कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

मृतकको सम्झनामा चिटिम

धर्मप्रति गहिरो आस्था भएकाले सबै गाउँमा स्थानीयको पहिलो माग गुम्बा
राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गाउँपालिकामा बसोबास गर्दै आएका तामाङ समुदायले मृतकको सम्झनामा गुम्बा बनाउने चलन कायमै छ । घरमा कुनै सदस्यको मृत्यु भए सम्झनामा ५ फिट अग्लो ढुंगाको गुम्बा बनाएर मृतकको आत्माको चीर शान्तिको कामना गर्ने गरिएको छ । 
स्थानीय भाषामा मृतकको सम्झनामा निर्माण गरिएका गुम्बालाई चिटिम भनिन्छ ।

मृतकको सम्झनामा चिटिम

केही दशक अघिसम्म आफ्नो जग्गामा मृतकको दाहसंस्कार गर्ने र त्यही गुम्बा बनाउने चलन थियो । केही वर्षयता घरभन्दा टाढा दाहसंस्कार गरे पनि घरभन्दा १५ मिनेट आसपासमा गुम्बा निर्माण गर्ने गरिएको छ ।


स्थानीयले एकै प्रकारको गुम्बा एउटै बिधिबाट निर्माण गर्ने गरेका छन् । मुगमकार्मारोङ २ का आङग्याल लामाका अनुसार गुम्बा निर्माण गर्ने स्थान निश्चित गरेपछि सिपालु कालीगढबाट ढुंगा काट्ने गरिएको छ । ‘३ फिट जमिन तलबाट गुम्बा बनाउन सुरु गरिन्छ । भित्र प्वाल राख्ने र त्यसमा पूर्वतिर फर्केको धुपीको हाँगो राख्ने गरिएको छ,’ उनले भने, ‘रातो माटो पिसेर विभिन्न धातु मिसाइ गारो लगाउने गरिएको छ ।’


मृतकको अस्तुसमेत राखेर ५ तलाको गुम्बा निर्माण गर्ने गरिएको उनले जानकारी दिए । गुम्बाको तल्लो भाग ठूलो र माथिल्लो भाग सानो हुने उनले बताए । गुम्बालाई रातो र सेतो माटोले लिपेर आकर्षक बनाइने गरेको उनी बताउँछन् ।


स्थानीयका अनुसार तामाङ समुदायमा छोर्देन र काङने गरी २ गुम्बा बनाउने चलन छ । काङने गुम्बाको बीचमा ढोका राखेर ८ फिट अग्लो बनाइन्छ । यस्तो गुम्बा निर्माण गर्ने करिब डेढ लाख रुपैयाँ खर्च हुने गरेको मह गाउँका शशांक तामाङले बताए ।


उनका अनुसार छोर्देन गुम्बा भने कम खर्चिलो हुन्छ । छोर्दैन बनाउन करिब ५० हजार रुपैयाँ खर्च हुने उनले जानकारी दिए । उनका अनुसार मह गाउँमा मात्र करिव डेढ सय बढी चिटिम छन् । चिटिम बनाइसकेपछि गाउँभरका लामालाई बोलाएर दिनभर पूजापाठ गर्ने चलन रहेको उनले बताए । ‘परिवारका कुनै सदस्य बाहिर जाँदा चिटिमको दायाँ र फर्केर आउँदा बाँया घुमेर घर पस्ने चलन छ,’ उनले भने, ‘फागुन पूर्णिमामा चिटिमको विशेष पुजापाठ गर्ने गरेका छौं ।’


मह गाउँका गारा तामाङले सोनामग्याल्बो ल्होसारमा मृतकको चीर शान्तिको कामना गर्दै छोर्देन गुम्बामा गएर पुजापाठ गरी खादा चढाउने चलन रहेको बताए । उनका अनुसार स्थानीयले गुम्बालाई शान्तिको प्रतिक मान्ने गरेका छन् । गाउँमा कसैको मृत्यु भए चुम्बा (धार्मिक अगुवा) बोलाएर दाहसंस्कार गर्ने गरिएको उनले जानकारी दिए ।


मुगमकार्मारोङ गाउँपालिकाको माग्री, रिउस, मह, डोल्फू, किम्री, सेरोकलगायत गाउँमा गुम्बा बनाउने चलन रहेको उनी बताउँछन् । तामाङ समुदायमा कसैको पनि इतिहास मेट्नु हुँदैन भन्ने मान्यता रहेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।


‘धर्मप्रति गहिरो आस्था भएकाले सबै गाउँमा स्थानीयको पहिलो माग गुम्बा हुने गरेको छ,’ उनले भने, ‘त्यसपछि मात्र स्थानीयले बाटो, सिँचाइ, विद्यालय भवनलगायत पूर्वाधार विकासको माग गर्ने गरेका छन् ।’ गाउँपालिकाभरि करिब १२ सयदेखि १५ सय गुम्बा रहेको उनको अनुमान छ ।


उनले गाउँपालिकाले स्थानीयको संस्कृति संरक्षणका लागि नियमित बजेट विनियोजन गर्दै आइरहेको जनाए । गाउँपालिकाका एक बस्तीबाट अर्को बस्तीमा पुग्न करिव डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ । ‘बाहिरबाट पहिलोपल्ट आएका अपरिचितले समेत चिटिम देख्नेबित्तिकै गाउँ आएको महसुस गर्न सक्छन्,’ उनले भने, ‘गुम्बाको प्रबर्द्धन गरी पर्यटक भित्र्याउने हाम्रो योजना छ ।’

प्रकाशित : जेष्ठ ८, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?