कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरातात्त्विक सम्पदा संकटमा

ज्योति कटुवाल

दैलेख — नौमूलेको पहिचानसँग जोडिएका पुरातात्त्विक महत्त्वका नौमूल सुक्दै गएका छन् । सरकारी निकाय र स्थानीयले संरक्षणमा चासो नदिँदा नौमूलेका पहिचानसँग जोडिएका नौमूल संकटमा परेका हुन् । स्थानीय जानकारका अनुसार ९ वटा मूल भएका कारण गाउँपालिकाको नाम नौमूले रहन गएको हो । 

पुरातात्त्विक सम्पदा संकटमा

वडा नं १ स्थित नौमूले खानेपानी मुहान आसपासको जग्गा स्थानीयले अतिक्रमण गरेर आफ्नो नाममा पास गरेका छन् । गाउँपालिकाले नौमूल पुनःनिर्माणका लागि नापजाँच गर्ने क्रममा ६० वर्गमिटर स्थानीय डल्ली रानाको नाममा देखिएको थियो । ‘नौमूल भएको स्थान दुई सय वर्गमिटरको छ,’ नारायण नगरपालिकाका अमिन लोकेन्द्र कटुवालले भने, ‘५० मिटर जग्गा फिर्ता भए पुनः त्यही ठाउँमा पुनर्निर्माण गर्न सकिन्छ ।’


केही वर्षअघिसम्म स्थानीय मूलबाट निस्केको पानी लिन स्थानीयवासी घण्टौं लाइनमा बस्ने गर्थे । सिजन अनुसार तातो र चिसो पानी आउने भएकाले २४ सैं घण्टा स्थानीयको घुइँचो लाग्ने गरेको थियो । नौमूलमा पानी सुक्दा उक्त स्थान फोहोर फाल्ने ठाउँको रूपमा परिणत भएको छ । ‘नौमूलको नामबाट नौमूले गाउँपालिका राखिएको हो,’ ८३ वर्षीय नन्दाराम प्याकुरेल भन्छन्, ‘नौमूल नरहे पुरातात्त्विक महत्त्वको नौमुलेको अस्थित्व मेटिँदै जान्छ ।’ उनले सानो हुँदा नौमूलमा नुहाउन र पानी लिन जानेको घुइँचो हुने गरेको सम्झिए । उनका अनुसार पानीको मुहान नजिकै मन्दिर भएकाले नौमूलको धार्मिक महत्त्वसमेत थियो ।


स्थानीय जानकारका अनुसार वर्षभरि नौमूल र मन्दिरमा दर्शन गर्न सुर्खेत, जाजरकोटलगायत जिल्लाबाट भक्तजन आउने गरेका थिए । वर्षमा एक पटक नौमूल क्षेत्रमा ठूलो मेला लाग्ने गरेको थियो । ‘नौमूलले नौमुलेका बासिन्दाको पहिचान झल्काएको छ, पुरातात्त्विक सम्पदा मासिनु कसैको हितमा छैन,’ उनले भने, ‘सार्वजनिक सम्पक्ति व्यत्तिले हड्पेपछि अस्तित्व संकटमा पर्ने देखिएको छ ।’ उनले पुराना सम्पदाको उत्खनन गर्न सरकारसँग आग्रह गरे ।


जथाभावी बजारीकरणका कारण नौमूल लोप हुने अवस्थामा पुगेको स्थानीबासी बताउँछन् । स्थानीयले मुहान वरपर शौचालय बनाएका छन् । घरहरू पनि मुहानमै च्यापेर बनाएकाले अतिक्रमण बढ्दै गइरहेको छ । स्थानीय व्यापारी शशी विकले नौमूलको विकल्प स्थानीय सरकारले खोजेको बताए ।


स्थानीय सरकारले नौमूलको नाममा अन्तै जग्गा किनेर पुनर्निर्माण गर्न खोजेको उनको आरोप छ । ‘सार्वजनिक जग्गा कुनै व्यक्तिको नाममा परेको छ भने नक्सा हेरेर साझा सम्पत्ति छुट्याउन सकिन्छ,’ उनले भने, ‘अन्य ठाउँमा नौमूललाई पुनःस्थापना गर्दा पुरातात्त्विक अस्तित्व मेटिने खतरा छ ।’ स्थानीय रमेश गहतराजले नौमूलको पहिचान जोगाउन सोही स्थानमा नौमूल संरक्षण गर्न जरुरी रहेको बताए ।


गाउँपालिका अध्यक्ष भदे बुढामगरले स्थानीयसँगको सहकार्यमा नौमूल पुनर्निर्माण गरिने बताए । सार्वजनिक जग्गा र व्यक्तिगत जग्गा छुट्याएर उत्खननो प्रक्रिया सुरु गर्ने उनको भनाइ छ । ‘९ वटै धारा बनाएर नौमूलको छेवैमा मन्दिर बनाइनेछ,’ उनले भने, ‘जतिसक्दो छिटो नौमूललाई पहिलेकै अवस्थामा पुनर्निर्माण गर्ने स्थानीय सरकारको योजना छ ।’

प्रकाशित : वैशाख १, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?