कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहुलियतमा एम्बुलेन्स

जनप्रतिनिधि आएपछि सडक सञ्जालसँग जोडिएका गाउँगाउँमा एम्बुलेन्स पुगेको छ । गाउँपालिका आफैंले खरिद गरी सेवा प्रदान गर्दै

रुकुम पश्चिम र दैलेख — मुसिकोट नगरपालिकाले अहिले कायम गरिएको एम्बलेन्सको भाडाभन्दा झन्डै १६ प्रतिशत कम भाडा दरमा एम्बुलेन्स चलाउन लागेको छ । विपन्न नागरिकलाई लक्षित गरी सहुलियत दरमा एम्बुलेन्स सुविधा दिन थालिएको हो । 

सहुलियतमा एम्बुलेन्स

नगरपालिकाले ९ लाख ५३ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरिसकेको छ । एम्बुलेन्स सञ्चालन कार्यविधिअनुसार नगरपालिकाले एम्बुलेन्सको भाडादर कायम गरेको हो । अब एम्बुलेन्स चढेर नेपालगन्ज जान बिरामीले १४ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि सदरमुकाम मुसीकोटदेखि नेपालगन्ज जानेले १७ हजार एम्बुलेन्स भाडा तिर्ने गरेका थिए । हरेक गन्तव्यमा साविकको रेटदरभन्दा तीन हजार कम भाडामा बिरामी बोक्ने गरी नगर कार्यपालिकाले कार्यविधि बनाएको छ ।


नगरपालिकाभित्र हुने कुनै पनि आकस्मिक घटनाका घाइतेलाई अस्पतालसम्म निःशुल्क बोक्ने गरी कार्यविधि बनाइएको छ । 'सडक दुर्घटना होला, रूख वा भीरबाट मान्छे खस्न सक्छन्, त्यस्ता घटना तथा दुर्घटनामा परी घाइते भएकालाई निःशुल्क अस्पतालसम्म पुर्‍याउने गरी एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएका छौं,' नगर प्रमुख देविलाल गौतमले भने, 'आकस्मिक घटना वा दुर्घटनामा परेकालाई तत्कालै उपचार गर्न सकियोस् भन्नेगरी नै कार्यविधि बनेको छ ।' जतिसक्दो धेरै बिरामी र घाइतेलाई सेवा दिने उद्देश्यले चलिआएको भन्दा थोरै भए पनि सस्तो मूल्यमा एम्बुलेन्स सञ्चालन गरिएको प्रमुख गौतमको भनाइ छ ।


यसअघि नै एम्बुलेन्स सञ्चालन गर्ने भनिए पनि खरिद प्रक्रिया लामो भएकाले ढिलोगरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जिल्ला अस्पताललाई केन्दि्रत गरी एम्बुलेन्स चलाइरहेको छ । मुसिकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालन गरेपछि विशेषगरी जिल्ला सदरमुकाममा लामो समयपछि सरकारी एम्बुलेन्स सञ्चालन भएको छ ।


कामविशेषले अन्यत्रबाट सरकारी एम्बुलेन्स आउने गरे गरेको भए पनि जिल्ला अस्पताल र जिल्ला सदरमुकाम खलंगा सरकारी एम्बुलेन्सविहीन थियो । जिल्ला अस्पतालको एम्बुलेन्स बिगि्रएपछि केही समय जिल्ला एम्बुलेन्सविहीनजस्तै भएको थियो । पछिल्लो समय जिल्ला सदरमुकाममा सञ्चालन हुने निजी एम्बुलेन्स बढेका छन् । मुसिकोट नगरपालिकाले समेत एम्बुलेन्स थपेपछि सदरमुकाम खलंगा तथा जिल्ला अस्पताल केन्दि्रत चल्ने एम्बुलेन्स थपिएका छन् ।


जिल्ला अस्पतालले पनि एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको छ । जिल्लाका अन्य २ स्थानीय तहले भने यसअघि नै एम्बुलेन्स खरिद गरेर सञ्चालन गरिरहेका छन् । आठबीसकोट र चौरजहारी नगरपालिकाले केही समयदेखि आ-आफ्नो स्थानीय तहलाई लक्षित गरी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् । सानीभेरी गाउँपालिकाले पनि एम्बुलेन्स खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।


एम्बुलेन्स भाडा तेब्बर सस्तो

दैलेखको गुराँस गाउँपालिकाले दुई एम्बुलेन्स खरिद गरी स्थानीयलाई तीन गुणा कम भाडामा सेवा दिइरहेको छ । गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गरेपछि स्थानीयलाई चर्को भाडा तिरेर निजी गाडी प्रयोग गर्नुपर्ने बाध्यता टरेको हो ।


यसअघि जिल्लामा पर्याप्त एम्बुलेन्स नहुँदा स्थानीयले बिरामीलाई निजी गाडी रिजर्व गरी सुर्खेतका विभिन्न अस्पतालमा लैजाने गरेका थिए । गुराँस गाउँपालिका-१ का नयाँराम विकले स्थानीय सरकारले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि विपन्न बिरामीलाई सुविधा पुगेको बताए ।


उनका अनुसार यसअघि निजी सवारी साधनले रिजर्वमा सुर्खेतसम्मका लागि सात हजार रुपैयाँसम्म भाडा असुल्दै आएका थिए । जिल्ला सदरमुकामका एम्बुलेन्स गुराँसमा नआउने भएकाले यसअघि निजी गाडी रिजर्व गर्नुको विकल्प नरहेको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाको एम्बुलेन्सले सुर्खेतका लागि दुई हजार पाँच सय रुपैयाँ भाडा लिंदै आएको छ ।


गुराँस गाउँपालिका ८ का दलबहादुर वलीले गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेपछि विपन्न परिवारका बिरामीलाई राहत भएको जनाए । 'दुई महिनाअघि पत्नीलाई प्रसूति गराउन सुर्खेत लैजाँदा मैले पनि सस्तो दरमा एम्बुलेन्स प्रयोग गर्न पाएको थिए,' उनले भने, 'गाउँपालिकामा कोही आकस्मिक बिरामी भए सहजै उपचार पाउने अवस्था सिर्जना भएको छ ।'


वडा नं. १ का अध्यक्ष नरबहादुर रामजालीले जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको जनाए । 'गाउँपालिकामा स्वास्थ्य चौकीले मात्र सेवा प्रवाह गरिरहेका छन्, कोही बिरामी भए प्रदेश अस्पताललगायत सुर्खेतका विभिन्न अस्पतालमा लैजानुपर्ने अवस्था छ,' उनले भने, 'बिरामीले समयमै उपचार सेवा पाउन् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएका हौं ।' उनले एम्बुलेन्स सञ्चालनमा ल्याइएपछि गम्भीर प्रकृतिका बिरामीले समयमै गुणस्तरीय उपचार सेवा पाएको जनाए ।


दुई एम्बुलेन्सलाई वडा विभाजन गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । वडा नंं १, २, ३ र ४ वडाका लागि पातिकाल्नामा र ५, ६, ७ र ८ का लागि धरमपोखरा स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने गरिएको छ । अहिले एक वडाबाट मासिक २० जनासम्म बिरामीले एम्बुलेन्स सेवा पाइरहेको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका अध्यक्ष खेमराज ओलीले आठवटै वडाका बासिन्दाको सुविधाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जनाए । 'सडकको पहुँच सबै स्थानमा पुगेकाले एम्बुलेन्सको सेवा सहज रूपमा प्रवाह गरिरहेका छौं,' उनले भने, 'निजी गाडीले गुँरासेबाट सुर्खेत र नेपालगन्जसम्म बिरामी लिएको १० हजार रुपैयाँसम्म लिने गरेको गुनासो बढेपछि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौं ।'

प्रकाशित : वैशाख २९, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?