कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरानो हुँदै बक्खु, हराउँदै तान

घरेलु तानमा बुनिएका ऊनका कपडा न्याना हुने भएकाले हिमाली क्षेत्रका मानिसहरू ती कपडाको प्रयोग गर्थे । भेडाच्याङ्ग्रा पाल्नेहरूको कमी र नयाँ पुस्तामा सीप हस्तान्तरणको कमीका कारण व्यवसाय संकटमा पर्दै आएको छ ।

सिमकोट — ऊनबाट बनेका बाक्ला बक्खु, राडी, पाखी, कम्बल र पसबिना अब हुम्लीका लागि बिरानो भइसके । ऊनबाट वस्त्र बुन्ने तान पनि गाउँबाट लोप हुन थालेका छन् ।

बिरानो हुँदै बक्खु, हराउँदै तान

बाहिरबाट आयात हुने कपडा गाउँ–गाउँसम्म पुग्नु र भेडा–च्याङ्ग्रा व्यवसाय कम हुनुले यस्तो अवस्था आएको स्थानीय बताउँछन् । ‘पहिले त हामी तानबाट बुनेका कपडा लगाउँथ्यौं, अब गाउँमा तान पाइनै छाडे,’ सिमकोट गाउँपालिका ३ लिमाटाङका सोनाम डोमा लामाले भनिन्, ‘हेर्दाहेर्दै राडीपाखी पनि हराउन थाले, बाहिरबाट आउने कपडामा मोहनी लागेको छ ।’


जिल्लाको उत्तरी क्षेत्रमा तान व्यवसाय स्थानीयका लागि पुर्ख्यौली पेसाजस्तै थियो । उनीहरू ऊनबाट बनेका वस्त्र आफूले लगाउनुका साथै बाहिर लगेर पनि बेच्थे । तर भेडाच्याङ्ग्रा पालनमा कमी हुँदै जान थालेपछि यो व्यवसाय पनि संकटमा परेको लामाले बताइन् ।


सोही गाउँकी रिक्जिन लामा तान बुन्ने सीप युवा पुस्तामा हस्तान्तरण नहुँदा समस्या देखिएको बताउँछिन् । उनका अनुसार ऊन उत्पादन गर्ने भेडाच्याङ्ग्रा पालनका कमी हुनु र ऊनका कपडा बुन्ने सीप नहुनु नै परम्परागत वस्त्र उत्पादनमा कमी आउनुको प्रमुख कारण हो । ‘पछिल्लो पुस्ताले तान बुनेर कपडा बनाउन झन्झट मान्न थाले, बरु सहरबजारबाट आएका कपडा किन्न सजिलो मान्न थाले,’ उनले भनिन्, ‘भनेजस्तो कपडा बजारमा किन्न पाएपछि किन झन्झट गर्ने भन्ने भयो ।’


अहिले पनि तानबाट बनेका काम्ला, बख्खु, कोट, पटुका लामा समुदायको विवाह, व्रतबन्ध, पूजापाठजस्ता काममा बढी प्रयोगमा आउने गर्छन् । एउटा काम्लोलाई २० देखि २२ हजार रुपैयाँसम्म पर्छ । तानबाट बनेका वस्त्र तुलनात्मक रूपमा महँगासमेत हुन्छन् । सिमकोट गाउँपालिका–४ का वडाध्यक्ष छविचन्द्र लामा तान व्यवसायलाई जोगाउन गाउँपालिकाले पहल गर्ने बताउँछन् ।


‘कसैले व्यक्तिगत वा सामूहिक रूपमा तान व्यवसायमा काम गर्छौं भनेर आउँछ भने हामी सक्दो सहयोग गर्छौं,’ उनले भने, ‘हामी परम्परागत रूपमा हुम्लाको पहिचानका रूपमा रहेको यो व्यवसायलाई संरक्षण गर्न चाहन्छौं ।’ उनले तान व्यवसाय हराउँदै गएकोमा चिन्ता पनि लाग्न थालेको बताए ।


हुम्लाका हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरू पहिले तानमा कपडा बुन्ने गर्थे । तानमा बुनिएका कपडा न्याना हुन्छन् । स्थानीयका अनुसार ७ मिटर लामो पाखी बुन्न करिब तीन साता लाग्छ । स्थानीय तान व्यवसायी च्यामा लामाले आफूले यस वर्ष एउटामात्र पाखी बुनेको बताइन् ।


ऊन प्रशस्त पाइने र उत्पादन गरेका सामान खरिद हुने अवस्था भएको खण्डमा धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘यो व्यवसायलाई संरक्षण गर्नका लागि स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘बरु यसलाई आधुनिकीकरण कसरी गर्ने भन्नेबारे सोच्नुपर्छ ।’


छपाल लामा

प्रकाशित : वैशाख ३१, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?