको ठुलो लगानी चाहिन्छ । तर बस्तीमा ८/१० घर माक्रै छन् । त्यसैले राज्यले बस्ती हस्तान्तरण कार्यत्रम गर्दा उपयुक्त हुन्छ ।’

कैलालीमा शुद्ध खानेपानीको पहुँच २० प्रतिशत जनतामा पुगेको छ । जिल्लाका ९८ प्रतिशतले परम्परागत स्रोतको पानी पिउन बाध्य छन । दुई प्रतिशत पानीको पहुँचबाट अझै टाढा छन । इन्जिनियर कुवँरले धनगढी, अत्तरिया, भजनी, सुख्खड, टिकापुर लगायतका स्थानिय बजारमा ओभरहेड टंकी भएकोले यहाँको जनसंख्यालाई आधार मानेर २० प्रतिशत जतिलाई मात्रै शुद्ध खानेपानी पुगेको बताए ।

अन्य क्षेत्रकाले परम्परागत ढंगले पिउँदै आएको पानीको पहुँचका आधारमा ९८ प्रतिशत भनिएको उनी बताउँछन । उनले जिल्लाको कुल जनसंख्यामा २ प्रतिशत चुरे पहाडका फाट्टफुट्ट बासिन्दा पानीको पहुँचमा नभएको बताए । ‘यद्यपि अहिले चुरे क्षेत्रमा पानीको रिर्चाज घटेर पानीको हाकाकार छ,’ उनले भने ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्