कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीकै दूषित पानीको भर

नदीकिनारका अधिकांश घरधुरी विपन्न भएकाले उनीहरु धमिलो र फोहोर पानी उपयोग गर्न बाध्य  
ज्योति कटुवाल

दैलेख — आठबीस नगरपालिका–४ की तुल्साकुमारी शाहीलाई बिहान उठ्नेबित्तिकै कर्णाली नदीमा पानी लिन जानुपर्ने बाध्यता छ । नदी किनारमा ६ बजेभन्दा ढिला पुगे सङ्लो पानी खान पाइदैन् । यस्तो वाध्यतामा पर्नेमा उनी एक्लो भने होइनन् । अधिकांश स्थानीयलाई सबेरै नदी किनारामा जानुपर्छ । 

कर्णालीकै दूषित पानीको भर

नदीकै पानी भए पनि केही आर्थिक रूपमा सम्पन्न परिवारले फिल्टर गरेर उपभोग गर्छन । तर, नदी किनाराका अधिकांश घरधुरी विपन्न भएकाले उनीहरूलाई धमिलो र फोहर पानी उपभोग गर्नुपर्ने बाध्यता छ ।


‘मुहानको पानी खान नपाएको वर्षौ भयो, घर वरपर मुहान छैनन्,’ शाहीले भनिन्, ‘भएका मुहान पनि संरक्षण अभावमा सुकेपछि नदीकै पानी उपभोग गर्नुपर्छ ।’ उनले वर्षायाम सुरु भएपछि आकाशेपानीको भर पर्नुपर्ने बाध्यता रहेको सुनाइन् । राकमका तीन सय घरधुरी नजिकै पानीको अन्य स्रोत नहुँदा नदीको फोहर पानी पिउने गरेको उनको भनाइ छ ।


नगरपालिकाले वर्षेनि खानेपानी योजनाका लागि लाखौ बजेट बिनियोजन गर्दै आए पनि आफूहरू दुषित पानीकै भर परिरहेको स्थानीयको गुनासो छ । नगरपालिकाका ९ वटै वडामा खानेपानीको चरम अभाव छ । वर्षौंदेखि कर्णाली नदीको धमिलो पानी खान बाध्य हुने स्थानीयवासी वर्षायाम लागेपछि त्रसित हुने गरेका छन् । बाह्रै महिना नदीकै पानी पिउने गरे पनि वर्षायाममा कर्णाली धमिलो हुँदा आकाशे पानी भाडामा संकलन गरी उपभोग गर्नुपर्ने समस्या छ । दूषित पानीकै कारण गाउँमा बेलाबेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन् ।


राकममा जेठ, असार र साउनसम्म पानीकै पिरलो हुन्छ । नदीमा धमिलो पानी आउन थालेपछि पानीको समस्या हुने गरेको हो । स्थानीय अर्जुन शाहीका अनुसार उपभोक्ता समितिले मर्मतका नाममा झारा टार्ने काम गर्दा खानेपानी समस्या थप चुलिएको हो ।


उनले आठवीस नगरपालिकाको रामाघाट, सिस्ने, टुनिबगर, जाक्सी र राकमबजारमा पानीको अभाव बढी रहेको जानकारी दिए ।

स्थानीय टेकबहादुर नेपालीले पहुँचका आधारमा खानेपानीमा रकम विनियोजित गरिँदा आफूहरू समस्यामा रहेको बताए । उनले मूल र धाराको पानी खाने आशा सपनामै सीमित रहेको जनाए । उनले ठूला मुहान संरक्षणमा समेत सरकारी निकायले बेवास्ता गरिरहेको जनाए ।


वडा नं ८ का अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले वर्षेनि खानेपानी हाहाकार हुने गरेपछि सोसेक र वडा कार्यालयको सहकार्यमा लिफटङ प्रविधिबाट खानेपानी योजना सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार जताततै खानेपानी अभाव भएकाले सीमित बजेटमा नगरपालिकाले ठूला योजना कार्यान्वयन गर्न सकेको छैन ।


‘आसपासमा भएका सबै पानीका मुहान सुके, स्थानीयले वर्षौंदेखि दुषित पानी उपभोग गरिरहेका छन्,’ उनले भने, ‘नगर र वडामा सीमित बजेट आउँछ त्यो बजेट सबैतिर पुर्‍याउनुपर्ने बाध्यता छ ।’ राकम बजारमा करिव पाँच धारा छन् । पाँच धाराको पानी तीन सय घरधुरीले उपभोग गर्नुपर्ने बाध्यता छ । जसका कारण पानी भर्न स्थानीयबीच हानथाप हुने गरेको छ ।

प्रकाशित : वैशाख २८, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?