कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै पार्किङ

एलपी देवकोटा

जुम्ला — सदरमुकाम खलंगामा पार्किङस्थल नहुँदा जिल्लामा सञ्चालित मालवाहक तथा यात्रुबाहक गाडी सडकमै पार्किङ गर्ने गरिएका छन् । पार्किङ समस्याका कारण गाडी सडकमै राख्न थालिएपछि बटुवालाई समेत आउजाउमा समस्या भएको छ ।

सडकमै पार्किङ

सदरमुकामभित्र खुला स्थान नहुँदा पनि पार्किङको समस्या भएको हो । खलंगा बजार पुरानो र सानो भएकाले पनि बजारभित्र सवारी पार्किङ गर्न समस्या छ । मोटरसाइकल, जिप, भ्यान, बस, ट्रक तथा अटोरिक्सा पार्किङका लागि व्यवस्थित बसपार्क नहुँदा जुम्लाका सडक अव्यवस्थित र जोखिमपूर्ण बन्दै गएका छन् ।

कर्णालीका सडकमा जथाभावी पार्किङ गर्ने गरेकोले ठूला सवारी आवागमनमा कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । जथाभावी पाकिङका कारण दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पार्किङ समस्याका कारण बेलाबेलामा सडक जाम हुने गरेको छ ।

खलंगा बजार र आसपासका क्षेत्रको पार्किङ समस्यालाई हल गर्न आवश्यक व्यवस्थापनको काममा जुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक (असइ) माधव रावतले त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको जनाए ।

‘सडकमा अव्यवस्थित पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्यो,’ उनले भने, ‘वडा कार्यालय, व्यवसायी र प्रहरीको त्रिपक्षीय छलफलका आधारमा अटोरिक्सा पार्किङ क्षेत्रको टुंगो लागेको छ । अब अन्य सवारीको लागि पनि पार्किङको विषयमा छलफल हुदैछ ।’

तत्कालका लागि चन्दननाथ नगरपालिका(९ उमगाडमा अस्थायी अटोरिक्सा पार्किङ हुने उनले जानकारी दिए । पार्किङ समस्या बढै गएपछि स्थायी र व्यवस्थित पार्किङस्थल बनाउनका लागिसमेत पहल सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तत्कालका लागि भए पनि भित्री बाटोमा राखेर अटो रिक्सा छुट्नुपर्ने भएको ट्राफिक प्रहरीले जनाएको छ । आपसी छलफलका आधारमा साना तथा ठूला सवारी पार्किङस्थल व्यवस्थापनका लागि पनि नगरपालिकासँग छलफल गरिरहेको असई रावतले बताए ।

यसैबीच अटोरिक्साका कारण विभिन्न ट्राफिक समस्या देखिन थालेपछि व्यवस्थित रुपमा सञ्चालन गर्न अटोरिक्सा व्यवस्थापन समितिको गठनसमेत गरिएको छ । चालक हेमराज सार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिले पार्किङमा राखिएको नम्बर अनुसार पालैपालो अटो सञ्चालनमा ल्याउनेछ ।

प्रकाशित : वैशाख १३, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?