कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वयंसेवक शिक्षकलाई अवकाश

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले ८ करार नियुक्त स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ । गत चैत २८ देखि ३० गतेसम्म बसेको नगर कार्यपालिका बैठकले दुई शिक्षक र ६ शिक्षिकाको म्याद नथपेर बिदा दिने निर्णय गरेको हो ।

०७५ सालमा गरिएको विद्यालय अनुगमन प्रतिवेदन, नगर शिक्षा नियमावली ०७४ को नियम १६ को उपनियम (१) अनुसार उनीहरू कार्यरत विद्यालय अर्कै विद्यालयमा गाभिएपछि उनीहरूको सेवा अवधि नथपिएको नगरपालिकाले जनाएको छ ।


चित्रिपाटन आधारभूतका जंगबहादुर शाही र नीमकुमारी मल्ल, भगवती आधारभूतकी कमला चन्द तथा हिमाली आधारभूतकी रोजिका कुसारीको सेवा अवधि नथप्ने निर्णय भएको छ । यसैगरी शितल आधारभूतकी जानकी ओली शाह, जनभावना आधारभूतका नवराज ओली, पिपलचौतारा आधारभूतकी लक्ष्मी शाह र विपना खडकाको सेवा अवधि पनि नगर कार्यपालिकाले नथप्ने निर्णय गरेको हो ।


विद्यालय अन्यत्रै गाभिएको कारण उनीहरूको सेवा अवधि थप नभएको शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक थलवीर ओलीले बताए । ०७५ मा गरिएको विद्यालय अनुगमन प्रतिवेदन र अन्य कानुनको आधारमा विद्यालय मर्ज गरिएको संयोजक ओलीले बताए । उनका अनुसार मापदण्ड नपुगेपछि विद्यालय मर्ज गरिएको हो । नगरपालिकाले गत वर्ष उनीहरू सबैलाई परीक्षा गराएर करारमा नियुक्त गरेको थियो । विद्यालयको प्रगति राम्रो हुन नसकेको, अर्को विद्यालयको दूरी ३० मिनेटभन्दा कम रहेको कारण गाभिएको र शिक्षकलाई अवकाश दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

सोही कार्यपालिकाको बैठकले आठ विद्यालय गाभ्ने, एउटाको कक्षा घटाउने तथा एउटा संस्थागत विद्यालयको अनुमति खारेज गरेको छ । ब्राहमणगाउँस्थित चित्रिपाटन आधारभूत र गौरीचौरको हिमाली आधारभूतलाई पायक पर्ने विद्यालयमा गाभ्ने निर्णय भएको छ । नगरपालिकाका अनुसार जनभावना आधारभूतलाई नेपाल राष्ट्रिय मावि गत्तसैनामा, शितल आधारभूतलाई मावि गोइरी र जनचेतना आधारभूतलाई जनता मावि झिन्चौरमा गाभ्ने निर्णय भएको छ ।


त्यस्तै भगवती आधारभूतलाई कालिका मावि सुन्दरपानी, पिपलचौतारा आधारभूतलाई आधारभूत विद्यालय घाँटीगौंरा र बालहित आधारभूतलाई जनविकास मावि टाकुरामा गाभ्ने निर्णय भएको नगर कार्यपालिकाले जनाएको छ । बैठकले ४ नम्वर वडास्थित गोतामकोटस्थित सिर्जना बोर्डिङ स्कुलको सञ्चालन अनुमति खारेज पनि गरेको छ ।


योसँगै नगरपालिकामा विद्यालय संख्या घटेको छ । नगरमा ६३ विद्यालयमध्ये अब ५४ मात्र भएका छन् । नगरपालिकाको नीतिअनुसार काम गर्न नसक्नेलाई गाभ्ने नीति अनुसार मापदण्ड नपुगेका विद्यालय गाभिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?