कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुध्रँदै अस्पतालको सेवा

तुलाराम पाण्डे

कालिकोट — एक वर्षअघि प्रसूति व्यथा लागेकी खाडाचक्र १ की ३० वर्षीया चन्दा शाहको ज्यान गएपछि अवरुद्ध भएको शल्यक्रियासहितका स्वास्थ्य सेवा सुचारु भएको छ । प्रसूति गराउने क्रममा शाहको ज्यान गएपछि स्थानीयले जिल्ला अस्पताल र प्रशासन तोडफोड गर्दै चिकित्सकविरुद्ध नारावाजी गरेपछि अवरुद्ध शल्यक्रिया सेवा साउनदेखि सुचारु भएको थियो ।

सुध्रँदै अस्पतालको सेवा

असुरक्षाको कारण देखाउँदै चिकित्सकले गत वर्षको पुसमा अनिश्चतकालीन शल्यक्रियासहितका सेवा बन्द गरेका थिए । काठमाडौबाट डा. विज्ञान प्रजापतिको नेतृत्वमा टिम आएपछि गत साउनदेखि सीएस (पेट चिरेर बच्चा निकाल्ने) शल्यक्रिया सुरु गरेका हुन् ।


दरवन्दी अनुसारका स्वास्थ्यकर्मी, उपकरण र विद्युतको अभाव खेप्दै आएको जिल्ला अस्पतालले पछिल्लो चरणमा उपचार गर्ने पर्याप्त ठाउँको पनि समस्या भोगिरहेको छ । ‘समस्या त थुप्रै छन्,’ कालीकोटको महाबै घर भएका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. भिष्म पोखरेलले भने, ‘भएको जनशक्ति, उपकरण र स्थानबाटै सुधारको प्रयास गरेका छौ ।’ उनले एक्सरे मेसिन, एम्बुलेन्स, पर्याप्त जनशक्ति र औषधी नहुँदा पनि व्यवस्थापन गरेर सेवा दिइरहेको दावी गरे ।


जिल्ला अस्पतालले साउन यता मात्र ६० वटा मेजर अप्रेशन गर्न सफल भएको सुनाउदै डा. पोखरेलले अभावबीच पनि सेवालाई प्रभावकारी बनाइएको बताए । अस्पतालका अनुसार १५ शैय्या क्षमता भएको जिल्ला अस्पतालमा साउनयता आठ सय ९९ जना विरामीलाई भर्ना गरिएको छ भने एक हजार ९ सय २७ जना विरामीको उपचार गरिएको छ ।


त्यस्तै ११ हजार आठ सय २९ जना विरामीलाई बहिरंग सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जटिल प्रसूती समस्या रहेका ३० जना महिलाको अप्रेशन गरिएको र दुई सय ७४ जनालाई सामान्य प्रसूती सेवा उपलब्ध गराइएको छ ।


अस्पतालले स्थानीय पृथ्वीवीर रक्तदान फाण्डेसनको सहजीकरणमा रक्तसञ्चार सेवा पनि प्रदान गर्दै आइरहेको छ । आकस्मिक रुपमा रगत चाहिए नेपाली सेना, प्रहरी र स्वास्थ्यकर्मीले नै रगत दिएर विरामीलाई बचाउने गरेको पृथ्वी रक्तदानका अध्यक्ष रमित मल्लले बताए ।


दैलेखको रती खोलामा दुर्घटनामा परेपछि जिल्ला अस्पताल एम्बुलेन्सविहीन छ । दुई वटा एम्बुलेन्स कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा खरिद गर्ने र एक्सरे मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल प्रसूती ब्यथा लागेका महिला र विरामीलाई नीजी गाडीमा बाहिर लिनुपर्ने बाध्यता छ । केही विरामीलाई जिल्ला प्रहरीको गाडीले पनि अस्पताल पुर्‍याउने गरेको प्रजिअ चन्द्रवहादुर कार्कीले बताए ।


नयाँ भवन निर्माण गर्न पुरानो भवन भत्काएपछि हाल साघुँरो ठाउँबाट सेवा दिनुपरेको डा. नहकुल शाहीले बताए । ‘नया भवन बन्दैछ,’ शाहीले भने, ‘अस्पतालको स्तरोन्नतिसँगै सेवा सुविधा पनि थप हुनेछन् ।’


जिल्ला अस्पतालसहित दर्जन बढी स्वास्थ्य संस्थामा निःशुल्क औषधि नाम मात्रको छ भने तीन दर्जन बढी स्वास्थ्यकर्मीको दरवन्दी खाली छ । कर्मचारी समायोजनको असर कालीकोटका स्वास्थ्य संस्थाहरूमा पनि परेको छ । स्थानीय तहले करारमा राखेका कर्मचारीले मात्र सेवा दिनुपर्ने अवस्था रहेको खाडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । उनका अनुसार गत वर्ष १५ लाखको औषधि नगरले खरिद गरेको थियो ।


एक्सरे नहुँदा सामान्य विरामीलाई समेत उपचारको लागि सुर्खेत, नेपालगन्जलगायत अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटीले बताए । औसत राष्ट्रियभन्दा भन्दा दुई गुणा बढी मातृ मृत्यु दर भएको कालीकोटमा नियमित डाक्टर नबस्ने समस्या छ ।


भौगोलिक विकटताले ६२ प्रतिशत गर्भवतीको प्रसूति गराउन स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु हुने गरेको छ । जिल्ला अस्पतालका अनुसार साउनयता ३ जना सुत्केरीको ज्यान गएको छ । गत वर्ष मात्र कालीकोटमा बच्चा जन्माउन नसकेर आठ जना महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको रेकर्ड छ । स्वास्थ्य संस्थाको सम्पर्कमै नआएर घरमै मर्ने गर्भवती महिलाको रेकर्ड जिल्ला स्वास्थ्यमा छैन ।


एक जिल्ला स्वास्थ्य, एक प्राथमिक उपचार केन्द्र, २८ वटा स्वास्थ्य चौकी रहेको जिल्लामा कतिपय गाउँ तथा नगरपालिकाले वडा स्तरमा पनि स्वास्थ्य सेवा इकाइ स्थापना गरेर सेवा दिन सुरु गरेका छन् । पलाता गाउँपालिकाले ९ वटै वडामा स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले बताए । दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्थानीय तहले करारका स्वास्थ्यकर्मी भर्ना गरेका छन् ।


दुई दशकअघि प्राथमिक उपचार केन्द्र बनेको कुमालगाउँमा डा. सुवास शर्मा केही समय वसे पनि अहिले चिकित्सकविहीन छ । सरकारले जारी गरेको निःशुल्क स्वास्थ्य सेवा निर्देशिका २०६४ मा प्राथमिक उपचार केन्द्रमा एक सय ९३, इलाका स्वास्थ्य चौकीमा ८३ र उपस्वास्थ्य चौकीमा ४९ प्रकारमा अतिआवश्यकीय औषधी हुनुपर्ने उल्लेख भए पनि कालिकोटका अधिकांश ग्रामीण स्वास्थ्य संस्थाहरूमा निर्देशिकामा उल्लेख भएअनुसारको औषधि नभएको राप्रपा नेता लालवहादुर मल्ले बताए ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?