कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षौंदेखि टहरामै गुजारा

विप्लव महर्जन

सल्यान — सरकारी बेवास्ताका कारण बन्गाडकुपिण्डे नगरपालिका–२, झ्।्यामटाकुराका पाँच वादी परिवारले वर्षौंदेखि टहरामै गुजारा गरिरहेका छन् । अधिकांश सरकारी सुविधाबाट वञ्चित उनीहरू १५ वर्षदेखि टहरामै बस्न बाध्य भएका हुन् । 

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले जिल्लाका एक सय बढी दलित समुदायका घर निर्माण गरेको छ । टहरोमा बस्दै आएका उनीहरू वर्षेनि फाराम भर्छन् तर सरकारी मापदण्ड नपुग्दा आवास कार्यक्रमबाट बञ्चित भइरहेका छन् । बस्ने घर र खेती गर्ने जग्गा नहुँदा उनीहरू भेरी नदीमा माछा मारेर गुजारा गर्न बाध्य छन् । माछा मार्ने सिजन नहुँदा नजिकैका बजारमा मजदुरी गर्दै आएका छन् । टहरोमा बस्दा हिउँदमा चिसोले र वर्षायाममा झरिले सताउने गरेको उनीहरूको गुनासो छ ।


वनको ऐलानी जग्गामा टहरो बनाइ बस्दै आएका ५९ वर्षीय कसेरा बादीले सल्लीबजारका बादी परिवारलाई सरकारले सहयोग गरे पनि आफूहरूलाई बेवास्ता गरेको बताए । सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बसेको भन्दै स्थानीयले बारम्बार धम्काउने र अन्यत्र जान दबाव दिनेगरेको उनले गुनासो गरे ।


घर बनाएर बस्ने जग्गा नभएपछि वनको जग्गामा बस्नुपर्ने बाध्यता भएको उनले सुनाए । उनको टहरोमा उनीसहित पत्नी र छोराबुहारी बस्दै आएका छन् । एक छोरा विवाह गरी छुट्टिएर अन्यत्रै बस्दै आएका छन् । ‘घर छैन, आफ्नो नाममा जग्गा छैन,’ उनले भने, ‘रोजीरोटी केही छैन, माछा मारेर र मजदुरी गरेर जहान पाल्नु परेको छ ।’


मजदुरी गरि कमाएको रकमले बिहानबेलुकाका छाक टार्न धौधौ परेको स्थानीय चैते बादीले बताए । सरकारले ल्याएको आवास कार्यक्रमअन्तर्गत घर र जग्गा पाउने आशा वर्षौदेखि भए पनि सपनामा सीमित भएको उनको गुनासो छ । ‘हाम्रो अवस्थाप्रति कसैले ध्यान दिएनन्,’ उनले भने, ‘जंगलमा पाइने थागलको छाना लगाएर टहरोमा बस्दै आइरहेका छौं, वर्षाको समयमा चुहिएर हैरान हुन्छ ।’ उनले जाडो मौसममा चिसोले समस्या हुने गरेपछि जाग्राम भइ आगो ताप्दै बस्नुपर्ने बाध्यता सुनाए । उनीहरू बसिरहेको टहराको तल्लो भागसमेत ह्वाङै छ ।


चारैतिरबाट खुला रहेकाले धेरै सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ । ओड्ने ओछ्याउने गतिलो कपडा नहुँदा बालबालिका विरामी भइरहने समस्या छ । टहरोमा बस्दै आएका सूर्य बादीले दुई छाक टार्नभन्दा रात गुजार्न बढी समस्या भएको जनाए ।

प्रकाशित : वैशाख २८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?