१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मासिँदै खेतीयोग्य जमिन

खेतीयोग्य जमिनमा धमाधम घर बन्न थालेपछि स्थानीयलाई बाहिरको खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता
विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाको रामपुरस्थित पुतलीबजारका पलबहादुर केसीको घर आसपास केही वर्षअघिसम्म लहलह धान झुल्थे । दुई वर्षयता घर बनाउने क्रम बढेसँगै खेतहरू घरैघरले भरिएका छन् । त्यस्तै बन्गाडकुपिण्डे नगरपालिकाको ढोरपिपलमा पनि अहिले खेतीयोग्य जमिन पाउन मुस्किल छ । खेतभरि घरैघर बनेपछि स्थानीयले खेती गर्न छोडेका छन् । 

मासिँदै खेतीयोग्य जमिन

यी दुई मात्र होइन, यहाँका अधिकांश धान फल्ने फाँटहरू धमाधम व्यापारिक केन्द्रको रूपमा परिणत हुँदै गइरहेका छन् । बजारीकरणसँगै प्लटिङ बढ्दै गइरहेको छ । खेतीयोग्य जमिनमा धमाधम घर बन्न थालेपछि स्थानीयलाई बाहिरको खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता छ ।


खेतीयोग्य जमिन घडेरीमा बिक्री हुन थालेपछि मूल्यसमेत अकासिँदै गइरहेको स्थानीयको भनाइ छ । ‘बजार बसेपछि अहिले आसपासका क्षेत्रमा समेत धान झुल्न छाडेको छ,’ ढोरपीपलका दलवीर बुढाले भने, ‘खलंगाबाट सडक बालुवासंग्रही हुँदै सल्लीबजारसम्म सडक खुलेपछि लेकका बस्तीबाट बेंसी झर्नेको क्रम बढेसँगै धानखेत मासिँदै गयो ।’


खलंगाको श्रीनगर, देवस्थलको सल्लीबजार, त्रिवेणीको लुहाम, थारमारे, बाबियाचौर, जयतपानी, कजेरीको बरला, रागेचौर, लान्ती त्रिवेणीलगायत स्थानमा खेतीयोग्य जग्गा मासिंदै गइरहेको छ । सरकारले खेतीयोग्य जग्गा प्लटिङ गरेर बिक्री गर्न रोक लगाए पनि बिक्री नघटेकाले खेतीयोग्य जमिन मासिंदै गएको हो ।


प्लटिङले कालीमाटी गाउँपालिकाको रामपुर आसपासमा २५ हेक्टर धान उत्पादन हुने जग्गा मासिएको स्थानीय टोपनारायण भण्डारीले बताए । उनका अनुसार लेकका बस्तीबाट स्थानीयवासी सुविधा खोज्दै बेंसीतिर झर्दा खेतीयोग्य जमिनमा घर बन्ने क्रम बढेको हो । जसका कारण उत्पादन घट्दै गइरहेको उनको भनाइ छ ।


शारदा खोलाको आसपासमा भएको प्लटिङले सबैभन्दा बढी जग्गा मासिएको स्थानीय अगुवाको भनाइ छ । शारदा नगरपालिकाको श्रीनगर आसपासमा ५० हेक्टर बढी खेतीयोग्य जग्गा मासिएको स्थानीय दलबहादुर बुढाथोकीको अनुमान छ । ‘बजार बसाउनु राम्रो हो,’ उनले भने ‘तर त्यसले कति असर गर्छ भन्नेबारेमा पहिलादेखि नै सोचिएन् जसका कारण खेतमा समेत धमाधम घर बन्न थाले ।’ उनका अनुसार सरकारले प्लटिङ रोके फनि खेतीयोग्य जमिन घडेरीको नाममा खरिद–बिक्री गर्ने त्रम झन् बढिरहेको छ । भएको खेतीयोग्य जग्गा मासेर धमाधम घर बनाउन थालेपछि व्यापारिक केन्द्र आसपास प्रदूषण बढ्दै गएको उनी बताउँछन् ।


जथाभावी बस्ती विस्तार हुँदा जिल्लाभरि करिब एक हजार हेक्टर खेतीयोग्य जग्गा मासिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्र प्रमुख चोपनारायण खनालले अधिकांश स्थानीयवासी सुविधा खोज्दै बेंसी झर्दा गाउँगाउँमा प्लटिङको क्रम बढेको बताए ।


उनका अनुसार अहिले बिक्री हुने अधिकांश घडेरी खेतीयोग्य जग्गा हुन् । ‘जथाझावी बिक्री र घर निर्माण गर्ने त्रम नरोकिए भविष्यमा ठूलो दुर्घटना हुने देखिन्छ,’ उनले भने, ‘अनाधिकृत बस्ती विस्तारले बचेका अन्य खेतीयोग्य जग्गामा पनि असर परिरहेको छ ।’ उनका अनुसार उत्पादनमा बर्सेनि गिरावट आइरहेको छ ।


केन्द्रका अनुसार जिल्लामा एक हेक्टरमा झन्डै ३ टन धान र २ टन गहुँ उत्पादन हुन्छ । खेतीयोग्य जग्गा मासिंदै गएकाले मासिएको जग्गाअनुसार प्रत्येक वर्ष ३ हजार टन धान र २ हजार टन गहुँ उत्पादन हुन छाडेको केन्द्रले जनाएको छ । स्थानीय सरकारले राजस्व संकलनमा मात्र ध्यान दिएकाले खेतीयोग्य जग्गा मासिदै गएको स्थानीयको आरोप छ ।


केन्द्रका अनुसार जिल्लाभर ४५ हजार हेक्टर खेतीयोग्य जग्गा छ । जसमा धान उत्पादन हुने तथा सिञ्चित जग्गा सात हजार तीन सय ३४ हेक्टर छ । वर्षभरि सिँचाइ हुने चार हजार सात सय ९८ हेक्टर र मौसमी सिँचाइ हुने दुई हजार पाँच हेक्टर खेत रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाभर ३८ हेक्टर पाखो जग्गा छ ।

प्रकाशित : वैशाख १६, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?