कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२१ वर्षपछि सडकको स्तरोन्नति

विप्लव महर्जन

सल्यान — जिल्लाको सबैभन्दा पुरानो सडकमा गाडी सञ्चालन भएको २१ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । खैराबाङ (लक्ष्मीपुर(सतीदेवी शक्तिपीठ हुँदै कालीमाटी गाउँपालिकाको गंगामाला भगवती मन्दिरसम्मको पर्यटकीय सडकको स्तरोन्नति सुरु गरिएको हो । २०१८ सालदेखि निर्माण सुरु गरिएको सडकमा २०५४ सालदेखि यातायातका साधन सञ्चालन हुन थालेका थिए । 

पहिलो चरणमा मधनादेखि पैयाखर्कसम्मको सडक स्तरोन्नतिको काम सुरु गरिएको हो । कर्णाली प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँबाट सडक स्तरवृद्धि सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर खड्काले बताए । उनका अनुसार पहिलो चरणमा पैयाखर्कसम्म चार किलोमिटर सडक स्तरोन्नतिको काम हुनेछ । सडकको चौडाइ आठ मिटर बनाउन लागिएको उनले जानकारी दिए ।


सडक साँघुरो भएकाले गाडी आउजाउमा समस्या भएपछि स्तरोन्नति थालिएको हो । ‘यस वर्ष पैयाखर्कसम्म सडक स्तरवृद्धि हुनेछ,’ उनले भने, ‘क्रमशः बजेट थप गर्दै जाने प्रदेश सरकारले आश्वासन दिएको छ ।’ लक्ष्मीपुर शक्तिपिठसम्म झन्डै २० किलोमिटर सडकमा अहिले यातायातका साधन सञ्चालन भइरहेका छन् । जिल्लाका सबै पर्यटकीय स्थल छुँदै कालीमाटी गाउँपालिकाको केन्द्र रामपुरबाट सुर्खेत र नेपालगन्ज जोड्ने गरी सडक निर्माणको काम थालिएको थियो ।


एक लेनको सडक भएकाले सडकमा यातायातका साधन सञ्चालनमा समस्या भइरहेको छ । सडक निर्माण समितिकी कोषाध्यक्ष नम्रता जिएमका अनुसार सडकको स्तरोन्नतिपछि धार्मिक पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने बताइन् । स्थानीय चन्द्रबहादुर खड्काले सडक समस्याका कारण पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न नसकेको बताए । ‘सडकको स्तरोन्नतिपछि स्थानीयलाई विभिन्न स्थानमा जानसमेत सहज हुनेछ,’ उनले भने, ‘सडकको स्तरोन्नतिले कृषिजन्य सामग्रीले सहज बजार पाउने र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने आशा गरिएको छ ।’


शारदा नगरपालिका १० का वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले सडक स्तरोन्नतिको काम गुणस्तरीय बनाउन आवश्यक निगरानी गरिने जनाए । खलंगादेखि लक्ष्मीपुरसम्मको सडक निर्माणको काम २०१८ सालबाट सुरु गरिएको थियो । तत्कालीन वनमन्त्री नेबबहादुर मल्लको पहलमा श्रमदानमार्फत सुरु गरिएको सडकमा २०५४ सालदेखि यातायातका साधन सञ्चालनमा आएका थिए । सडकमा गत वर्षदेखि मात्र यात्रुबाहक बस सञ्चालनमा आएका हुन् ।


सडक स्तरोन्नतिको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले वैशाख दोस्रो साताभित्रै सडक स्तरवबृद्धिको काम सम्पन्न गरे थप बजेट विनियोजन गर्न सकिने बताए । विकासको पहिलो पूर्वाधार सडक भएकाले प्रदेशले जिल्लाका धेरै सडकमा बजेट विनियोजन गरेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?