कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्स बिग्रिएपछि बिरामी मर्कामा

कालीकोट — जिल्लामा रहेका तीनवटै एम्बुलेन्स बिग्रिएपछि बिरामी मर्कामा परेका छन् । एम्बुलेन्स नहुँदा गाउँबाट स्थानीयवासी समयमै उपचार पाउनबाट वञ्चित छन् । जिल्ला अस्पताल तथा रेफर गरिएका बिरामीलाई सुर्खेत र नेपालगन्ज लैजानै समस्या भएको छ । 

चार वर्षअघि भारतीय दूतावासले सहयोग गरेको जिल्ला अस्पतालको एक एम्बुलेन्स दैलेखको रती खोलानजिकै दुर्घटनामा परी क्षति भएको र अर्को बिग्रिएर थन्किएकाले समस्या भएको हो । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएर थन्किएको छ । यही कारण बिरामीलाई मर्का परेको जिल्ला अस्पताल प्रमुख डा. भीष्म पोखरेलले बताए ।


उनले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालका लागि दुईवटा एम्बुलेन्स खरिद गरेर ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको धेरै भइसक्यो,’ उनले भने, ‘खरिद प्रक्रियामा छौं, छिट्टै ल्याएर सेवा दिन्छौं ।’


जिल्लामा सञ्चालित एम्बुलेन्स बिग्रिएपछि कालीकोटवासीलाई सास्ती भएको रेडक्रस सभापति बलप्रसाद सन्ज्यालले बताए । ‘हाम्रो एम्बुलेन्स एक वर्षदेखि नेपालगन्जमै थन्किएको छ,’ उनले भने, ‘मर्मत गर्ने रकम नभएपछि समस्या पर्‍यो ।’ उनले एम्बुलेन्स नेपालगन्ज क्षेत्रीय गोदाममा थन्किएको जनाए ।


यही कारण प्रसूति व्यथाले च्यापेका महिला र दीर्घरोगीले बढी सास्ती भोग्नुपरेको उनले बताए । सदरमुकाम मान्मलगायत कर्णाली राजमार्गको कालीकोट(जुम्ला खण्डसँग जोडिएका स्थानीय तहमा एम्बुलेन्स सेवा सुचारु नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान स्ट्रेचर, डोकोको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?