कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खस्कँदै शैक्षिक गुणस्तर

भीमबहादुर सिंह

जाजरकोट — जिल्लाका करिब ८५ प्रतिशत विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा शैक्षिक गुणस्तर खस्कँदै गइरहेको छ  । शिक्षक दरबन्दी, दक्ष शिक्षक, भौतिक पूर्वाधार, अनुगमन तथा निरीक्षण, नियमित पठनपाठन नहुने समस्याका कारण अधिकांश विद्यालयको शैक्षिक गुणस्तर खस्केको हो  ।

शिक्षक दरबन्दी अभाव, तालिम प्राप्त तथा दक्ष शिक्षकको कमी, शिक्षकको अनियमितता, अनुगमन तथा निरीक्षणको कमीलगायत समस्या यहाँका अधिकांश विद्यालयमा छ । जिल्लाका अधिकांश विद्यालयले विद्यालय भवन, शौचालय, खानेपानी, खेल मैदान, कम्पाउन्ड वाल, फर्निचर, पुस्तकालयलगायत पूर्वाधार अभाव झेलिरहेका छन् । अधिकांश विद्यालयमा कक्षाकोठाकै अभाव छ ।

शिक्षक अभाव र सञ्चालनको आर्थिक स्रोत नहुँदा अधिकांश विद्यालयमा कम्युटर शिक्षा अलपत्र परेको छ । जिल्लाभर शिक्षक(विद्यार्थी अनुपात अनुसार आठ सय ७० शिक्षक अपुग रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । इकाईका अनुसार शिक्षा विभागले प्रतिविद्यार्थी अनुदान रकम (पिसीएफ) कटौती गरेपछि शून्य दरबन्दी विद्यालयका विद्यार्थीको पढाइ अलपत्र परेको छ । पिसीएफ कटौतीले करिव २० हजार विद्यार्थी सिकाइबाट वञ्चित भएका छन् ।


जिल्लाभरको शिक्षा विकासका लागि सञ्चालित शिक्षा विकास तथा समन्वय इकाइ लामो समयदेखि एक प्रमुख र एक जना प्राविधिक सहायकको भरमा छ । स्थानीय तहको शिक्षा युवा तथा खेलकुद शाखाले समेत कर्मचारी समस्या झेल्दै आइरहेका छन् । जिल्लाका सात स्थानीय तहमध्ये भेरी नगरपालिका र शिवालय गाउँपालिकामा शिक्षाका कर्मचारीको संख्या शून्य छ । अन्य तहमा एक/दुई जना मात्र कर्मचारीले काम चलाइरहेका छन् ।


इकाइ प्रमुख सुधिनराज बुढाथोकीका अनुसार शिक्षकलाई प्राविधिक सहयोग नपुग्ने परम्परागत प्रणालीको अनुगमनले शैक्षिक गुणस्तर सुधारमा खासै प्रभाव पार्न सकेको छैन । ‘शिक्षा विकास तथा समन्वय इकाइ नै बलियो छैन,’ उनले झने, ‘जनशक्ति र कार्यत्रम अभावमा शिक्षा क्षेत्रको जिल्लास्तरमा रहेको कार्यालय कमजोर बन्दा शैक्षिक सुधारमा समेत समस्या आइरहेको छ ।’

स्थानीय तहमा भएका एक/दुई कर्मचारीलाई समेत जनप्रतिनिधिको दबाब थेग्न नसक्दा काम गर्न समस्या भएको बुढाथोकी बताउँछन् । उनका अनुसार शिक्षाका कर्मचारी जनप्रतिनिधि रिझाउन मात्र कार्यरत छन् । आवश्यकताभन्दा पहुँचको भरमा शिक्षण अनुदान तथा पूर्वाधार निर्माण हुने गरेकाले जिल्लाभरको शैक्षिक गुणस्तर सन्तोषजनक नभएको उनको भनाइ छ । जिल्लाका चार सय ३३ विद्यालयमा ६८ हजार विद्यार्थी अध्ययनरत छन् ।

माविमा दुई सय र आधारभूत तहमा ६ सय ७४ शिक्षक अपुग रहेको इकाइले जनाएको छ । इकाइका अनुसार जिल्लाका करिब २० हजार विद्यार्थी शिक्षण सिकाइबिना नै पढाइ गर्न बाध्य छन् । दरबन्दी अभावमा जाजरकोटमा विद्यार्थी शिक्षक अनुपात उच्च रहेको छ । जसो परिणाम शैक्षिक गुणस्तर वृद्धिमा समस्या आएको छ । शिक्षक विद्यार्थी अनुपातमा भक्तपुरमा प्रतिशिक्षक ९ विद्यार्थी, ललितपुर/काठमाडौंमा प्रतिशिक्षक ११ जना विद्यार्थी र मनाङमा १ शिक्षकलाई ७ विद्यार्थीर् भाग पर्ने गरेका छन् तर जाजरकोटमा भने प्रतिशिक्षक ६० विद्यार्थी अनुपात रहेको बुढाथोकी बताउँछन् । मावि तहमा प्रतिशिक्षक ८० विद्यार्थी अनुपात रहेको उनले बताए । ‘यो अनुपात उच्च हो,’ बुढाथोकीले भने ।


जिल्लामा एक हजार ३ सय ६५ शिक्षक कार्यरत छन् । जिल्लाका प्राविदेखि माविमा ८ सय २३ दरबन्दी र ५ सय ४५ राहत तथा अनुदान शिक्षक रहेको इकाइले जनाएको छ । अधिकांश विद्यालय निजीस्तरका शिक्षकको भरमा सञ्चालन हुने गरेका छन् । निजी शिक्षकलाई तलब खुवाउन अभिभावक अर्थिक भार बोक्न बाध्य छन् । जाजरकोटका दुई सय २७ विद्यालयका दुई सय ५० शिक्षकका लागि निकासा हुने पिसिएफ रकम आउन बन्द हुँदा पठनपाठन प्रभावित बनेको हो । विभागले २६ माध्यमिक, दुई सय १० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ ।


स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान रकम कटौती हुँदा विद्यार्थीको पढाइ अलपत्र परेको विद्यालय निरीक्षक मानबहादुर गिरी बताउँछन् । ‘विगत शैक्षिक सत्रमा पिसीएफ शीर्षकमा निकासा हुने रकमबाटै पारिश्रमिक खानेगरी विभिन्न तहमा शिक्षक नियुक्त भएका थिए, उनीहरूकै भरमा विद्यालयको पठनपाठन सञ्चालन हुने गरेको थियो,’ उनले भने, ‘पिसीएफ अनुदान नै कटौती भएपछि बिनापारिश्रमिक शिक्षकले पढाउने कुरा भएन । यसका कारण विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् ।’ उनका अनुसार शिक्षक दरबन्दी अभाव भएकाले निजी शिक्षकको भरमा मात्र विद्यालयमा गुणस्तरीय पठनपाठन असम्भव छ । विभागले प्राथमिकदेखि माध्यमिक तहका प्रति विद्यालयलाई ५० हजारदेखि तीन लाखसम्म अनुदान निकासा दिँदै आएको थियो । आर्थिक स्रोतको अभावमा विद्यालय बन्द तथा समायोजन गर्नुको विकल्प नभएको गिरीले जनाए ।

प्रकाशित : चैत्र १८, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?