साहार बन्यो बाख्रा

कान्तिपुर संवाददाता

सल्यान — कालीमाटी गाउँपालिका–२, बराढुंगाका केशर पुन ६६ पुगे । एकमात्र छोरा कमाउनका लागि बाहिर गइरहन्छन् । बुहारी कहिले माइत, कहिले घर हुन्छिन् । घरमा एक्लै बस्दा न्यास्रो लाग्छ । त्यसैले उनले बाख्रा पालेका छन् ।

सल्यानको कालीमाटी गाउँपालिका–२, बराढुंगाका ६६ वर्षीर्य केशर पुन बाख्रालाई घाँस हाल्दै । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

‘घरमा एक्लै छु, बुढ्यौलीको साथी यिनै बाख्रा त हुन्,’ उनी भन्छन्, ‘अलिअलि आम्दानी पनि हुने, मन पनि बहलिने, त्यसैले बाख्रा पाल्ने गरेको छु ।’

२ वटाबाट सुरु गरेका उनको खोरमा अहिले १७ वटा बाख्रा छन् । जंगलको बीचमा घर भएकाले बाख्रालाई आहाराको कमी छैन । भएको ७ रोपनी जग्गामा खेतीपाती गर्न नसक्दा बाँझै छ । बाख्राको आम्दानीबाट घरखर्च धान्ने गरेको उनले बताए । उनी बाख्रापालनबाट वार्षिक करिब ५० हजार कमाउँछन् । त्यही पैसाले जीवनयापन चलिरहेको उनले बताए ।

‘छोराबुहारीलाई दिउँला भन्नु छैन, आफ्नो खर्च चलेकै छ,’ उनी भन्छन्, ‘बुढेसकालमा त्यत्तिकै बस्नुभन्दा बाख्रा पालेर रमाइलोसँग जीवन चलिरहेको छ ।’ छोरालाई उनले घरमा रोक्न भने सकेका छैनन् । बेरोजगारीको समस्याले कमाउनका लागि बाहिर जाने गरेको उनको भनाइ छ । श्रीमतीको समेत केही वर्षअघि मृत्यु भइसकेकाले बाख्रापालन गरेर दुःख भुलाउने काम गरेको उनले बताए ।

बराढुंगामा पहिले १९ परिवार बस्थे । विकासका पूर्वाधार नभएको र जंगलको बीचमा गाउँ भएकाले अन्य परिवार सुविधा खोज्दै कालीमाटीको रामपुर र दाङतिर झरे । केशरलाई पनि जंगलको बीचमा एक्लै बस्न मन थिएन । तर आर्थिक अभावले गाउँमा बस्नुको विकल्प रहेन ।

उनको घरदेखि १० मिनेट दूरीमा विद्यालय छ । बस्ती पुग्न भने अझ टाढा छ । ‘केही भइहाल्यो भने औषधिमुलो गर्ने मान्छे पनि पाउन मुस्किल छ,’ उनले भने, ‘गाउँमा एक्लै बस्छु, बाख्राले दिन काट्न त सजिलो बनाएका छन् । अप्ठेरो पर्‍यो भने कसले हेर्छ, चिन्ता भनेको यत्ति नै हो ।’ बाख्रा बिरामी परेका बेला ३ घण्टा दूरीको रामपुरमा गएर औषधि किन्ने गरेको उनले बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटकीय क्षेत्रको प्रचारमा जलयात्रा

गण्डकी प्रदेश र प्रदेश ५ को सीमा भएर बहने कालीगण्डकीमा राम्दीदेखि देवघाटसम्म नियमित जलयात्रा गर्न सकिने विज्ञ टोलीको सुझाव
माधव अर्याल

पाल्पा — रामपुर नगरपालिकाले आयोजना गरेको दुईदिने जलयात्रा महोत्सव सकिएको छ । पाल्पा र स्याङजाको सिमाना उक्तरबाहिनी क्षेत्र (असेर्दी) बाट शुत्रबार सुरु भएको कालीगण्डकी नदीमा जलयात्रा महोत्सव शनिबार पुट्टार घाटसम्म पुगेर सकिएको हो । पाल्पाको रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका र तनहुँको घिरिङ गाउँपालिकाले समेत महोत्सवलाई साथ दिएका थिए । 

पाल्पा र स्याङ्जाको सिमाना उत्तरबाहिनी (असेर्दी) बाट सुरु जलयात्रा (र्‍याफ्टिङ) का सहभागी । तस्बिर : माधव/कान्तिपुर

महोत्सवमा सहभागी गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जलचर, वातावरण, प्राकृतिक स्रोतका माध्यमबाट मात्र नभएर धार्मिक, सांस्कृतिक रूपमा समेत जलयात्रा महत्त्वपूर्ण रहेको बताए । उनी उत्तरबाहिनीबाट पुट्टारघाटसम्मै जलयात्रामा सहभागी थिए । उनले यस क्षेत्रको पर्यटकीय विकासमा गण्डकी प्रदेशले सघाउनेसमेत बताए । ‘कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटनका हिसाबले महत्त्वपूर्ण छ,’ उनले भने, ‘नेपालमै धार्मिक रूपमा महत्त्व बोकेको शालिग्राम शिला प्राप्त गर्न सकिने भएकाले यसको महत्त्व अझ बढी छ ।’ उनले कालीगण्डकीमा पारिवारिक रूपमा जलयात्रा गर्न सकिने र महोत्सवले गण्डकी र प्रदेश ५ लाई जोडेको बताए ।

कालीगण्डकी नदीको सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीदेखि तल्लो क्षेत्र पाल्पा, स्याङजा, तनहुँ, नवलपुर क्षेत्रमा नियमित जलयात्रा सञ्चालन गर्न सकिन्छ । यसको प्रचारका लागि महोत्सव गरिएको आयोजक रामपुर नगरपालिकाले जनाएको छ । धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारमा जलयात्राले सहयोग पुग्ने प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले बताए । ‘अहिले देखिएको पर्यटकीय सम्भावना कार्यान्वयनमा ल्याउँदा यस क्षेत्रका बासिन्दालाई फाइदा पुग्छ,’ उनले भने ।

कालीगण्डकी क्षेत्रको धार्मिक महत्त्वलाई प्रचार गर्न सहयोग पुग्ने अर्का प्रदेश सांसद युवराज खनालले बताए । उनले विभिन्न उपत्यका हुँदै बगेको कालीगण्डकी नदीमा धार्मिक पर्यटकलाई पनि भरपुर आनन्द दिन सकिने बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धार्मिक, ऐतिहासिकतथा पर्यटकीय महत्त्वको कालीगण्डकी नदीसँग पर्यटनलाई जोड्दै पर्यटक भित्र्याउन महोत्सव आयोजना गरिएको बताए ।

उनले कालीगण्डकीलाई प्राकृतिक रूपमै सदुपयोग गरी मनोरञ्जनसँगै पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार अघि बढेको सुनाए । ‘आगामी दिनमा नियमित रूपमा कालीगण्डकीमा जलयात्रा सञ्चालन गर्ने गरी योजना अगाडि बढेको छ,’ उनले भने, ‘नियमित जलयात्रा गराउने गरी आन्तरिक तथा बाहय पर्यटकलाई मनोरञ्जन दिलाउने योजना छ ।’ कालीगण्डकी उपत्यका विकास समिति अध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव शान्ताबहादुर श्रेष्ठले सनातन धर्मसँग जोडिएको धार्मिक पुण्य प्राप्त गर्न नदी र नदी किनारमा रहेका शक्तिपीठ हेर्न यस क्षेत्रको महत्त्व रहेको बताए ।

उनले कालीगण्डकी नदीमा जलयात्रा गर्दै यसबाट आनन्दसँगै पुण्य प्राप्त गर्न सकिने बताए । कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैशीले सहज जलयात्रा गर्न कालीगण्डकीको राम्दीदेखि देवघाट उपयुक्त रहेको बताए । उनले नदी किनारका विभिन्न स्थानमा क्याम्प फायरदेखि विभिन्न जातजातिको संस्कृति हेर्दैर् मनोरञ्जन लिन सकिने बताए ।

‘स्थानीय तहले चाहने हो भने सफलता पाउन कुनै दुःख छैन,’ उनले भने, ‘यसका लागि रामपुर नगरपालिकाले अगुवाइ गर्न र अन्यले सघाउन जरुरी छ ।’ गण्डकी प्रदेश र प्रदेश ५ को सिमाना भएर बहने कालीगण्डकीमा राम्दीदेखि देवघाटसम्म नियमित जलयात्रा गर्न सकिने विज्ञ टोलीले सुझाव दिएको छ । एक महिनाअघि मात्र कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर विज्ञ टोलीले तीन खण्डमा परीक्षण गरेको थियो ।

शुक्रबार यस क्षेत्रका झन्डै १ सय ४० जनाले कालीगण्डकीमा जलयात्रा गर्दै रामपुर नगरपालिकाको भुजात सिद्धबाबा धामसम्म पुगेका थिए । शनिबार बिहानै पुनः सुरु गरी तनहुँ, नवलपरासी र पाल्पाको सिमाना पुट्टारघाटसम्म पुगेका थिए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद खनालले महोत्सवले कालीगण्डकी क्षेत्रको विकासका लागि अर्को आयाम थपेको बताए । यसअघिको परीक्षणमा पनि सहभागी भएको बताउँदै उनले भने, ‘यति आनन्दको जलयात्रा गर्न अन्यत्र सकिंदैन जस्तो लागेको छ ।’

तनहुँको घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाले नदीको छेउछाउका सांस्कृतिक कार्यक्रमसहित बस्तीमा रमाइलो लिन सकिने बताए । ‘यसका लागि स्थानीय समुदायलाई पर्यटनको विकासका लागि एकाकार बनाउने छौं,’ उनले भने, ‘स्थानीयको इच्छा र चाहना हुने हो भने पक्कै हामी सफल हुन्छौं ।’

धार्मिक, ऐतिहासिक तथा शालिग्राम पाइने कालीगण्डकी नदीसँग पर्यटनलाई जोडने प्रयास राम्रो भएको अगुवा समाजसेवी देवराज ढकाल बताउँछन् । ‘पर्यटक भित्र्याउन राखिएको यो महोत्सवले सफलता पाएको अनुभव भएको छ,’ उनले भने । सरकारको आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई मद्दत पुग्ने उनले बताए ।

रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले कालीगण्डकी उपत्यकाको विकासमा यसले सहयोग पुग्ने बताए । ‘स्वच्छ कालीनदीको पानीजस्तै मनलाई पनि स्वच्छ बनाउन सकिन्छ,’ उनले भने, ‘अब नियमित जलयात्राका लागि सबै स्थानीय तहले पहल गर्नुपर्छ ।’ पर्यटन बोर्डबाट स्वीकृत पाएलगत्तै नियमित सञ्चालनमा जाने न्यौपाने बताउँछन् । ‘बहुउपयोगी कालीगण्डकीको जलयात्राले यस भेगमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ,’ उनले भने, ‘यसबाट यस क्षेत्रकै विकास हुने हो र आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।’

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले यस प्रकारको साहसिक यात्राले सबैलाई रोमान्चित बनाउने बताए । राम्दीदेखिको जलयाक्राका त्रममा विभिन्न स्थानमा बास बस्ने, रमाइलो सांस्कृतिक कार्यक्रम गर्ने अवसरसमेत जुटाउन पहल गर्ने उनले बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्