कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० वर्षपछि फेरियो सडकको रेखांकन

राङ्सी खण्डमा दर्जन उकाला घुम्तीका कारण पाँचकाटिया–ब्याउलीढुंगा–जुम्ला सडक निर्माणको काम दशकदेखि अलपत्र 
भीमबहादुर सिंह

जाजरकोट — पाँचकाटिया हुँदै जुम्ला जोड्ने सडकमा राङ्सी खण्डको रेखांकन परिवर्तन हुने भएको छ । निर्माण सुरु भएको १० वर्षपछि रेखांकन परिवर्तन गरी सडक निर्माण गर्ने सहमति भएको हो । 

१० वर्षपछि फेरियो सडकको रेखांकन

राङ्सी खण्डमा दर्जन उकाला घुम्तीका कारण पाँचकाटिया–ब्याउलिढुंगा–जुम्ला सडक निर्माणको काम एक दशकदेखि अलपत्र परेको थियो । कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले भेरी नगरपालिका–२, राङ्सीमा पुगेर सरोकारवाला र स्थानीय बासिन्दासँग छलफल गरेपछि रेखांकन परिवर्तनको टुंगो लागेको हो ।


सडक निर्माण सुरु भएको दशकसम्म यातायातका साधन नचल्दा सम्बन्धित निकायको चौतर्फी आलोचना हुने गरेको थियो । खलंगादेखि पाँचकाटियासम्मको २० किलोमिटरको ट्र्याक खोल्दा ३२ करोड खर्च भए पनि राङ्सी खण्डका कारण यातायात सुचारु हुन सकेको थिएन ।


सम्भावित रणनीतिक राजमार्गको रूपमा रहेको उक्त सडक लामो समयसम्म अलपत्र परेपछि सांसद सिंह दुई साताअघि विवाद सल्टाउन सरोकारवालासहित राङ्सी पुगेका हुन् । सांसद सिंहको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसभासद भक्तबहादुर शाहलगायत टोलीले राङ्सीका स्थानीय बासिन्दासँग छलफल गरेको रेखांकनको विवाद टुंगाएको हो ।


राङ्सी खण्डको रेखांकन विवाद समाधान भएपछि अबको एक वर्षमा पाँचकाटियासम्म बस यातायात सञ्चालनमा आउने सांसद सिंहले बताए । बजेटको व्यवस्थापन गरेर अलपत्र सडकको छिटो स्तरोन्नति गर्ने उनको भनाइ छ । उनका अनुसार कर्णाली प्रदेश सरकारले पनि यो सडकलाई प्राथमिकतामा राखेको छ । विभिन्न स्वार्थका कारण जथाभावी ट्र्याक खोल्दा उक्त खण्डमा यातायात नचल्ने अवस्था सिर्जना भएको थियो ।


गारराङ्सीदेखि ज्योति शाहको जग्गा छेउ र पूर्वसभासद शाहको घर हुँदै जाने उकालोको तीन किलोमिटर दूरीमा १२ घुम्ती हुँदा यातायात साधान सञ्चालन हुन नसकी सडक अलपत्र परेको हो । हाल उक्त खण्डको गारराङ्सीदेखि रावतैखोरिया, बलबहादुर शाह, ज्योति शाहको जग्गा र पूर्वसभासद शाहको घर हुँदै जाने गरी रेखाकंन परिवर्तन गर्ने सर्वसम्मत निर्णय भएको छ ।


तत्कालीन समयमा प्राविधिकलाई दबाबमा पारेर डिजाइनभन्दा बाहिर गएर रेखांकन भएको डिभिजन प्रमुख भट्टले बताए । ‘पहिलेको रेखांकन सडक निर्माण नम्सभित्र थिएन, अब बाटो खुल्यो,’ उनले भने, ‘यस पटकको सहमतिअनुसार हुने रेखांकन नै उत्तम छ ।’


प्रदेश सरकारले जाजरकोट पाँचकाटिया–ब्युलिढुंगा–जुम्ला सडकलाई लुम्विनी–जाजरकोट–पाँचकाटिया, जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्त्वको सडकका रूपमा लिएको छ । बिवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माण कार्य अलपत्र पर्दै आएको थियो । विवाद समाधानपछि सडकको ग्राबेल, फराकिलो बनाउने, ग्याबिङ तथा मेसिनरी वाल निर्माणलगायत काम सुरु भएको डिभिजन प्रमुख भट्टले बताए ।


७० किलोमिटर जाजरकोट–पाँचकाटिया–पैंक ब्याउलिढुंगा–जुम्ला सडक र एक सय ४० किलोमिटर लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक निर्माणका लागि पर्याप्त बजेट पनि विनियोजन नहुँदा निर्माणले गति नलिएको वडाध्यक्ष कालीबहादुर ओलीले बताए । सडकमा यातायात नचल्दा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवजावतमा सास्ती भएको उनको भनाइ छ ।


पर्यटन र जडीबुटी तथा कृषि उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीय टीकाराम खड्काले बताए । सडकले खलंगादेखि पाँचकाटिया, पैंक, ब्याउलिढुंगा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्नेछ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?