कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय मानकलाई उछिन्दै कर्णाली

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा पर्यटक वृद्धिदरले राष्ट्रिय मानकको तथ्यांकलाई उछिनेको छ । राष्ट्रिय मानकमा पर्यटक वृद्धिदर २४ दशमलव ८ प्रतिशत रहेकोमा कर्णालीको पर्यटक वृद्धिदर ३४ दशमलव २ रहेको छ । 

पर्यटक आगमन सर्वेक्षण तथा अध्यागमन विभाग काठमाडौंको तथ्यांकमा राष्ट्रिय मानकभन्दा १० प्रतिशतले कर्णालीमा पर्यटक वृद्धिदर बढी रहेको देखिएको हो ।


आइतबार पत्रकार सम्मेलन गरी उक्त तथ्यांक प्रस्तुत गर्दै उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले लिएको लक्ष्यबमोजिम उत्साहप्रद चित्रण तथ्यांकमा देखिएको बताए । ‘गत आवको तुलनामा चालु वर्ष १० प्रतिशतले बढ्नु गौरवको कुरा हो,’ मन्त्री बुढाले भने, ‘यही दर कायम रहे चालु वर्षको अन्त्यसम्म १५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।’


तथ्यांकअनुसार कर्णाली रारा पर्यटन वर्ष घोषणा भएको दिनयता वाह्यभन्दा आन्तरिक पर्यटक बढी भित्रिएका छन् । कर्णालीमा एक वर्षभित्र ४ लाख ७६ हजार १ सय ५५ आन्तरिक तथा वाह्य पर्यटक भित्रिएको मन्त्री बुढाले जानकारी दिए । जसमध्ये ४ लाख ५४ हजार ८ सय ६४ आन्तरिक पर्यटक रहेका छन् भने २१ हजार २ सय ९१ बाह्य रहेको उनले जनाए ।


गत वर्षको तुलनामा कर्णालीमा भित्रिने आन्तरिक र बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ । गत वर्ष १५ हजार बाह्य पर्यटक भित्रिएकोमा यस वर्ष २१ हजार आएको मन्त्री बुढाको भनाइ छ । ‘गत वर्ष सुर्खेत, मुगु, हुम्ला र डोल्पामा मात्रै बाह्य पर्यटक भित्रिने गर्थे,’ उनले भने, ‘यस वर्ष कर्णालीका सबै जिल्लामा पर्यटक पुगेका छन् ।’


तथ्यांकअनुसार बाह्य पर्यटक सबैभन्दा बढी हुम्लामा पुगेका छन् । सबैभन्दा कम जाजरकोटमा सात जना मात्रै पुगे । आन्तरिक पर्यटक सबैभन्दा बढी सुर्खेतमा १ लाख ६२ हजार भित्रिए भने रुकुम पश्चिममा सबैभन्दा कम ६ हजार ६ सय रहेको मन्त्रीले जानकारी दिए ।


मन्त्रालयले कर्णालीमा भित्रिएका पर्यटकबाट भएको आम्दानीका विषयमा भने तथ्यांक संकलन गर्न नसकेको जनायो । मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले रारा र से(फोक्सुन्डोबाट संकलित राजस्व केन्द्र सरकारलाई नै जाने बताए । अन्य क्षेत्रबाट संकलन हुने रकम स्थानीय सरकारलाई जाने भन्दै उनले प्रदेश सरकारले कतैबाट राजस्व लिन नसकेको जनाए ।


आगामी वर्षहरूमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउन सरकारले गुरुयोजना बनाएर काम अघि बढाउने मन्त्री बुढाले बताए । पर्यटकीय होटलहरूको संख्यामा पनि वृद्धि गर्नुपर्ने भन्दै उनले पर्यटक लक्षित होमस्टे पनि पर्याप्त रूपमा सञ्चालनमा ल्याइने उनले जनाए । पर्यटकीय सूचना प्रवाहका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना पनि उनले सुनाएका थिए ।


केही महिनाभित्रै पर्यटन मन्त्रालयले कर्णालीका १ सय १ पर्यटकीय गन्तव्यहरू पहिचान गरी प्रोफाइल तयार पार्ने भएको छ । यसका लागि अहिले स्थानीय तहहरूबाट पर्यटकीय गन्तव्यको नामहरू संकलन गर्ने काम भइरहेको मन्त्री बुढाले बताए । उनले कामको गतिलाई बढाउन चाहे पनि कर्मचारी अभावले समस्या भएको बताए । समायोजनका कारण भएका कर्मचारी पनि सरुवा भएर गएपछि मन्त्रालय खाली हुने अवस्थामा पुगेको गुनासो गरे ।


– चाँदनी कठायत

प्रकाशित : वैशाख ९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?