कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धारामा फ्लोसेडिङ : ४८ घण्टामा ५५ लिटर

कृष्णप्रसाद गौतम

सुर्खेत — खानेपानीको स्रोतमा बहाव कम भएसँगै सुर्खेत उपत्यकाका धारामा 'फ्लोसेडिङ' सुरु भएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले उपभोक्तालाई ४८ घण्टामा एक पटक पानी दिन थालेको छ ।

खानेपानी आयोजनामार्फत वीरेन्द्रनगरमा करिब १७ हजार खानेपानी धारा जडान गरिएको छ । १ सय ७८ लिटर प्रतिसेकेन्ड खानेपानी माग भइरहेकोमा आयोजनाले अहिले ८४ लिटर प्रतिसेकेन्ड मात्र पुर्‍याइरहेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । 'पानीका मुहान ४५ प्रतिशतले सुकेका छन्,' उनले भने, 'पहिले सय लिटर पानीले भरिने भाँडोमा अहिले ५५ लिटर मात्र थापेर त्यसैले पुर्‍याउनुपर्ने बाध्यतामा उपभोक्ता छन् ।' उनले भेरी लिफ्टिङ आयोजना पूरा नभएसम्म वीरेन्द्रनगरमा पानीको अभाव भइरहने बताए ।


स्थानीय होटल व्यवसायी कमल केसीका अनुसार अहिले नवलपरासी र नेपालगन्जबाट आएको पानीले बजारको माग धानिरहेको छ । लामो समयदेखि वीरेन्द्रनगर बजार र सार्वजनिक स्थानमा जारको पानी उपभोग हुने गरेको छ । 'घरमा झुप्रा आयोजनाको पानी प्रयोग गर्ने स्थानीयले समेत कार्यालय तथा बजारमा जारको पानी पिउने गरेका छन्,' उनले भने, 'तर वीरेन्द्रनगर बजारमा दुई सातायता जारको पानी पाइनै छाडेको छ ।'


आयोजनाका इन्जिनियर बालाराम तिवारीले प्रशोधन प्रणालीबाट ट्यांकीमा राखी निर्मलीकरण गरेर मात्र धारामा पठाइने भएकाले पानी शतप्रतिशत शुद्ध भएको जनाए । आयोजनामा झुप्राखोला, खरीखोला, बोरीखोला, इत्राम, खोर्के र बुलबुले मुहानको पानी ल्याई वितरण व्यवस्था मिलाइएको छ । उनका अनुसार सडक र नाली निर्माणका क्रममा पाइपलाइन फुट्ने र लिकेज हुने क्रम बढ्दै गएपछि खानेपानी व्यवस्थापनमा थप समस्या आएको छ ।


भेरी पम्पिङको रि-डिजाइन गरिँदै

वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने गरी सुरु गर्न लागिएको भेरी पम्पिङ खानेपानी आयोजनाको रि-डिजाइन हुने भएको छ । गत असारमा डीपीआर सकिएको आयोजनाको डिजाइनका क्रममा केही त्रुटि देखिएकाले पुनः डिजाइन गर्न थालिएको हो ।


डीपीआरमाथि केही विज्ञ र वैज्ञानिक सन्तुष्ट नदेखिएकाले पुनः डिजाइन गर्न थालिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार डीपीआरका क्रममा ३ करोड लागत स्टिमेट अनुमान गरिएको थियो । 'यसअघि तीन इनारबाट प्रतिसेकेन्ड चार सय लिटर पानी तान्नेगरी डीपीआर गरिएको थियो,' आयोजना प्रमुख पूर्णबहादुर जोहार्चनले भने, 'नेपालमा अहिलेसम्म इनारबाट ३० लिटर मात्र पानी एक सेकेन्डमा तान्न सकिएको छ, त्यसैले विज्ञको सल्लाहअनुसार पुनः आयोजनाको डिजाइन गर्न लागिएको हो ।' उनले पुनः डिजाइनको काम सकिएपछि मात्र टेन्डर प्रक्रिया सुरु हुने जानकारी दिए ।


पानी उद्योगको सिल खुल्यो

पानी प्रशोधनको क्रममा सामान्य सरसफाइमा समेत ध्यान नदिएको पाइएपछि वीरेन्द्रनगरमा सञ्चालित चार पानी उद्योग बन्द गरिएकामा मंगलबार दुई उद्योगको सिल खोलिएको छ । खाद्य निरीक्षक भेषराज थापाका अनुसार मापदण्ड पूरा गरेको प्रमाण पेस गरेपछि मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालि र जयश्री प्योर डि्रकिङ वाटर उद्योगको सिलबन्दी खोलिएको हो । देउती दर्शन वाटर एन्ड वेभरेज प्रालि र रारा डि्रंकिङ सप्लायर्स प्रालिले भने मापदण्ड पूरा गरेको जानकारी नदिएको थापाले बताए ।


दुई साताअघि मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालिद्वारा प्रशोधित पानीको जारमा झिँगा भेटिएपछि कार्यालयले मध्यपश्चिमसहित सबै उद्योगमा अनुगमन गरेको थियो । निरीक्षक थापाले झिँगा भेटिएको कम्पनीमाथि कारबाहीको प्रक्रिया सुरु भएको जानकारी दिए । 'मापदण्ड पूरा गरेपछि सिलबन्दी खोलिएको छ,' उनले भने, 'झिँगा भेटिएकोबारे भने हामीले आवश्यक कारबाही प्रक्रिया सुरु गरिसकेका छौं ।'

प्रकाशित : वैशाख २९, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?