कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक गुणस्तर सुधार्दै स्थानीय तह 

भीमबहादुर सिंह

जाजरकोट — नयाँ शैक्षिक सत्रको सुरुवातसँगै भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले दलित तथा विपन्न परिवारका चार बालबालिकालाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरे । नगरप्रमुख घर्तीले लक्ष्मी मावि भेरेंमा मुसी विक र गंगा विकलाई २ कक्षा, अमर विक र कल्पना विकलाई ६ कक्षामा भर्ना गरेका हुन् ।

शैक्षिक गुणस्तर सुधार्दै स्थानीय तह 

गरिबीका कारण विद्यालय शिक्षाका पहुँचबाट बाहिर रहेका बालबालिकालाई पढाइको अवसर दिन अभिभावकत्व ग्रहण गरेको नगरप्रमुख घर्तीले बताए ।

उनीहरूलाई माध्यमिक तहसम्म पढाउने जिम्मा लिएको उनको भनाइ छ । जाजरकोटमा सञ्चालित शैक्षिक सुधारको यो एक उदाहरणमात्र हो, जिल्लाका स्थानीय तहले शैक्षिक सुधारका लागि विद्यार्थी भर्ना, विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान, भौतिक पूर्वाधार निर्माण, शैक्षिक अन्तर्क्रिया, नमुना विाद्यालय छनोट, अंग्रेजी भाषा माध्यमबाट सिकाइलगायत गतिविधि सञ्चालन गर्दै आएका छन् ।

शैक्षिक गुणस्तर सुधारका भेरी नगरपालिकाले विद्यालय भवन निर्माण, १३ विद्यालयमा अंग्रेजी भाषा तथा शिक्षण सिकाइ प्रणाली सञ्चालन, नियमित अनुगमन तथा निरीक्षण, विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान र नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार विद्यालयलाई स्कुले झोला वितरणको कार्यक्रम अगाडि बढाएको छ ।

कुशे गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षक र १७ वटा बाल विकास केन्द्रका लागि १ करोड १८ लाख शिक्षक अनुदान वितरण गरेको छ । कुशेले माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न उक्त अनुदान रकम वितरण गरेको हो ।

शिक्षक अभावमा खस्केको शैक्षिक गुणस्तर उकास्न जनशक्ति अनुदान वितरणको निर्णयविरुद्ध उल्टै उच्च अदालत सुर्खेतमा मुद्दा खेप्नुपरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । नलगाड नगरपालिकाले शैक्षिक सुधारका लागि १४ नमुना विद्यालय बनाएको छ ।

त्यस्तै छेडागाड नगरपालिकाले पनि गुणस्तरीय शिक्षाका लागि विद्यालय वर्गीकरण, मर्ज, पूर्वाधार निर्माण, दरबन्दी अनुसार दक्ष शिक्षकको व्यवस्था, नमुना विद्यालय निर्माण, प्रत्येक विद्यालयमा खेलमैदानको व्यवस्था, पुस्तकालय, आईटी व्यवस्थापन, सुविधा सम्पन्न बाल विकास केन्द्र, नियमित पठनपाठनलाई जोड दिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?