कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले आउँछ भत्ता ?

'बजेट निकासा नहुँदा हामीले गाली खानुपरेको छ, रकम निकासा भएपछि घरदैलोमै पुगेर वितरण गर्ने योजना छ’ 
राजबहादुर शाही

मुगु — छायानाथ–रारा नगरपालिका ९ मुर्माका ८० वर्षीय टाइके रोकायाले कार्तिकदेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । सुरक्षा भत्ता नपाउँदा आर्थिक स्थिति कमजोर भएका उनलाई छाक टार्न मुस्किल भएको छ । उनकै छिमेकी ७० वर्षीय गोरचन्द रोकाया भत्ता पाउने आशाले दुई पटक नगरपालिका पुगे, तर निकासा नहुँदा रित्तो हात फर्कन बाध्य भए । 

कहिले आउँछ भत्ता ?

यी दुई मात्र होइनन्, नगरपालिकाको १४ वडाका स्थानीयबासी लामो समयदेखि सुरक्षा भत्ता नपाउँदा आर्थिक समस्यामा परेका छन् । नगरपालिकाले कार्तिकदेखि सुरक्षा भत्ता वितरण गरेको छैन । चौमासिक रुपमा वितरण गरिदै आएको भत्ता ६ महिनादेखि रोकिएपछि विपन्न नागरिक समस्यामा परेका हुन् । नगरपालिकाले जेष्ठ नागरिक, अपांग, एकल महिला लगायतलाई सुरक्षा भत्ता वितरण गर्न सकेको छैन ।


ग्रामीण क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक सुरक्षा भत्ताकै भरमा जीवनयापन गर्न बाध्य छन् । सरकारले ६० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई एक हजार, ७० बर्ष पुगेकालाई दुई हजार पूर्ण अपांगता भएकालाई दुई हजार, आंशिक अपांगलाई ६ सय र एकल महिलालाई एक रुपैयाँ उपलव्ध गराउँदै आएको छ । सुरक्षा भत्ताबाट प्राप्त हुने रकमले विभिन्न खर्च टार्ने गरे पनि लामो समयदेखि भत्ता नआउँदा समस्या भएको रोकायाले बताए । सरकारले बैकिङ कारोबारमार्फत भत्ता उपलब्ध गराउने भने पनि जिल्लामा अझै कार्यान्वयन भएको छैन ।


लक्षित वर्गका व्यक्तिहरू दैनिकजसो भत्ता माग गर्न आउने गरेको भए पनि माथिबाटै निकासा नहुँदा रित्तो हात फर्काउन बाध्य भएको वडा नं १० का अध्यक्ष धर्मदत्त सावतले बताए । ‘बजेट निकासा नहुँदा हामीले गाली खानुपरेको छ,’ वडाध्यक्ष सावतले भने, ‘रकम निकासा भएपछि घरदैलोमै पुगेर वितरण गर्ने योजना छ ।’


वडा कार्यालयले समयमै कागजपत्र नगरपालिकामा पेस गर्न नसक्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट बजेट निकासा हुन नसकेको जनप्रतिनिधिको भनाइ छ । प्रत्येक चौमासिकको मसान्तमा भत्ता वितरण गरेको भर्पाइ नगरमा पेस गर्नुपर्ने भए पनि वडाको ढिलाइले समस्या भएको हो । नयाँ प्रविधिअनुसार सामाजिक सुरक्षा भत्ता प्रदान गर्न काम भइरहेको नगर पञ्जीकरण अधिकारी जिल्लासिंह सावतले बताए ।

वडा तहदेखि नै कर्मचारी अभाव भएकाले समयमै भर्पाइ नगरमा बुझाउन नसकिएको वडाध्यक्षको भनाइ छ । १४ वडाको काम चार जना सचिवले गर्दै आइरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत तीर्थ भट्टराई र लेखा अधिकृतको सरुवा भए पनि उनीहरूको स्थानमा कसैलाई नपठाइँदा समस्या भएको जनप्रतिनिधिको गुनासो छ ।


नगर प्रमुख हरिजंग शाहीले भत्ता पाउने व्यक्तिको विवरण मन्त्रालयमा पठाइसकिएको बताए । मन्त्रालयले स्थानीय तहमा बजेट निकासा गर्ने र कर्मचारीले घरदैलोमा पुगेर वितरण गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १९, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?