कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकाेटमा युवा संसद्– 'पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाऊँ’

तुलाराम पाण्डे

कालीकोट — संसद् भवनको झल्को दिनेगरी यहाँका युवाले विकास निर्माणलगायत सामाजिक अभियानमा स्थानीय सरकार चुकेको भन्दै विशेष ध्यानाकर्षणसहित संसद्को अभ्यास गरेका छन् । जिसस सभाकक्षमा युवा संसद्को आयोजना गरिएको हो । 

कालीकाेटमा युवा संसद्– 'पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाऊँ’

जिल्ला युवा समिति संयोजनमा भएको नमुना संसद्मा विशेष समय लिएर बोल्दै ललित मल्लले युद्ध पर्यटकीय क्षेत्र पिलीको विकास र संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराए । ‘पिलीले भोगेको भौतिक र मानवीय क्षति र उपलब्धि भावीपुस्तालाई शिक्षा दिन युद्ध पर्यटकीय क्षेत्र बनाइनु जरुरी छ,’ २१ वर्षीय मल्लले भने, ‘सरकारी प्रतिबद्धता नारा र भाषणमा सीमित भयो ।’ युवाले सदरमुकाम मान्मनजिक खाडाचक्रमा विमानस्थलको आवश्यकता रहेको औंल्याए ।

महिला हिंसा र लैंगिक विभेदले समाजमा महिला प्रताडित भएको गुनासो गर्दै भविका देवकोटाले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले कालीकोटका युवाले लाभ पाउन नसकेको तर्क राखिन् । ‘प्रधानमन्क्री आधुनिक कृषि कार्यत्रमको नाममात्र सुन्न पाइयो,’ खाडाचक्रकी देवकोटाले भनिन्, ‘युवा कृषकले सुविधा कहिले पाउने ?’

संसद्को जिम्मेवारी पाएका यहाँका युवायुवतीले कालीकोटका युवाले भोगेका बेरोजगारी समस्या, जातीय विभेद, छाउपडी प्रथा, बालविवाह, बालश्रम, गुणस्तीय शिक्षाको अभाव, कर्णाली राजमार्गको बेहालका विषयवस्तु उठाए । ‘संविधानको धारा २४ ले जातीय विभेदको अन्त्यको ग्यारेन्टी गरेको छ,’ परेक नेपालीले भने, ‘कालीकोटमा जातीय छुवाछूतले दलित समुदायले अपमानित हुनु परेको छ ।’ उनले जातीय विभेद अन्त्य गर्न सहभोज, चेतनामूलक अभियान सञ्चालन गर्न माग गरे ।

सोविना विश्वकर्माले सभामुख बनेर कार्यक्रम सञ्चालन गरेकी थिइन् । युवा प्रधानमन्त्रीका रूपमा परेकबहादुर शाहीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा सरकारले लगानी वृद्धि गरेको चर्चा गर्दै सकारात्मक सोचको खाँचो रहेको बताए । युवा अर्थमन्त्रीको भूमिकामा रहेका स्वदेश शाहीले युवा नीति र कार्यक्रम पनि संसद्मा पेस गरे ।

संसद्को अभिलेख राख्ने महासचिवका रूपमा गौरी मल्ल थिइन् । कालीकोटका २० देखि ३० वर्षसम्मका युवा कोही सांसद, कोही मन्त्री, कोही प्रधानमन्त्री बनेर संसद्को अभ्यास गर्दा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश सांसद कुर्मराज शाहीले युवाको नेतृत्व विकासका लागि नमुना संसद् उपयोगी हुने धारणा राखे ।

प्रकाशित : चैत्र २९, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?