भारतबाट तारजाली बुन्न सल्यान

दिनभर दुःख गरी काम गरे पनि बिचौलियाकै कारण मजदुरहरू ठगिएको गुनासो
विप्लव महर्जन

सल्यान — नेपालको सीमा क्षेत्रनजिकै कोसी ब्यारेजबाट आएका ४० वर्षीय एकरम मलाखले शारदा नगरपालिका १, शान्तिनगर नजिकै तारजाली बुन्न थालेको वर्षौं बित्यो । उनी सडक र खोलामा बाँध निर्माणका लागि तारजाली बुन्ने गर्छन् ।

नेपाल–भारत सीमाको भारतस्थित कोसी ब्यारेजबाट आएका मजदुर सल्यानको शारदा नगरपालिका १, शान्तिनगरमा तारजाली बुन्दै । तस्बिर : विप्लव/कान्तिपुर 

२२ वर्षदेखि तार जाली बुन्ने काममा लागेका उनी ३ महिनाका लागि सल्यान आउँछन् । उनीसँगै तारजाली बुन्ने काममा आजमान हुसेन पनि दैनिक व्यस्त रहन्छन् ।

उनीहरू मात्र होइन्, भारतका विभिन्न ठाउँबाट दुई दर्जन बढी व्यक्ति बर्सेनि तारजाली बुन्न जिल्लाका विभिन्न ठाउँमा आउने गरेका छन् । ३ जनाको समूह बनाई उनीहरूले दैनिक २ जाली बुन्ने गरेका छन् । आफूहरूको पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिँदै आएको उनीहरूले जनाए ।

तारजाली बुन्दा धेरै दुःख हुने गरेको उनीहरूकै समूहका अमरन अबदुलले बताए । उनका अनुसार विभिन्न पहाडी जिल्लामा गई तारजाली बुनेको रकमले उनीहरूको परिवारको खर्च चलिरहेको छ । उनले सिजनमा ३५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको जानकारी दिए ।

मलाखले एकै ठाउँमा बसेर वर्षभरि काम गर्न पाए घरपरिवारको खर्च कटाएर वर्षमा १ लाखजति बचत गर्न सकिने जनाए । उनका अनुसार तारजाली बुन्ने काम पहिलेभन्दा धेरै कम भएको छ । ठेकेदारले तारजाली बुन्न विभिन्न जिल्लामा लैजाने गरेको उनी बताउँछन् ।

‘धेरै रकम कमाउन नसके पनि परिवार खर्च धान्न सकेका छौं,’ उनले भने, ‘अन्य काम गर्न नजान्ने भएकाले यसैमा सन्तुष्ट छौं ।’ ठेकेदारले सम्पर्क गरी भारतबाट काम गर्न सल्यान ल्याएको उनले जानकारी दिए । उनले पनि तारजाली बुन्न थालेको २० वर्ष बढी भएको छ ।

अभिभावकले राम्रो शिक्षा दिन नसके पनि सीप सिकाएकाले बेरोजगार बस्नु नपरेको अमरन अबदुलको भनाइ छ । उनका अनुसार तारजाली बुन्ने कामबाट खासै फाइदा नभए पनि पुख्यौली पेसा जोगाउन सजिलो भइरहेको छ । उनले वर्षभरि विभिन्न जिल्ला र ठाउँमा जानुपर्ने भएकाले धेरै रकम बचत गर्न समस्या भएको जानकारी दिए । दिनभर धेरै दुःख गरी काम गरे पनि बिचौलियाकै कारण आफूहरू ठगिएको उनको गुनासो छ ।

आलम तारजाली उद्योगका प्रोपराइटर तारिक अनवरले पहिलाजस्तो काम आउन छाडेकाले उद्योग र मजदुर संकटमा परेको बताए । ठेकेदारले माग गरेपछि मात्रै तारजाली बुन्न विभिन्न ठाउँमा मजदुरलाई पठाउने गरेको उनले जानकारी दिए । उनका अनुसार अहिले अधिकांश विकासे कार्यालयले काम नदिँदा र बाहिरको तारजाली प्रयोग गर्दा समस्या भएको हो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फिस्टुलापीडित ३ सय महिलाको उपचार

कान्तिपुर संवाददाता

सुर्खेत — सुर्खेत फिस्टुला सेन्टरले प्रशब फिस्टुला भएका ३ सय महिलाको उपचार गरेको छ । यसअघि विभिन्न घुम्ती शिविरमार्फत उपचार गर्दै आइरहेको सेन्टरले १ वर्षदेखि प्रदेश अस्पतालस्थित आफ्नै भवनबाट उपचार गरिरहेको छ ।

आइएनएफ र अस्पतालको सहकार्यमा सेन्टरले सेवा दिएको हो । सेन्टरमा विदेशी विशेषज्ञ डा. शेलीसहित स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । डा. शेलीका अनुसार प्रशव अवस्थामा लामो व्यथा लागेपछि पिसाब चुहिरहने समस्या हुनु फिस्टुला हो ।

‘गर्भवतीको स्वास्थ्यमा ध्यान दिए र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिए यो समस्या समाधान गर्न सकिन्छ,’ उनले भनिन्, ‘सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा कम स्याहार गर्नु, गर्भवतीले पोषिलो खाना नखानु, असुरक्षित प्रसूति हुनुलगायत कारण यो समस्या ग्रामीण क्षेत्रमाबढ्दो छ ।’ उनले आईएनफले विभिन्न घुम्ती शिविरमार्फत बिरामीको खोजी गरी फिस्टुलाको उपचार गर्दै आइरहेको बताइन् ।

प्रशव फिस्टुला दिवसका अवसरमा बिहीबार फिस्टुला उपचार केन्द्रमा आयोजना गरिएको कार्यक्रमका सहभागीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । साइनिङ अस्पतालका व्यवस्थापक मंगल थारूले फिस्टुलापीडित महिला समाजमा अपहेलित हुनुपरेको बताए ।

प्रदेश अस्पतालकी नर्सिङ प्रमुख दीपा भट्टराईले गाउँमा गुणस्तरीय प्रसूति सेवा उपलव्ध नहुँदा फिस्टुलाको समस्या बढिरहेको बताइन् । प्रदेश अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डिनेन्ट डा. गणेश थापाले सरकारले निःशुल्क प्रदान गरेको गर्भवती जाँच सेवा लिए यो समस्या नहुने बताए । प्रदेश अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्याम कँडेलले यो समस्या महिलाको मानव अधिकारसँग पनि जोडिएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT